सिरियामा बमवारी रोक्न राष्ट्रसंघको माग

सिरियामा बमवारी रोक्न राष्ट्रसंघको माग

सिरिया । सिरियामा भईरहेको बमवारी रोक्न राष्ट्रसंघले माग गरेको छ । सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको पूर्वी गुटामा गरेको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको अभियानकर्ताहरूले बताएका छन् ।

हवाई तथा रकेट आक्रमणहरूमा २० बालबालिकासहित ७७ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ ।

बमबारी रोक्न आग्रह गर्दै राष्ट्रसंघका एक जना अधिकारीले त्यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उक्त क्षेत्र राजधानी दमास्कस नजिकै विद्रोहीहरूको पकड रहेको बताइएको छ । त्यहाँ पुनः नियन्त्रण कायम गर्न सिरियाली फौजले आक्रमणको तयारी गरिरहेको ठानिएको छ । पछिल्लो बमबारीले वर्षौँयताको सबैभन्दा खराब हमला भनिएको छ ।

सहायताकर्मीहरूका अनुसार हमलाले उक्त क्षेत्रका मुख्य सडकहरूलाई पनि निशाना बनाएको छ जसका कारण सहायता सामग्रीको परिचालन, उद्धार कार्य र एम्बुलेन्सको अवातजावत समेत बन्द हुन सक्ने देखिन्छ । स्वास्थ्य केन्द्रहरूमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ । एउटा प्रसुति केन्द्रसहित चार वटा अस्थायी अस्पताल सोमबारको आक्रमणमा परेका थिए ।