४५ जिल्लामा दोस्रो चरणको निर्वाचन आज, ७५ प्रतिशत मत खस्ने आयोगको अनुमान

४५ जिल्लामा दोस्रो चरणको निर्वाचन आज, ७५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा तर्फ दोस्रो चरणमा ४५ जिल्लामा आज निर्वाचन हुँदैछ । मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्वाचन आयोगले निर्धारण गरेको छ । ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् । आज हुने निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने निर्वाचन आयोगले अनुमान गरेको छ । दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ ।