मूर्छित सपना ब्युंझाउने ओेली बाक्य !

मूर्छित सपना ब्युंझाउने ओेली बाक्य !

KP Sharma Oli

प्रधानमन्त्रीको पद आफू र आफ्नो दलका लागि लक्ष्य र गन्तव्य दुवै नभएको भन्दै प्रम केपी ओलीले राष्ट्रपतिसमक्ष राजीनामा दिएर आएको कुरा सभामुख मार्फत् सदनलाई जानकारी गराए । ‘सभामुख महोदय मार्फत् सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु’ भन्दै आफूमाथि उठेका र उठाइएका प्रश्नहरुको सदनमा जवाफ दिने क्रममा प्रम ओलीले यस्तो जवाफ दिएका हुन् । प्रम ओलीले बाटो फराक गरिदिएसंगै अहिलेसम्म उनीमाथि ‘कुर्सी नछाड्ने संकेत’ भन्दै गरिएका आशंकाहरु साफ भएका छन् ।

नेपाललाई आफूले नेपाल नै बनाउने भनेको र सिंगापुर तथा स्वीटजरल्याण्ड बनाउने कहिल्यै नभनेको स्मरण गराउंदै यही अर्थमा मूर्छित सपनाहरुलाई ब्युंझाउनु पर्छ भनेको कुरा दोहर्याएका थिए ।

उनले प्रष्ट शब्दमा भनेका थिए– ‘मैले राष्ट्रपति समक्ष प्रमबाट राजीनामा दिएर आएको छु । सभामुख महोदय मार्फत् सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । सहज ढंगले नयां सरकार बनोस् । त्यसका लागि बाधा अडचन फुकाउन राष्ट्रपति महोदयलाई अनुरोध समेत् गरेको छु ।’
आफूमाथि उठाइएका प्रश्नहरुको जवाफ दिंने क्रममा प्रम ओलीले मूर्छित सपनाहरुलाई ब्युंझाउनु पर्ने कुरामा जोड दिएका थिए । उनले नेपाललाई आफूले नेपाल नै बनाउने भनेको र सिंगापुर तथा स्वीटजरल्याण्ड बनाउने कहिल्यै नभनेको स्मरण गराउंदै यही अर्थमा मूर्छित सपनाहरुलाई ब्युंझाउनु पर्छ भनेको कुरा दोहर्याएका थिए । ‘उनको उद्देश्य कुर्सीमा बसिरहनु थिएन, बरु उपलब्धिहरुको रक्षा गर्नु थियो’ भन्दै उनका निम्ति पद र ओहदाले केही काम नगर्ने बताए ।
उनी र उनको दल संविधान लेखनमा अग्र भागमा रहेको भन्दै ‘ओलीका लागि होइन, भोलिका लागि’ भन्ने युवाहरुलाई उनले खुलेरै स्मरण गरे । जांदाजांदै उनले तराइको हुलाकी राजमार्ग,  केरुङ–काठमाडौं सडक, फास्ट ट्रयाक, विपन्न वर्गका कुराहरु, हरेक सदरमुकाममा चक्रपथ निर्माण, सदरमुकामहरु चार लेनको हाइवेबाट जोड्ने, सामाजिक सुरक्षाका कामलाई सम्पन्न गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋणलिन व्यवस्था गर्ने, लोपोन्मुख जातिलाई उच्च शिक्षासम्म निशुल्क अध्ययनको व्यवस्था गर्ने कुरा अबका सरकारको प्राथमिकतामा पर्छन् कि पर्दैनन् भनी प्रश्न पनि गरेका थिए ।  
आफू प्रधानमन्त्री हुंदाका बखत भूकम्प गएको ६ महिना भइसकेको कठिन अवस्थामा सरकार सम्हालेको भन्दै आज रहस्यमय ढंगले गरिन लागेको यो सरकार परिवर्तनको खेलको अन्तर्य खुल्दै जाने भनी ओलीले कटाक्ष समेत गरे । उनले आफूले सत्ता लम्व्याउन कुनै कसरत नगरिरहेको र असैद्धान्तिक मान्यताहरुमा टेकेर कुर्सीमा बसिरहन पनि नचाहेको बताए ।
प्रचण्डप्रति संकेत गर्दै ‘परोपकारी तानाशाहको खांचो’, ‘जंगबहादुरको खांचो’ को अर्थ के हो भन्दै लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको कुरालाई उठाइरहे । रुख काट्न काठको बींड नै प्रयोग हुन्छ भन्दै उनले जुनसुकै घाटको भएपनि पानी पिउने प्रचण्डको संस्कार र बानीको व्यंग्यात्मक रुपमा आलोचना पनि गरे । कहिलेकाहीं संसदको अंक गणितको खेल र जनताको चाहनामा अन्तरविरोध देखा पर्ने कुरा औल्याउंदै ओलीले नेपाल विदेशीको खेलमैदान नबनोस् र संविधानको कार्यान्वयन नगर्न कसैबाट बाधाअबरोध नआओस् भन्ने कुरामा जोड दिएका थिए ।