चितवन । नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानीमाथि प्रतिबन्ध लगायको भएपनि केही व्यवसायीले आफ्नो निहीत स्वार्थ पूरा गर्न विदेशी लगानी भित्र्याईरहेका छन् । यसरी गैह्र कानुनीरुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीका कारण नेपालको पोल्ट्री व्यवसाय आम किसान र स्थानीय व्यवसायीको हातबाट विस्तारै केही सम्भ्रान्त र तिनका विदेशी पार्टनरको हातमा जाने खतरा बढ्दै गइरहेको स्वयम् यस क्षेत्रका ब्यवसायीहरुले बताउने गरेका छन् । लगानी मात्र होइन विदेशबाट कुखुरा, मासु र अण्डा आयातमा समेत सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको यो नीति ठिक भए पनि अनुगमन र गलत गर्नेहरुलाई आवश्यक कार्वाही नगर्दा नेपालको कृषि क्षेत्र त्यसमा पनि पोल्ट्री उद्योगमा दिन प्रतिदिन अप्रत्यक्ष रुपमा विदेशी लगानी भित्रिदै गईरहेको हो । कागजी प्रक्रिया र कानुनी रुपमा देखाउन स्वदेशीको मात्र लगानी भएको जस्तो देखाइएपनि भित्री लगानी विदेशीहरुकै रहेको बुझिएको छ । यसरी विदेशी लगानी भित्राउनेहरुमा वीरगञ्जमा पोषक दाना उद्योग सञ्चालन गरिरहेका प्रदीप कुमार रुड्डाटा, शक्ति प्लेट दाना उत्पादक कम्पनी, बायो प्रोडक्ट प्रा.लि. लगायतका रहेका छन् । यी उद्योगमा भारतीयहरुको लगानी रहेको कम्पनी निकट विश्वस्त सुत्रले जानकारी दिएकोे छ ।
त्यस्तै पोल्ट्रीको केन्द्रको रुपमा रहेको चितवनमा समेत हालसालै दुईवटा प्लेट दाना उद्योगमा विदेशी लगानी भित्री सकेको छ । साविकको मंगलपुर गा.वि.स.मा रहेका यी दुई उद्योगमध्ये एउटाले उत्पादन शुरु गरिरसकेको र अर्को निर्माणकै चरणमा रहेको छ । एउटा चाईनिज कम्पनी र अर्को भारतीय कम्पनीको लगानी रहेका यी उद्योगहरुले उत्पादन शुरु गरेपछि चितवनका साना ब्यवसायीहरु विस्थापित हुने खतरा रहेको अर्का एक ब्यवसायीले बताएका छन् । उनका अनुसार आम कुखुरा पालक किसान आत्मनिर्भर बनिसकेको पोल्ट्री ब्यवसायीमा बैदेशिक र मुख्यतः भारतीय लगानी भित्र्याई परनिर्भर(भारत निर्भर) बनाउने षड्यन्त्रअन्र्तगत यी उद्योगहरु स्थापित गरिएको उनले आरोप लगाए । नेपालकै पोल्ट्री ब्यवसायका हस्ती मानिएका अविनाश ह्याचरी प्रा.लि.का सञ्चालकले नै भारतीय लगानी भित्र्याएका हुन् । भरतपुर १६ ब्रहम्पुरमा रहेको सो फिडको कारण साना ब्यवसायीहरु विस्थापित हुने अवस्था आएको एक कुखुरापालक किसानले बताए । भारतीय पोल्ट्री कम्पनी स्काईलार्कको ५० प्रतिशत लगानी रहेको सो कम्पनीमा केही भारतीयहरु विना वर्कपरमीट काम गरिरहेको सोही कम्पनीमा कार्यरत एक मजदुरले बताए ।
यसैवीच, सो कम्पनीमा स्थापनाकालदेखि काम गरिरहेका एक मजदुरलाई कम्पनीले विनाकारण निस्कासन गरिदिएको छ । कम्पनी निर्माणको क्रममा दुर्घटनामा परि हात भाच्चिएका उनको पुरा उपचार र हातको स्टील पनि नझिकी उनलाई निस्कासन गरिदिएकोले उनको पुर्नबहाली र औषधी उपचारको लागि संर्घष गर्ने ने.क.पा. क्रान्तिकारी माओवादीका कार्यकर्ता एवं मजदुर नेता सन्तोष बास्ताकोटीले जानकारी दिएका छन् । “शुरुमा पुर्नबहाली र पीडित मजदुरलाई औषधी उपचारको लागि कम्पनीसँग अनुरोध गर्छौ । सुनुवाई नभए संर्घष संघर्ष गर्नुको विकल्प रहने छैन” उनले भने ।
कम्पनीले अबैध रुपमा विना वर्क परमिटका भारतीयहरुलाई नेपालमा रोजगार दिने अनि स्थानीयलाई विना कारण कामबाट हटाउने र औषधी उपचारजस्तो कार्यमा समेत अमानवीय ब्यवहार देखाउने कार्य घोर आपत्तिजनक भएको भन्दै उनले पीडित मजदुरलाई तत्काल औषधी उपचार र रोजगारमा पुर्न बहाली गर्न कम्पनी व्यवस्थापनसँग माग गरे । यता कम्पनीका सञ्चालक गुणचन्द्र विष्टसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।