
काठमाडौं, ६ । जापानको निर्वाचन प्रधानमन्त्री सिन्जो आवेको लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले दुई तिहाई बहुमत ल्याएको छ । अत्यधिक बहुमत प्राप्त गरेलगत्तै प्रधानमन्त्री आवेले उत्तर कोरियाबिरुद्ध कडा प्रत्याक्रमण मापदण्ड अपनाउने बताउनुभएको छ ।
आइतबार भएको तल्लो सदनको निर्वाचनमा आवेको एलडीपी र उनको घनिष्ठ साझेदार दल कोमीइतो पार्टीले दुई तिहाई मत ल्याएका हो । बिभिन्न समाचार एजेन्सीका अनुसार, ४६५ सदस्यीय संसदको तल्लो सदनमा एलडीपीले २८३ सीट ल्यायो भने साझेदार कोमीइतोले २९ सीट पायो । परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्री आवेले भन्नुभयो,‘म यो बिजयलाई बिनम्रताका साथ लिन्छु ।’
पछिल्ला केही महिनामा प्योङयाङले जापानमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि उत्तर कोरियाबिरुद्ध लड्न प्रधानमन्त्री आवेले संसदको बलियो म्याण्डेट खोज्नुभएको थियो । उहाँले त्यसैका लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । आवेले प्राप्त गरेको यो मतले उहाँलाई युद्धपछिको युद्धबिरोधी संविधानलाई संसोधन गर्ने बाटो खुला गरेको छ । जापानको होक्काइडोमा उत्तर कोरियाले क्षेप्यास्त्र हानेपछि त्यसबिरुद्ध लिएको अडानका कारण आवेको लोकप्रियता बढेको थियो ।
प्रधानमन्त्री आवेले टोकियोमाथि प्योङयाङ लगायतका बाह्य शक्तिबाट खतरा बढ्दै गएको भन्दै जापानी सेनालाई बलियो बनाउने बताउनुभएको थियो भने जापानको प्रतिरक्षा बजेटसमेत बढाउने बताउनु भएको थियो । तर उहाँका बिरोधीहरुले भने आवे वाह्य खतराका नाममा सैन्यकरणतर्फ लागेको आरोप लगाएका छन् ।
परिणामले आफूलाई बिश्वासको मत दिएको भन्दै उत्तर कोरियाबिरुद्ध लिइने प्रत्याक्रमण मापदण्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको छलफलपछि तय गरिने जानकारी दिनुभयो । उहाँले प्योङयाङबिरुद्धको नीति कार्यान्वयन गर्दा रुस र चीनसँगसमेत परामर्श गर्ने बताउनुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले अगामी महिनामा जापानको भ्रमण गर्ने र त्यो बेला उत्तर कोरियाबिरुद्धको नीति तय हुने बताइएको छ ।
‘म जापानी नागरिकलाई सुनिश्चित गर्न चाहान्छु तपाइहरु सुरक्षित हुनुहुन्छ र म देशको सुरक्षा गर्न सक्षम छु’ उहाँले भन्नुभयो । जापानको उत्तर कोरियासँग कुटनीतिक र आर्थिक सम्बन्ध छैन । जापान र चीनको सम्बन्ध पनि सहज छैन ।