काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा साेमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रलाई एमालेमा विलय गराउने सात बुँदे सहमतिमा हस्ताक्षर गरे । पार्टी एकताको नाम दिइए पनि यो सात बुँदे सहमतिमा हस्ताक्षर गरेर प्रचण्ड, बादल र काजी पार्टीको पथप्रदर्शक सिद्धान्त ‘माओवाद’ छोडेर एमालेको पथप्रदर्शक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ मात्र मान्न तयार भएका छन् । ‘माओवाद’ र ‘२१ औं शताब्दीको जनवाद’लाई तपशिलको विषय बनाएर गरिएको सहमति पार्टी एकता नभएर माओवादी केन्द्रको एमालेमा विलय भएको माओवादी केन्द्रकै अधिकांश नेताहरुको बुझाइ छ । उनीहरुले यसलाई एमालेसँग माकेको आत्मसमर्पणको रुपमा पनि टिप्पणी गर्न थालेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले मेरो अनलाइन टिभीलाई सोमबार अन्तर्वार्ता दिंदै ‘माओवाद र २१ औं शताब्दीको जनवाद’ छाडेर एमालेसँग गरिएको माओवादी केन्द्रको कथित एकता एकता नभएर माओवादी केन्द्रको एमालेमा विलय भएको दावी गरेका छन् ।
माओवादी केन्द्रका विद्रोही नेता गोपाल किरातीले एक वक्तव्य जारी गर्दै भनेका छन्, “महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरी माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनीद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छ ।” उनले माओवादी केन्द्रका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विद्रोहका निम्ति पनि आव्हान गरेका छन् ।
माओवादी केन्द्रका चर्चित पूर्व विध्यार्थी नेता जागृत रायमाझीले यो सात बुँदे हस्ताक्षरप्रति आफ्नो फेसबुक पेजमा टिप्पणी गर्दै भनेका छन्, “यो पार्टी एकता माक्र्सवादी कम्युनिस्टहरुको बीचको पार्टी एकता नभई नेपाली काँग्रेससंग संसदीय प्रतिस्पर्धा गर्न लायक पार्टी बनाउन गरिएको ‘बुर्जुवा पार्टी एकता” नै हो । आजसम्मको नेपाली परिवर्तनको सर्वाधिक शक्तिशाली परिघटना “जनयुद्ध’को शब्द समेत उच्चारण नगरिएको आधार पत्रले इतिहासमाथि अन्याय मात्र गरेन, हजारौं सहिद, बेपत्ता र घाइते योद्धाहरुको अपमान ग¥यो । पथप्रदर्शक सिद्धान्तबाट माओबाद हटाईनु र जनयुद्धको ऐतिहासिकता उल्लेख नगर्नुले यो पार्टी एकताभन्दा बढी माओबादी केन्द्रको एमालेमा बिलयीकरण हो ।”
एक उच्च स्रोतका अनुसार यसरी पार्टीको एमालेकरण भएपछि माकेभित्रका केही नेता कार्यकर्ताहरुले विद्रोहको तयारी गरिरहेका छन् । कम्युनिष्ट क्रान्तिकारीहरुको नयाँ ध्रुवीकरणका विषयमा उनीहरुबीच छलफल चलिरहेको बुझिएको छ ।