बालिका आफ्नै बाबु, मामा र गाउले दाजुबाट बलात्कृत

बालिका आफ्नै बाबु, मामा र गाउले दाजुबाट बलात्कृत

उदयपुर । उदयपुरको बेल्टार बसाहा नगरपालिकाकी एक १३ वर्षे किशोरीलाई पटक पटक बलात्कार गर्ने बुबा, मामा र गाउँले दाजुलाई जेल सजायको फैसला भएको छ । जिल्ला अदालत उदयपुरले उनीहरुलाई आर्थिक जरिवानासहित जेल सजायको फैसला गरेको हो ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले किशोरी बलात्कार गर्ने उनकै बाबुलाई २२ वर्ष जेल र ५० हजार रुपैया जरिवाना, मामालाई ११ वर्ष जेल सजाय र १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र १० हजार जरिबानाको फैसला गरेको हो ।

किशोरीको आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि बुबाले उनलाई ६ महिनादेखि करणी गर्दै आएको पुष्टि भएको हो । बाबुले करणी गरेपछि किशोरी भागेर मावली गएको समयमा मामाले पनि बलात्कार गरेका थिए ।

मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरेका थिए ।

पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।