माकेका दर्जनौं मजदुर नेताहरु क्रान्तिकारी ट्रेड युनियन महासंघमा प्रवेश

माकेका दर्जनौं मजदुर नेताहरु क्रान्तिकारी ट्रेड युनियन महासंघमा प्रवेश

काठमाडौं । संसदवाद र अर्थवादमा पतन हुन पुगेको माओवादी केन्द्र सम्बद्ध ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा घटक संगठन अखिल नेपाल सरसफाई मजदुर संघको बरिष्ठ केन्द्रीय उपाध्यक्ष विदुर चौलागाईंको नेतृत्वमा २१ जना मजदुर नेता कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा प्रवेश गरेका छन् । चौलागाईं माके मजदुर महासंघका ललितपुर इन्चार्ज समेत हुन् ।

माओवादी केन्द्र छाडेर क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने अन्य नेताहरुमा शोभाकुमारी खड्का केन्द्रीय सदस्य, कविता राई– केन्द्रीय कोषाध्यक्ष, विन्दा तिमल्सिना गिरी केस, निर्मला चौधरी– इकाई अध्यक्ष, अम्बिका अधिकारी, गणेश लामा, सानु राई, माया लामा, फुलमाया तामाङ, पार्वती तिमल्सिना, मधुकला राई, राममाया श्रेष्ठ, रेणु खत्री, शान्ति घिमिरे, संगिता बुढाथोकी, मिरा भट्टराई, विष्णु माझी, संदिप देउला, रवि चौलागाईं, विक्रम चौलागाईलगायत रहेका छन् ।

माकेबाट विद्रोह गरेर आएका नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा‘सागर’ले पार्टी प्रवेश गराए । क्रान्तिकारी मजदुर नेता केशव सुवेदीको अध्यक्षतामा भएको एक कार्यक्रममा उनीहरु अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा समाहित भएका हुन् । मजदुर नेता राम बस्नेतले संचालन गरेको उक्त कार्यक्रममा विद्रोह गरेर आएका मजदुर नेता विदुर चौलागाईंले माके सम्बद्ध परित्याग गर्नु पर्नाका कारण समेटिएको विज्ञप्ती वाचन गरेर सुनाएका थिए । चौलागाईं लगायत २१ जनाको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “माओवादी केन्द्र सम्बद्ध महासंघले आम श्रमजीवि मजदुरहरुको मुक्ति सम्भव छैन । यो महासंघ दलाल पुँजीपतिहरुको पुच्छर बनेर संसदवाद, अर्थवाद र अवसरवादमा पतन हुन पुगेको छ ।”

“महान सहिदहरुको सपनालाई कुल्चदै नोकरशाही दलाल पुँजीवादी विचार बोकेर आम श्रमजीवि मजदुर वर्गको अधिकारमाथि लात हान्न थालेपछि हामी बैकल्पिक बाटो खोज्न बाध्य भयौं ।” उनीहरुले निकालेको विज्ञप्तीमा भनेका छन्, “सहिदहरुका अधुरा सपना पूरा गर्न र श्रमजीवि मजदुर वर्गको हकअधिकारका निम्ति इमान्दार ढंगले संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी) र सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ हामीले सही विकल्प पायौं ।”