उपलब्धी नभएपछि मलेसियन विमानको खोजी ३ वर्षमा स्थगित

उपलब्धी नभएपछि मलेसियन विमानको खोजी ३ वर्षमा स्थगित

एजेन्सी । ८ मार्च सन् २०१४ मा वेपत्ता भएको मलेसियन एयरलाइन्सको विमानको खोजी कार्य औपचारिक रुपमै अन्त्य भएको घोषणा गरिएको छ ।

समुद्री क्षेत्रमा ३ वर्षसम्म गरिएको खोजीका क्रममा पनि कुनै तथ्य फेला पर्न नसकेपछि मलेसियाली विमान एमएच ३७० को बोइङ ७७७ विमानको खोजी कार्य रोक्ने निर्णय भएको हो ।

मलेसियाको क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङका लागि उडेको विमान २ सय २७ जना यात्रु र १२ जना चालक दलका सदस्यसहित वेपत्ता भएको थियो ।

दुर्घटनाग्रस्त विमानको खोजी र रहस्य पत्ता लगाउनका लागि अस्ट्रेलिया, मलेसिया र चीनको संयुक्त टोलीले झण्डै ३ वर्षसम्म कोशिस गरेपनि कुनै रहस्य पत्ता लाग्न सकेन । यसलाई विमान दुर्घटनाको इतिहासमा नै सबैभन्दा रहश्यपूर्ण दुर्घटना मानिएको छ ।

चिनियाँ, मलेसियन र अस्ट्रेलियन अधिकारीले खोजी कार्य स्थगित गरेको घोषणा गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विज्ञानका सबै अत्याधुनिक प्रविधिको प्रयो गरिएपनि विमान दुर्घटना भएको स्थानबारे पत्ता लगाउन सकिएन ।’

तीन देशका अधिकारीले करिब ३ वर्षसम्म जारी राखेको खोजी अभियानमा इण्डियन सागरको करिब १ लाख २० हजार स्क्वायर किलोमिटर क्षेत्रलाई केन्द्रीत गरेका थिए ।

गत वर्षको जुलाईमा तीन देशका अधिकारीहरु १ लाख २० हजार स्क्वायर किलोमिटर क्षेत्रफलमा खोजी कार्य सम्पन्न भएपनि विमान र त्यस घटनाको बारेमा कुनै तथ्य फेला नपरेपनि खोजीकार्य समाप्त भएको घोषणा गर्न सहमत भएका थिए ।

वेपत्ता मलेसियाली विमानमा सबैभन्दा बढी चिनियाँ नागरिकरु सवार थिए । तीन वर्षसम्म गरिएको खोजी कार्यमा ३ वटा टुक्रा मात्रै फेला परेका थिए ।

ती टुक्राहरु मौरिटियस, फ्रेन्च टापु रियुनियन र तान्जानियाको समुद्री किनारमा भेटिएका थिए । यसैगरी माजाम्बिक, तान्जानिया र दक्षिण अफ्रिकी समुद्री किनारमा पनि शंकास्पद विमानका ३० वटा भन्दा बढी टुक्राहरु फेला परेका थिए ।