जनयुद्धकालीन मुद्दामा बालकृष्ण ढुंगेल पक्राउ, ‘तुरुन्त रिहा गर’ : महासचिव किरण

जनयुद्धकालीन मुद्दामा बालकृष्ण ढुंगेल पक्राउ, ‘तुरुन्त रिहा गर’ : महासचिव किरण

काठमाडौं । जनयुद्धकालीन मुद्दामा बालकृष्ण ढुंगेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनलाई सातदोबाटोबाट मंगलबार विहान ११ बजे सादा पोशाकमा गएका प्रहरीहरुले पक्राउ गरेको ढुंगेलको परिवारले बताएको छ ।

तत्कालीन युद्धरत माओवादी र सरकारबीच जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउने राजनीतिक सहमति भइसकेको पृष्ठभूमिमा ढुंगेललाई सर्वोच्चले गरेको सर्वस्वसहित जन्मकैदको फैसला र पक्राउलाई नेकपा (क्रान्तिकारी माओवादी)ले शान्तिसम्झौताको ठाडो उलंघन भन्दै तत्काल रिहा गर्नुपर्ने बताएको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले ढुंगेल पक्राउबारे संक्षिप्त प्रतिक्रिया दिंदै मूलबाटोलाई भन्नुभयो, “जनयुद्धकालीन मुद्दाहरु विस्तृत शान्तिसम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउने राजनीतिक सहमति भइसकेको अवस्थामा बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्नु शान्तिसम्झौताको ठाडो उलंघन हो । ढुंगेलललाई तत्काल रिहा गर्नुपर्छ ।”

ढुंगेलको पक्राउबारे उनी सम्बद्ध पार्टी माओवादी केन्द्रको आधिकारिक धारणा आइसकेको छैन ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएपछि पुनः सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । ढुंगेलले भने पार्टीको योजनामा नै जनयुद्धकालमा भएको घटना भएकोले यसको किनारा आयोगबाट लगाउनुपर्ने बताउँदै आएका थिए ।
अदालत लैजाने तयारी
ढुंगेललाई मंगलबार नै  फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लैजान लागिएको प्रहरीको उच्च स्रोतले बताएको छ । अदालतबाट दोषी ठहर भएका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो । सो मुद्दा दायर भएको ६ दिनपछि मंगलबार ढुंगेल पक्राउ परेका हुन् ।

यसैबीच, जनयुद्धकालमा नौ वर्षसम्मको जेल र यातनाका कारण उनको एउटा किड्नी ड्यामेज भएको र अर्कोले पनि राम्रो काम नगरेको पारिवारिक स्रोतले बताएको छ । प्रेसरको औषधी समेत खाइरहेका ढुंगलेको जीवनरक्षाको माग उनको परिवारले गरेको छ ।