काठमाडौं । “चावहिलका नरकान्त राई र डिलबहादुर खत्रीबीचको लेनदेन विवादसम्बन्धी निवेदन पार्टीमा परेपछि पार्टीकै रोहबरमा दुवै पक्षलाई राखेर सहमतिमा कागज बनाइयो । साँक्षीमा म बसेको थिएँ । तर नरकान्त राईले अपहरण तथा शरीर बन्धक मुद्दासम्बन्धी किटानी जाहेरी दिएछन् । त्यसबारे बुझ्न आफै हनुमान ढोका जाँदा प्रहरीले एक्कासी पक्राउ गरेर हिरासतमा राख्यो । पछि मेरो साथी सुवर्ण विष्ट मेरो पक्राउबारे बुझ्न आउँदा उनलाई पनि विना कारण पक्राउ गरेर थुनामा राखियो । झुठा आरोपमा म र मेरो साथी (जसलाई किटानी जाहेरी केही थिएन) लाई अपराधीलाई जसरी जेलमा राखियो । ०७४ कात्तिक ६ गते उच्च अदालत पाटनले आरोप प्रमाणित नभएको भन्दै थुनामुक्तको आदेश दिएपछि नख्खुबाट मलाई र भद्रगोल जेलबाट सुवर्ण विष्टलाई जेलमुक्त गरियो ।” प्रविण उर्फ टेकबहादुर बोगटीले जेलमुक्त भएपछि मूलबाटोसँग संक्षिप्त कुरा गर्दै भने, “हामीलाई षड्यन्त्रपूर्वक जेल हालियो । त्यसमा तत्कालीन पार्टीका नेताहरुको पनि हात छ ।” पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत रहेका बोगटी र विष्टले एक स्वरमा भने, “वर्गसंघर्षकै बीचबाट ती नेतासँग त्यसको हिसाब किताब गरिन्छ ।” उनीहरुलाई ०७० माघ १४ गते हनुमान ढोकाबाटै गिरफ्तार गरी अपहरण तथा शरीर बन्धक सम्बन्धी झुठा मुद्दा लगाएर जेल हालिएको थियो ।

२०७३ जेठ २५ को काठमाडौं जिल्ला अदालतले प्रतिवादीहरुले आरोपित कसुर गरेको ठह¥याएको भनी फैसला गरेको थियो । त्यसपछि पीडितहरुले उच्च अदालत ललितपुरमा पुरावेदन गरेपछि उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसलालाई गलत ठह¥याउँदै सबै तथ्य प्रमाणहरुको आधारमा आरोपितहरु बेकसुर रहेको र उनीहरुमाथि झुठा आरोप लगाएर जेल हालिएको प्रमाणित गरेको छ । जेलमुक्त भएका पीडित विष्ट प्रहरी हिरासतको अनुभूति सुनाउँदै भन्छन्, “पक्राउ परेकाहरुको मुद्दाहरुको अनुसन्धान प्रहरीका अधिकृतहरुले हेर्दैनन्, हवल्दारहरुलाई दिइन्छ । उनीहरु आफैले आफ्नो स्वार्थनुकूल प्रश्न र उत्तर तयार पार्छन् र पीडितहरुलाई चरम यातना दिएर हस्ताक्षर र ल्याप्चे लगाउन लगाउँछन् । जेलभित्रका करिब ८० प्रतिशत व्यक्तिहरुलाई आफूलाई कुन मुद्दा लगाइएको छ भन्ने नै थाहा हुँदैन ।” अदालत आफैले पीडित विष्टको भनाइलाई प्रमाणित गरेको छ । विष्ट भन्छन्, “यो देशका ठूल्ठूला अपराधीहरु कोही पनि जेलभित्र छैनन्, सामान्य मान्छेहरु, जो आफ्नो जीविकोपार्जनका निम्ति वाध्यात्मक रुपमा स–साना कमजोरी गर्न पुगेका छन्, उनीहरुलाई मात्र कानुनको डण्डा लगाइएको छ । र, जेलहरुले सामान्य मान्छेलाई अझ ठूलो अपराधी बनाइरहेको छ ।”

पाँचवर्षको जेल जीवनपछि भेटिएका उनीहरुले घर परिवार र छोराछोरीको भन्दा पनि पार्टी र क्रान्ति, देश र जनताप्रतिको चिन्ता बढी गरे । बोगटी र विष्टले एकै स्वरमा भने, “दशवर्षे जनयुद्धका एजेण्डा माओवादी नेताहरुले छाडे र निहीत सुख, सुविधा, ऐस, आराम मोजमस्तीतिर लागे । सबै नेताहरु, हिजो के कस्ता थिए, आज के कस्ता भए, हामीलाई राम्रोसँग थाहा छ । पार्टी र क्रान्तिका धोकेबाज र गद्दारहरुलाई त्यसै छाडिन्न ।”

कालिकोटका बोगटी र अछामका विष्टसँग तत्कालीन दशवर्षे जनयुद्धमा थुप्रै फौजी मोर्चा लडेको अनुभव छ । भन्छन्, “किरण, प्रचण्ड र विप्लवको पार्टीमा हाम्रो बराबरी हक छ । विगतमा जनयुद्धले अगाडि सारेका एजेण्डाहरु पूरा भएका छैनन् । ति एजेण्डा छाड्ने अधिकार कुनै माओवादीलाई पनि छैन ।”

हिजो जनयुद्धको बेला बलिदानीपूर्ण संघर्षमा होमिएका कार्यकर्ताहरुप्रति नेतृत्वले बेवास्ता गरेको, उनीहरुको पारिवारिक तथा राजनीतिक हैसियतप्रति उदासिन रहेकोप्रति पनि उनीहरुले आक्रोश पोखे ।

“हिजो सँगै युद्धको मोर्चा लडेका नेता कार्यकर्ताहरु असाध्यै स्वार्थी र सुविधाभोगी भए । निहीत स्वार्थका निम्ति उनीहरु नाङ्गै दौडिन थालेका छन् । हेर्दा हेर्दै हिजोका सक्कली भनिएका माओवादीहरुको रातारात नक्कलीकरण भइरहेको छ ।” उनीहरुले भने, “फेरि वर्गसंघर्षको उठान गाउँ सहरबाट थालनी गर्नुपर्छ । पार्टी र क्रान्तिका निम्ति हामी फेरि पनि बलिदान गर्न तयार छौं । क्रान्तिका धोकेबाजहरुलाई त्यसै छाडिन्न ।”

प्रतिक्रिया

सम्बन्धित खवर