अदालतको आदेश अवज्ञा ग¥यो वायुसेवा निगमले

अदालतको आदेश अवज्ञा ग¥यो वायुसेवा निगमले

पोखरा । पोखराको पृथ्वीचोकस्थित ‘पोखरा सस्तो बजार’माथि नेपाल वायुसेवा निगम र जिल्ला प्रशासन कार्यालयको आदेशमा गतहप्ता भएको प्रहरी हस्तक्षेप र तालाबन्दीका विरुद्ध उच्च अदालत पोखरामा बिहीबार परेको निषेधाज्ञा मुद्दामाथि सुनुवाई गर्दै तत्काल ताला खोली पूर्ववत् अवस्थामा सस्तो बजार सूचारु चल्न दिनु भनी गरेको अन्तरिम आदेशलाई नेपाल वायुसेवा निगमले अवज्ञा गरेको छ ।

 उच्च अदालत पोखराले नेपाल वायु सेवा निगमद्वारा जारी गरिएको सस्तो बजार खाली गर्ने ७२ घण्टे अवधि तत्काल कार्यान्वयन नगर्न गरेको अन्तरिम आदेशको आइतबारसम्म पालना गरेको छैन । सस्तो बजारका तर्फबाट केशव बहादुर भुजेलले दर्ता गरेको मुद्दाको पक्षमा बरिष्ठ वकिलहरु गोपाल सिवाकोटी चिन्तन, हिमलाल पुरी, भुपनिधि पन्त र तिलक पराजुलीले बहस गरेका थिए । पोखरा उच्च अदालतका मुख्य न्यायधिश कुमार चुडालको एकल इजलासले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ, “२०७४।०४।०१ गतेका दिनसम्म नेपाल वायुसेवा निगम, क्षेत्रीय कार्यालय पोखराले मिति २०७४।०३।२१ गते प्रकाशित गरेको सूचना बमोजिमका कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुका नामममा यो अन्तरिम आदेश जारी भएको छ ।” 

उच्च अदालतले साउन १ गते विपक्षीलाई व्यवसायीहरुको पक्षमा मुद्दा फैसला नगर्नु वा अन्तरिम आदेश जारी गर्नु नपर्नाका कारण खुल्ले प्रमाणसहित अदालतमा उपस्थित हुन भनेको छ । यसैबीच, उच्च अदालतले अन्तरिम जारी गरेपछि सस्तो बजारका स्वरोजगार व्यवसायीको पक्षमा उभिएका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नयाँ शक्ति, नेकपा माले, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक पार्टीहरुले खुशी व्यक्त गरेका छन् र निरन्तर जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयलगायत सम्बन्धित निकायमा गृहप्रशासनको हस्तक्षेप बन्द गर्न र व्यवसायीहरुले गरी खाने बातावरण बनाउन दबाब दिइरहेका छन् । 

शुक्रबार ६ दलले गृह प्रशासनको हस्तक्षेपको विरुद्धमा एक विरोध कार्यक्रमको आयोजना समेत गरे । कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य रामजी थापा, नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा, नयाँ शक्ति पर्टिी कास्कीका संयोजक हेमबहादुर थापा, नेकपा (माले)का केन्द्रीय सदस्य टेकनाथ भण्डारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी र संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामकाजी चर्माकारले आफ्नो वर्गको हितका लागि सबै व्यवसायी गोलबन्द भएर एकीकृत रुपमा दलालहरुका विरुद्ध लडाई लड्नुपर्ने आवश्यकता औंल्याए ।

ती ६ राजनीतिक दलहरुले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी पोखरा सस्तो बजारको समस्या समाधान गर्नका लागि संवेदशनशील बन्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । उनीहरुले “तालाबन्दीबाट बजारभित्र रहेका करोडौं मूल्य बराबरको दैनिक उपभोग्य वस्तु पूरै सडेर बजारक्षेत्रमा दुर्गन्ध र प्रदुषण फैलिएको, दैनिक श्रमको भरमा जीवन निर्वाह गर्दै आइरहेका २ सय १७ जना व्यवसायीहरुको अवस्था भयावह र चिन्ताजनक अवस्थामा पुगेको” विज्ञप्तिमा उल्लेख गरेका छन् ।