३१ चैत, काठमाडौं । नयाँ वर्षसँगै काठमाडौं उपत्यकाभित्र आकस्मिक अवस्था बाहेकको अन्य अवस्थामा सरकारले ‘नो हर्न’ को नीति लागू गर्ने भएको छ । वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने गरी निर्णय भइसकेको छ ।
आवश्यक र जरुरी अवस्थामा हर्न बजाउने पाइनेछ तर जोखिमयुक्त ओभरटेक गर्नका लागि हर्न बजाउनेहरु पनि कारवाहीमा पर्नेछन् ।
साथी भेट्दा होस् वा जाममा पर्दा होस्, हर्न बजाउनेहरु धेरै छन् । उनीहरु पनि कारबाहीमा पर्ने छन् ।
अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना गरिने यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।
‘भोलिदेखि विभागको टोली सडकमा अनुगमनमा निस्कन्छ । हामीले ट्राफिक प्रहरीसहितको अनुगमन टोली नै बनाएका छौं’ पाण्डेले भने, ‘ट्राफिक प्रहरीले पनि सडकमा हुने नियमित चेकजाँचमा यसको अनुगमन गर्नेछ ।
यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
ट्राफिक प्रहरीका अनुसार भोलिदेखि सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउनेछन् । सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । जोखिमयुक्त मोड र चोकहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।
‘अनावश्यक रुपमा हर्न बजाउनेलाई कारवाही हुन्छ । तर, सडकमा दुर्घटनाको जोखिम हुँदा बजाइएको हर्नमा हामी कडाइ गर्दैनौं’ ट्रापिक प्रवक्ता मल्लले भने, ‘हामीले हर्नलाई पुरा निषेध गर्न खोजेका हैनौं । तर, आवश्यक नै नहुँदा पनि हर्न बजाउनेलाई आँखा चिम्लिएर छाड्दैनौं ।’
काठमाडौं छिर्ने सवारी, बाहिरिनेक्रममा रहेका सवारी र उपत्यकाभित्र गुड्ने सवारीका हकमा यो निर्णय लागू हुने काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी इश्वरराज पौडेलले बताए । ‘सडकमा हर्न बजाएर जथाभावी हुँइकिने सवारीले दुर्घटना बढाए । हर्नले यहाँ ध्वनी प्रदुषणा पनि ज्यादै बढायो ।
खाली सडकमा पनि आँखै नहेरी हर्न बजाउँदै कुद्ने सवारीलाई नियन्त्रण नगरी नहुने देखिएकाले यो निर्णय गरेका हौं’ महानगरपालिकाका प्रमुख पौडेलले भने ।
यो निर्णय पछि काठमाडौंको साँघुरो र चापयुक्त सडकमा सवारी ब्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
साथै शहरको कोलाहल पनि घट्ने र हर्नकै भरमा सवारी दौडाउने र दुर्घटना गराउने जोखिम घट्ने अपेक्षा गरिएको पौडेलले बताए । ‘हामी सचेतनाको अभियान पनि सँगै लगिरहेका छौं ।
जथाभावी हर्न बजाउन जरुरी छैन भन्ने सन्देश दिन र त्यसैअनुसार आनीबानी बसाल्न यो ब्यवस्था गरेका हौं’ ट्राफिक प्रवक्ता मल्लले भने, ‘कारवाही हुन्छ भन्ने डर भएपछि विस्तारै बानी बस्छ । हर्न कम बजाउने संस्कारमा अभ्यस्त गर्न हामी सचेतनाका लागि काम पनि गर्दैछौं ।’
उनका अनुसार ट्राफिक प्रहरीले सार्वजनिक सवारीको पछाडि हर्न निषेध गरिएको स्टिकर टाँस्ने अभियान पनि थाल्दछ । महानगरपालिकाले शहरका विभिन्न भागमा अनावश्यक हर्न नबजाउन अनुरोध गर्दै ब्यानर लगाएको छ ।