
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले जनसमुदायको नाममा एक सार्वजनिक अपील जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई विजयी बनाउन हार्दिक अनुरोध गर्नुभएको छ । महासचिव किरणले मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनतणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै आम जनसमुदायसित देजमोका उम्मेदवाहरुको पक्षमा मतदान गर्न हार्दिक अनुरोध गर्नुभएको हो ।
बिहीबार जारी अपीलमा भनिएको छ, “देशमा सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादद्वारा हुँदै आएको उत्पीडनको अन्त्यगरी नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बद्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र संघर्ष र दश वर्षे जनयुद्ध भए । जनताका असंख्य छोराछारीहरुले सहादत प्राप्त गरे, अनेकौं बेपत्ता पारिए, कैयौं योद्धाहरु घाइते अपाङ्ग बनाइए । परन्तु, आन्दोलन र जनयुद्धमा वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी मूल नेतृत्वले धोका दियो र विश्वासघात तथा गद्दारी ग¥यो । फलतः संविधानसभाको निर्वाचनमा पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थालाई बहाल गरियो ।
गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता कतिपय विषय मात्रा, अंश र रुपमा सकारात्मक भए पनि गुण, समग्रता र सारमा वर्तमान संविधान पश्चगामी नै रहेको छ । अहिले हुन गइरहेको निर्वाचनमा सत्ताधारी दलहरुले लोकतान्त्रिक र वामगठबन्धन बनाई लोकतन्त्रको नाममा सत्ता र पैसाको चरम दुरुपयोग गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई झनै विकराल र भयावह बनाउँदै छन्। थ्रेसहोल्डको व्यवस्था गरिनुले अव यो व्यवस्था उनीहरुकै मान्यता अनुसार पनि बहुदलीय र बहुलवादी नभई दुई दलीय बन्न गएको छ । यो संसदीय बहुदलीय व्यवस्थाको पतन र असफलताको पराकाष्ठा हो ।
देश र जनताको हित यो सत्ता र व्यवस्थाले कदापि गर्न सक्तैन । तसर्थ, यस स्थितिमा वर्तमान राज्यसत्ता, संसदीय व्यवस्था र त्यसका पक्षपोषक कथित लोकतान्त्रिक तथा वाम गठबन्धनको विरोध तथा भण्डाफोर गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारी गर्न, जनाधार तयार पार्न, भ्रष्टाचारीहरुलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एउटा माध्यम हुने भएकोले त्यसको उपयोग गर्नु सही रहेको छ । अतः उक्त उद्देश्य प्राप्तिका लागि हाम्रो पार्टी देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई मत प्रदान गरी विजयी बनाउन सम्पूर्ण न्यायप्रेमी तथा परिवर्तनकामी जनसमुदायसित विशेष अपिल गर्दछ ।”