झापा । २९ औं जनआन्दोलन दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग झापाले आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्न झापा आइपुग्नुभएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले झापा विद्रोह र जनयुद्धका धोकेबाजहरुले अहिले कथित वाम गठबन्धनको नाममा जनतालाई धोका दिइरहेको विचार व्यक्त गर्नुभएको छ ।
महासचिव किरणले ०२८ सालको झापा विद्रोह, चैत्र ०४६ साल २४ को जनआन्दोलन, दशवर्ष लामो जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश तथा जनजाति आन्दोलनहरु क्रान्तिका लागि उर्जा, उत्प्रेरणा, महत्वपूर्ण शिक्षाका स्रोत भएको भन्दै ती सबै ऐतिहासिक आन्दोलन, विद्रोह तथा युद्धको नयाँ पुस्ताले गहिरो अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । इतिहासका विभिन्न कालखण्डमा गरिएका वर्गसंघर्ष र बलिदानका इतिहासलाई विर्सन नहुने भन्दै महासचिव किरणले झापा विद्रोह र जनयुद्धका धोकेबाज र गद्दारहरुलाई समय आएपछि क्रान्तिकारी जनताले उचित सबक सिकाउने दावी गर्नुभयो ।
अब नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक कार्यभार युवा पुस्ताको काँधमा आएको भन्दै महासचिव किरणले त्यसका लागि क्रान्तिकारी युवाहरुले विचार, राजनीति, संगठन र संघर्षलगायत सबै हिसाबले आफूलाई निपूर्ण पार्नुपर्ने विचार व्यक्त गर्नुभयो । अनेकौं भ्रम छरेर वाम गठबन्धन र वाम एकताको नाममा झापा विद्रोह र जनयुद्धका धोकेबाजहरुले देश र जनता ठगिरहेकोले क्रान्तिकारी युवाहहरुले त्यस्ता भ्रमका पर्दाहरु च्यात्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको वास्तविक समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारीमा घनिभूत रुपमा जुट्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
सच्चा कम्युनिष्ट, क्रान्तिकारीहरुलाई एकजुट पारेर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन आफू र आफ्नो पार्टीले इमान्दारितापूर्वक पहलकदमी लिइरहेको भन्दै महासचिव किरणले पार्टी एकतालाई लक्षित गर्दै चार पार्टीहरु तत्काल कार्यगत एकता गरेर अगाडि बढ्ने वातावरण निर्माण गरिएको पनि कार्यक्रममा जानकारी दिनुभयो ।
क्रान्तिकारी युवाहरुको उक्त सम्मेलनमा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा १ नं. प्रदेश सचिव राम आचार्य, युवाका फ्र्याक्सन इन्चार्ज तथा पार्टी केस मीनकुमार, केसहरु केदार गुरागाई, मनोज श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।