दाहाल सरकार भारत परस्त ः सात दल

KP Sharma Oliकाठमाडौं । नेकपा एमालेसहितका प्रतिपक्षी सात दलले पुष्पकमल दाहाल नेतृत्वको सरकार भारत परस्त रहेको निश्कर्ष निकालेको छ ।

मुख्य विपक्षी एमाले सहित सातैवटा दलले मंगलबार सिंहदरबारमा बैठक गर्दै पुष्पकमल दाहाल सरकार ‘भारत परस्त’ भएको औपचारिक निर्णय गरेका छन्। तीन हप्ता अघि सरकारबाट बाहिरिएको एमालेसहित ७ दल प्रतिपक्षीको भूमिकामा पनि एकै ठाउँ देखिएका छन्।

एमाले अध्यक्ष केपी ओलीको आह्वानमा बसेकोे बैठकले मुलुकको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा चीनसँग भएका सन्धि सम्झौता कार्यान्वयन गर्ने दिशातर्फ वर्तमान सरकार गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै सरकारका कामप्रति निगरानी गर्ने निर्णय पनि गरेको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँग भएका महत्वपूर्ण सन्धि कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाए पनि व्यवहारमा ढिलाई गरिरहेको भन्दै सहयोगी ७ दलका नेताहरुको ध्यानाकर्षण गराएका थिए।
बैठकले मुलुकको एकता, अखण्डता र राष्ट्रियता कमजोर पार्ने गरी हुने संविधान संशोधनको पक्षमा आफूहरु नरहेको निष्कर्ष निकालेको माले महासचिव मैनालीले जनाए।

मधेसी मोर्चा सहितका दल तथा समूहलाई सम्बोधन गर्न सरकारले संविधान संशोधनको तयारी थालिरहेका बेला विपक्षी गठबन्धन त्यसविरुद्ध उभिने निर्णय गरेको हो।

बैठकमा एमाले, राप्रपा नेपाल, नेकपा माले, मजदूर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी तथा मधेस समता पार्टी नेपालका शीर्ष नेताहरु सहभागी थिए। एमाले सहितको ७ दलीय गठबन्धनमा कूल २२३ सांसद छन्।