एजेन्सी । भारत प्रशासित जम्मु कास्मिरमा शान्ति बहालीका लागि भन्दै १२ वर्षपछि पुनः सीमा सुरक्षा बल (बीएसएफ) तैनाथ गरिएको छ ।
गत जुलाईमा हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको हत्यापछि कास्मिर निरन्तर अशान्त रहेका बेला सीमा सुरक्षा बल समेत तैनाथ गरेको हो । भारतले कास्मिरमा अशान्ति फैलिनुमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ ।
विगत डेढ महिनाभन्दा लामो समयदेखि कास्मिरमा कफ्र्यु जारी नै रहँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ । कास्मिरका नागरिकले सुरक्षाकर्मीको ज्यादतीविरुद्ध आन्दोलन जारी राखेका बेला थप सुरक्षा दस्ता तैनाथ गरिएको हो ।
भारत सरकारले कास्मिरको अवस्था सामान्य बनाउन भन्दै बीएसएफका २६ वटा कम्पनी पठाउने निर्णय गरेको थियो । यी सैनिक दस्ताले कास्मिरमा शान्ति स्थापनाका लागि समस्याग्रस्त घोषणा गरिएका क्षेत्रमा सुरक्षाको काममा खटिनेछन् ।
कास्मिरमा लगातार भइरहेको हिंसा र अशान्तिकाबीच थप २६ सय अर्धसैनिक फौज पठाइएको हो ।
कास्मिरमा तैनाथ गर्नका लागि गुजरात, राजस्थान र पश्चिम बंगालबाट थप बीएसएफ फौज कास्मिरका जनताले यसअघि पनि बीएसएफका फौज परिचालनको विरोध गर्दै आएका छन् ।
सोही कारण १२ वर्षअघि बीएसएफलाई हटाएर कास्मिरमा सीआरपीएफ फोर्स परिचालन गरिएको थियो ।
सन् १९९० को दशकमा कास्मिरको आतंकवादी क्रियाकलाप भएको भन्दै बीएसएफ फोर्स परिचालन गरिएको थियो । तर कास्मिरी जनताले यसको कडा विरोध गरेपछि सन् २००४ मा सीमा सुरक्षा बलको स्थानमा सीआरपीएफ लगिएको थियो ।
अब फेरि बीएसएफको हातमा कास्मिरको सुरक्षाको नेतृत्व जानेछ । कास्मिरका जारी हिंशाकाबीच केन्द्रीय गृहमन्त्री राजनाथ सिंह पनि जम्मु कासिमर जाँदैछन् ।
कास्मिरका केही इलाकामा विगत ४६ दिन देखिको निषेधाज्ञा जारी छ । कास्मिरमा जारी हिंसाका कारण हालसम्ममा करिब ७० जनाको मृत्यु भइसकेको छ भने ३ हजारभन्दा बढी घाइते भइसकेका छन् ।