
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन आइतबार ८८ दल दर्ता भएपनि ५५ दलले मात्र बन्दसूचि बुझाएका छन् । आयोगले उम्मेदवारको बन्दसूची बुझाउन विहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तोकेको थियो । उक्त समयमा ५५ दलले सूची दर्ता गराएका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।
संसदीय व्यवस्थालाई रणनीतिक रुपमा उपयोग गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत र यो व्यवस्थाको कार्यनीतिक रुपमा उपयोग गर्ने अर्थात् संसदीय व्यवस्था, सत्ता र संविधानको जनविरोधी चरित्रको भण्डाफोरको उद्देश्यसहित निर्वाचनको उपयोग गर्न लागेको नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि सातवटै प्रदेशबाट समानुपातिक तर्फको बन्दसूचि बुझाएको छ । मोर्चाले २८ औं नम्बरमा बन्दसूचि बुझाएको छ ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरु आइतबार बन्दसूचि बुझाउन निर्वाचन आयोग पुगेका थिए । प्रतिनिधिसभा र ७ वटै प्रदेशसभाको बन्दसूचि बुझाएको छ । मोर्चाका कार्यालय सचिव हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार निर्वाचन आयोगमा बुझाएको बन्दसूचिमध्ये प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूचिको दर्ता नं. २८, प्रदेश नं. १ को दर्ता नं. १७, प्रदेश नं. २ को १८, प्रदेश नं. ३ को दर्ता नं. २३, प्रदेश नं. ४ को दर्ता नं. १४, प्रदेश नं. ५ को दर्ता नं. २०, प्रदेश नं. ६ को दर्ता नं. ६, प्रदेश नं. ७ को दर्ता नं. ८ रहेको छ । देजमोले निर्वाचन आयोगले निर्धारण गरेको दर्ता शुल्क अनुसार प्रतिनिधिसभाको ५० हजार र प्रदेशसभाको प्रति प्रदेशको २५ हजारका दरले हुन आउने २ लाख २५ हजार समेत दस्तुर बुझाएको छ । निर्वाचन आयोगमा ५५ वटा दलले सूची दर्ता गराएकोमा ५२ वटाको विवरण यहाँ उल्लेख गरिएको छ ।