प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली कांग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि २०७४ मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा निर्वाचन भएको थियो ।

समानुपातिक तर्फ

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ५३ लाख ३९ हजार ८२३ मतगणना सम्पन्न भएको छ ।

जसअनुसार, नेकपा एमालेले १८ लाख ७२ हजार २९९ मत, नेपाली काग्रेसले १७ लाख ८४ हजार ५४७, नेकपा (माओवादी केन्द्र) ले ७ लाख २८ हजार ७८१, संघीय समाजवादी फोरम, नेपालले २ लाख ३० हजार ७५६, राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ७२ हजार ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २६ हजार ३२, विवेकशील साझा पार्टीले १ लाख १६ हजार २९०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४०१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ६५९ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ४३६ र अन्य दलले १ लाख ७८ हजार २४५ मत प्राप्त गरेका छन् ।