निर्वाचनको क्रान्तिकारी उपयोग किन ?

निर्वाचनको क्रान्तिकारी उपयोग किन ?

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आवश्यक क्रान्तिकारी संयुक्त मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विद्यमान प्रतिकृयावादी व्यवस्था अन्तर्गत हुने भनिएको स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने भन्ने निर्णय सार्वजनिक भएपछि यसबारे राजनीतिक बृत्तमा र आम नेपालीका वीचमा समेत निकै चासो बढेको छ । विशेषतः संविधान सभा–२लाई सकृय वहिष्कार गरेको नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी मोर्चाले त्यसै संविधान सभाले बनाएको पश्चगामी संविधानअन्तर्गतको स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने निर्णयलाई सहि किसिमले बुझ्न अप्ठेरो हुनु स्वभाविक पनि हो । यसबारे स्पष्ट पार्नुपर्ने आवश्यकता माथि ध्यान दिँदै यो संक्षिप्त लेखलाई यसै विषयमा केन्द्रित गरिएको छ ।

दुई भिन्न नीति र उद्देश्य

दुई चरणमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा सहभागि विभिन्न राजनीतिक दल र संगठन मूलतः दुई फरक नीति र उद्देश्य लिएर सहभागि भएका छन् र तिनीहरु दुई भिन्न कित्तामा विभाजित छन् । एक पक्षले यो प्रतिकृयावादी व्यवस्था हो र वर्तमान् संविधान पश्चगामी हो भन्ने कुरा स्पष्ट गर्दै यसलाई खारेज गर्ने उद्देश्यलाई केन्द्रमा राखेर यसको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ भने अर्को पक्षले यो प्रतिकृयावादी व्यवस्थालाई “सर्वोत्तम व्यवस्था” र यो संविधानलाई “उत्कृष्ट” भएको (कु) प्रचार गर्दै यही पश्चगामी संविधानलाई लागु गर्ने र यही प्रतिकृयावादी व्यवस्थालाई स्थायित्व दिने र यसैलाई भ¥याङ बनाएर सत्तामा पुग्ने उद्देश्यका साथ यो चुनावमा होमिएका छन् । यति ठुलो अन्तरलाई बुझ्न नसक्दा पश्चगामी शक्तिहरुले जनतामा ठूलो भ्रम पैदा गर्ने र धोखा दिने काम गरिरहेका छन् । तिनीहरुको हितमा काम गरिरहेको खास गरेर ठुला भनिने संचार माध्यमले यसमा धेरै मल जल गरिरहेका छन् । सर्बप्रथम त यी दुई प्रकारका, दुई विपरीत प्रकृतिका शक्तिहरुबारे स्पष्ट पार्नु आवश्यक छ ।

बहालवाला प्रधान न्यायाधिशलाई मन्त्रीमण्डलको अध्यक्ष बनाएर सेना परिचालन गरी प्रायोजित संविधान सभा नं–२ को निर्वाचनलार्ई नेकपा (क्रान्तिकारी माओवादी) (तात्कालिन नेकपा–माओवादी) ले सकृयरुपमा बहिष्कार गरेको थियो । उक्त पार्टीले पूर्वानुमान गरेजस्तै प्रतिकृयावादी (राप्रपा, नेका र एमाले) र प्रतिकृयावादी उन्मुख (माके)हरुले उक्त संविधान सभाबाट पश्चगामी संविधान बनाएर त्यसलाई जारी गरेका छन् । यसै पार्टीद्वारा समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल यतिखेर यो स्थानीय तहको निर्वाचनलाई धोखा र विश्वासघातबाट विफल बनाइएको नेपाली क्रान्तिलाई पूर्णता दिई नेपाली समाजलाई आमुल परिवर्तन गर्ने एजेण्डालाई कार्यान्वयन गर्ने तयारी र जनताका अभाव, दःुख र कष्टमा जनता सँगै रहेर तिनको समाधान गर्नका लागि यो निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएर अघि बढिरहेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा मोर्चाद्वारा हालै प्रकाशित ‘घोषणा र प्रतिवद्धता पत्र’मा आफ्नो नीति स्पष्ट पार्दै भनेको छ, “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यो संविधानलाई पश्चगामी संविधान ठहर गरेको छ र त्यसका सट्टामा संघीय जनगणतान्त्रिक संविधान निर्माण गर्ने नीति लिएको छ ।”

उक्त घोषणा पत्रले स्पष्ट गरेको छ, “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले संसदीय व्यवस्थाअन्तर्गत मंचन गरिने निर्वाचनहरुलाई अन्य संसदवादी दलहरुले जस्तो, मिठा नारा र गुलिया बचन मार्फत् आम जनताका आँखामा छारो हालेर सत्ताको भ¥याङ चढ्ने माध्यम बनाउन चाहँदैन, बरु संसदवादी दलहरुले देश र जनताका हितका बिरुद्ध गर्ने सबै प्रकारका कृयाकलापहरुको बिरोध र भण्डाफोर गर्दै निर्वाचनलाई एउटा मंचको रुपमा लिएर त्यसको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ ।”

यसबाट के कुरा स्पष्ट हुन्छ भने निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा र प्रतिकृयावादी सत्ता र व्यवस्थालाई सुदृढ गरी जनता माथि निरंकुश शासन गर्ने उद्देश्यका साथ भाग लिने खासगरी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र(माके) जस्ता दलहरुको नीति र उद्देश्य फरक मात्र छैनन् कि ती एकअर्काका विपरीत पनि छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा यो प्रतिकृयावादी व्यवस्था र पश्चगामी संविधानलाई खारेज गरी देशमा संघीय जनगणतन्त्रको स्थापना गर्न चाहन्छ । देजमोको प्रष्ट मत छ कि नेपालमा क्रान्ति पुरा हुन सकेन । क्रान्तिमाथि विश्वासघात र गद्दारी भयो । यसको ठिक विपरीत नेका, एमाले र माके एकै स्वरमा चिच्याइरहेका छन् कि “नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको छ” । विगतदेखि अहिलेसम्म राजा, नेका, एमाले र माकेले गरेका राष्ट्रघाती सन्धी सम्झौता, नेका, एमाले र माकेको नेतृत्वका विभिन्न सरकारहरुले गरेका जनघातमाथि ध्यान दिँदा नेपालमा क्रान्तिको आवश्यकता पहिलेको भन्दा पनि बढी छ । गणतन्त्र आएको भनिएको छ । यो गणतन्त्र सामान्य पुँजीवादी गणतन्त्र पनि नभएर दलाल र नोकरशाही पँुजीपति बर्गको नेतृत्वको विकृत गणतन्त्र मात्र सावित भएको छ । बेरोजगारी यति बढेको छ कि देशको एक तिहाई जनसंख्या परिवार छाडेर विदेशिन वाध्य छ । देश भुटानीकरण त करिव करिव भै सक्यो भन्दा पनि हुन्छ, अब यो स्वाभिमानी बहादुर नेपालीहरुको मातृभूमिलाई सिक्किमीकरणको दिशामा अघि बढाउने काम भइरहेको छ । त्यसकारण हामी भन्दछौं– ‘क्रान्ति नेपाललाई पहिलेको भन्दा पनि बढी आवश्यक छ ।’ यो कार्यभारलाई पुरा गर्नका लागि, बाहिरबाट र भित्रै पसेर पनि क्रान्तिको तयारीको निमित्त देशभक्त जनगणतान्त्रिक मोर्चाले स्थानीय निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको हो ।

क्रान्तिको तयारीको अर्को मोर्चा

संसारको कुनै पनि देशमा त्यसै देशका जनता सम्मिलित नभैकन क्रान्ति सम्पन्न हुन सक्दैन । नेपालका लागि पनि त्यही कुरा सत्य हो । यतिखेर नेपालमा वस्तुगत रुपमा क्रान्तिका लागि परिस्थिति परिपक्व छ, तर जनताको आत्मगत शक्ति कमजोर छ । यसको अर्थ हो नेपाली जनता यतिखेरै क्रान्ति गरिहाल्ने मुडमा छैनन् । एउटा ठुलो क्रान्तिकारी सफलताको सन्निकट पुगेर त्यसलाई प्रतिक्रान्तिले विस्थापित गरेका कारण जनतामा ठुलो निरासा पैदा भएको छ, जुन स्वभाविक पनि हो । यसबेला क्रान्तिकारी आन्दोलन उभारमा होइन, उतारमा छ । त्यसकारण, यतिखेर क्रान्तिकारी पार्टीले निर्वाचनलाई सकृय बहिष्कार गर्ने नारा दिए पनि जनता त्यसप्रति उदासिन हुने संभावना बढी छ । १९ वर्षसम्म स्थानीय तहको निर्वाचन नभएको अवस्थाले गर्दा पनि जनतामा के भ्रम पैदा गराएको छ भने यो निर्वाचनले जनताका कैयौं समस्या समाधान गर्नेछ । त्यसकारण पनि बहिष्कार आन्दोलनले जनतालाई आकर्षित गर्ने संभावना कम छ । जनताबाट अलग भएर क्रान्तिको तयारी गर्न नसकिने भएकाले पनि यो निर्वाचनलाई उपयोग गर्नु क्रान्तिकारीहरुका लागि आवश्यक भएको हो ।
अहिलेको अवस्थामा बाहिरी मोर्चा मात्र क्रान्तिको तयारीका निमित्त पर्याप्त नहुने भएकाले बाहिरी र भित्री दुबै मोर्चाबाट यसको तयारी गर्नु आवश्यक छ । त्यसैले क्रान्तिकारीका लागि चुनावको उपयोग क्रान्तिको तयारीका लागि अर्को मोर्चा पनि हो ।

त्यसकारण, यो निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्नु भनेको यसलाई एउटा मोर्चा बनाई क्रान्तिको तयारी गर्नु र जनताका दैनिक समस्या समाधानका लागि बढीभन्दा बढी पहलकदमी गर्नु हो । प्रतिकृयावादी र प्रतिकृयावाद उन्मुख पार्टीहरुले यो निर्वाचनलाई सत्तामा जाने भ¥याङ र शासक बन्ने उद्देश्यका निमित्त प्रयोग गर्ने छन् । यसरी देशभक्त जनगणतान्त्रिक मोर्चाको क्रान्तिकारी उपयोगको औचित्य पुष्टि हुन्छ । नेपाली क्रान्तिको तयारी गर्ने र जनताको इमान्दारीपूर्वक सेवा गर्ने उद्देश्यमा सहयोग गर्नका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन पनि हार्दिक अनुरोध गर्दछौं ।