
काठमाडौं । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखजीको नेपाल भ्रमणमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीबारको बैठकले भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदेशका राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयको भने चारैतिर आलोचना भएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न सरकारले यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताए । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आगामी कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा भारतीय राष्ट्रपति तीनदिने भ्रमणमा मुखर्जीको भ्रमणमा नेपाल आउन लागेका हुन् । मुखर्जी नेपाल भ्रमणमा आउने निश्चित भएको भारतीय विदेश मन्त्रालयले विहीबार मात्रै विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालमा राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथ र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्ने छन् । सोही दिक्षान्त समारोहमा मुखर्जीलाई मानार्थ कुलपतिको पद्वी दिइने भएको छ ।
यसैबीच, भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षार्थ भारतीय पक्षबाट भ्रमणमा करिब चार सयको संख्यामा भारतीय कमान्डो टोली पनि ल्याउने भएका छन् ।






























