थानकोटको मट्टीतेल ट्यांकीमा पेट्रोल भर्न अन्तिम तयारी

थानकोटको मट्टीतेल ट्यांकीमा पेट्रोल भर्न अन्तिम तयारी

काठमाडौं । मट्टीतेलको माग निकै न्यून भएपछि प्रयोगबिहीन भएर बसेका ट्यांकीहरुलाई पेट्रोल भण्डारण गर्न सक्ने गरी नेपाल आयल निगमले काठमाडौंको थानकोट डिपोको स्तरीकरण गरिरहेको छ भने मट्टीतेलका ट्यांकीहरुलाई धमाधम परिवर्तन गरिरहेको छ ।

थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारका लागि भइरहेको काम भने करिब करिब अन्तिम चरणमा पुगेको छ ।

परीक्षणमा ट्यांकी
‘अहिले भण्डारणका लागि प्रि–टेस्टिङ हुँदैछ । पानी राखेर त्यसको परीक्षण गर्दैछौं’ प्रवक्ता पोखरेलले भने,‘प्राविधिक रुपमा सफल परीक्षण गरेपछि हामी यसमा पनि तेल भर्न सक्छौं ।’
झण्डै ४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्न मिल्ने गरी ट्यांकी स्तरउन्नती गर्न भारतको ट्यांकटेक कम्पनीलाई जिम्मा पाएको छ ।

डेढ करोड रुपैयाँ भन्दा बढीको लागतमा ट्यांकटेकले भण्डारण विस्तारको काम गर्दैछ । डिपोको स्तरउन्नतीको काम सुरु गर्न ट्यांकटेकले भारतबाट प्राविधिक सामग्री ल्याएको थियो ।

अब केही हप्ताभित्रै थानकोट डिपोमा कुल ६ हजार किलोलिटर पेट्रोलको भण्डारण सुरु हुने निगमको दावी छ । अहिले निगमसँग १८ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्ने क्षमता छ । तर, त्यसमध्ये पनि ७ लाख लिटर क्षमताको ट्यांकी बिग्रिएपछि ११ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण भइरहेको छ ।

‘मट्टीतेलका पुराना दुईवटा ट्यांकीलाई अब पेट्रोल राख्न मिल्ने गरी तयार हुँदैछ’ पोखरेलले भने, ‘योसँगै बिग्रिएको एउटा ट्यांकीको पनि मर्मत भएर ६ हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने क्षमतासहित डिपोको विस्तार हुनेछ ।’

१० दिनको माग धान्ने

अहिले काठमाडौंमा दैनिक ५ लाख लिटरभन्दा बढी पेट्रोलको माग छ । यसअनुसार निगमले भण्डारण क्षमता बढाएपछि कम्तिमा १० दिनलाई भण्डारणले माग थेग्न सक्नेछ । निगमका अधिकारी भने एक महिनालाई पुग्ने गरी थानकोटमा भण्डारण क्षमता विस्तार गर्न लागिएको दावी गर्छन् ।

तर,काठमाडौंमा पेट्रोलको भण्डारण क्षमता निकै कमजोर छ । कुनैकारण दुई दिन तेल काडठमाडौं नआए हाहाकार सुरु भइहाल्ने गरेको छ । निगमले ९० दिनलाई पुग्ने गरी तेल भण्डारण गर्ने भनेपनि त्यसअनुरुप पूर्वाधार निर्माणको काम भने सुरु भएको छैन ।