७.८ रेक्टरको भूकम्प गए काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्बको क्षति हुने

७.८ रेक्टरको भूकम्प गए काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्बको क्षति हुने

काठमाडौं । तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने एक अध्ययनले देखाएको छ । सरकारी अध्ययनका अनुसार यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुनेछ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो । तीन वर्षको समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ । यसअघि पनि विभिन्न दातृ संस्थाहरूले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।

प्रतिवेदनअनुसार भूकम्पबाट ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार ८० जना विस्थापित हुनेछन् । काठमाडौं उपत्यकामा १ लाख ३६ हजार भवनमा अत्यधिक तथा ६२ हजार भवनमा मध्यमखाले क्षति पुग्ने अध्ययनले देखाएको छ । यस्तै, ७७ हजार ७ सय १३ भवनमा सामान्य क्षति पुग्ने पनि अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनअनुसार यसरी भूकम्प जाँदा भवनतर्फ मात्र ७ खर्ब ६१ अर्ब ५३ करोडको क्षति हुने छ । अध्ययनले सोहीअनुसार नै भूकम्प गएमा विद्युत्का १ लाख ९० हजार पोलहरू नष्ट हुने तथा ३ सय ७३ बीटीएस टावर क्षतिग्रस्त हुनेछन् । यस्तै, ३ हजार ४ सय ९६ वटा हाल जडित खानेपानीका धारा तथा ४ सय ८० स्थानमा प्रस्तावित पाइपलाइनमा क्षति पुग्ने अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार १ सय ५३ वटा स्वास्थ्य संस्थामा अत्यधिक क्षति हुने तथा ८३ संस्थामा मध्यम र १ सय ५ संस्थामा सामान्य क्षति हुने बताइएको छ । यस्तै, १ सय २६ वटा सरकारी संस्थामा अत्यधिक, ६६ वटा संस्थामा मध्यम र ८५ वटा सरकारी संस्थामा सामान्य क्षति हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार १ हजार ६ सय ५४ वटा विद्यालय भवनमा अत्यधिक, ८ सय १० भवनमा मध्यम र १ हजार ५७ विद्यालय भवनमा सामान्य क्षति हुने देखिएको छ । भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि निजी आवासतर्फ १५ वर्षसम्म वार्षिक ८८ अर्ब रुपैयाँका दरले खर्च गर्न सुझाव दिइएको छ ।