उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक

उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक

धुलिखेल, काभ्रे । नेपाली साहित्यको बजारमा हरि कटुवालले नयाँ उपन्यास ‘अधुरो सपना’ लिएर आएका छन् । कटुवालको उपन्यासलाई शनिवार काभ्रेको धुलिखेलमा बरिष्ठ नियात्राकार युवराज नयाँघरेले लोकार्पण गरेका छन् ।

संखुवासभाको खाँदवारीमा जन्मिएका कटुवाल सरकारी सेवामा पाँचखाल नगरपालिकामा कार्यरत रहेका छन् । कटुवालको यो उपन्यास पहिलो साहित्यिक कृति हो । उपन्यास लोकार्पण कार्यक्रममा नियात्राकार नयाँघरेले उपन्यासमा कटुवालले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक र प्रशासनिक पक्षहरुको राम्रो चिरफार गरेर पस्केको बताए । उनले भने–‘ उपन्यासले समकालीन र समसामयिकताको परिबेशलाई उतार्न सकेको हुँदा अहिले उपन्यासकारलाई सबैले मलजल गरेर साहित्यिक बजारमा हुर्काउन जरुरी देखिन्छ ।’ उनले कटुवाललाई अझै खारिएर भावी दिनमा आउन आग्रह गर्दै निरन्तरता र सफल लेखनका लागि शुभकामना दिए ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका कार्यकारी अधिकृत बासुदेव भेटवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार शेखर ढुंगेल, काभे्रका साहित्यकार मोहन दुवालले आम नेपालीहरुको अधुरो सपनालाई उपन्यासले उर्तान सकेको औल्याउँदै कटुवालको लेखनको निरन्तरताको कामना गरे ।

त्यसैगरी कार्यक्रममा उपन्यास अधुरो सपनामा माथि पत्रकार इश्वरीराज राजकुमार मैनाली, पत्रकार महासंघ काभ्रेको सभापति नारायण सापकोटालगायतले टिप्पणी गरे ।