खतरनाक जीका भाइरसबाट मस्तिष्कको आक्रामक क्यान्सर उपचार सम्भव !

खतरनाक जीका भाइरसबाट मस्तिष्कको आक्रामक क्यान्सर उपचार सम्भव !

एजेन्सी । एडिस एजिप्टाई लामखुट्टेबाट सन् २०१५ को अन्त्यतिर ब्राजिलमा ठूलो संख्यामा आम जनताहरु संक्रमित भए ।

गर्भवती महिलालाई जिका भाइरसबाट अविकसित मस्तिष्कसहितको बच्चा जन्मिने भएका कारण ठूलो सन्त्रास फैलिएको थियो । तर हाल जिका भाइरस जीका भाइरस मस्तिष्कको आक्रमक क्यान्सर उपचारमा प्रयोग गर्न सकिने पत्ता लागेको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुले भ्रुणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने बताएका हुन् ।

अहिलेसम्म जीकालाई समाधानको उपाय नभई विश्वव्यापी स्वास्थ्य खतराका रुपमा मात्र हेर्ने गरिएको छ । तर पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने देखाएको छ ।

मस्तिष्कको ‘ग्लीओब्लास्टोमा’ क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ ।

मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुनः पलाउनबाट रोक्छ । यद्यपि अहिलेसम्म यो मानिसमा भने परीक्षण गरिएको छैन ।

जीका भाइरस मस्तिष्कमा जहाँ आवश्यक छ त्यहाँ नै राखिदिनुपर्ने बताइएको छ
ट्युमर फाल्न गरिने शल्यक्रियाका बेला जीका भाइरस मस्तिष्कमा राखिदिन सकिने ‘जर्नल अफ एक्सपेरिमेण्टल मेडिसिन’ मा छापिएको लेखमा बताइएको छ ।

प्रयोगशालामा मानव कोषमाथि गरिएको परीक्षणमा जीका उपचार प्रभावकारी पाइएको बताइएको छ । त्यसले जवान मानिसको स्वस्थ्य मस्तिष्क कोषलाई आक्रमण नगरेको बताइएको छ ।

वाशिङ्टन युनिभर्सिटी स्कूल अफ मेडिसिन र युनिभर्सिटी अफ क्यालिफोर्निया सान डियागो स्कूल अफ मेडिसिन सम्बद्ध समूहले अतिरिक्त सावधानीका लागि जीका भाइरसमा केही परिवर्तन गरेर अहिलेको जीका भन्दा कम आक्रामक बनाउने उपाय खोजिरहेको बताएका छन् ।

सो समूहका एक अनुसन्धानकर्ता डा.माइकल डायमण्डले भने, ‘जीका उपचार पद्धतिलाई अठार महिना जतिमा मानिसमा परीक्षण गर्न सकिएला ।’ भाइरसको प्रयोगले क्यान्सर उपचार गर्ने भन्ने नयाँ विचार हो ।

क्याम्ब्रिज युनिभर्सिटी यूकेका वैज्ञानिकहरुले पनि जीकाबारे उस्तै परीक्षण शुरु गर्न लागेको बताएका छन् । क्यान्सर रिसर्च यूकेकी डा.क्याथरिन पीकवर्थले भनिन्, ‘यो पद्धतिले उपचार गर्न कठिन क्यान्सरको नयाँ उपचारको उपाय थपिन सक्छ ।’
–बीबीसीको सहयोगमा