नौ बहिनीः एक पर्यटकीय स्थल

नौ बहिनी प्युठान जिल्लाको स्याउलीबाङ गाउ विकास समिति अन्तर्गत पर्ने अग्लो पहाड कोठीभीरमा रहेको छ । हाल देवस्थलको रुपमा पूजा गरिने उक्त स्थान प्राकृतिक हिसावले निकै रमणीय छ । यो समुद्री सतहबाट १६३७ मिटरको उचाइमा रहेको छ ।

कोठी भीर

नौ बहिनी प्युठान जिल्लाको सदरमुकाम खलङगाबाट पश्चिम–उत्तरमा रहेको छ । गाउंगाउंमा मोटरे बाटो पुगेकाले स्याउलीबाङमा यातायातको व्यवस्था पनि छ । स्याउलीवाङ गाविसमा पुगेपछि त्यहाँस्थित ठूलो गाउंबाट पश्चिम उत्तरमा रहेको पंधेराखोलाको किनारै किनार पश्चिम उत्तर उकालो चढ्दै गएपछि नौ बहिनी पुगिन्छ । यहाँबाट करिब साढे एक किलोमिटर उकालो चढ्नु पर्दछ । नौ बहिनी करिब अढाइ किलोमिटको क्षेत्रफलमा फैलिएको छ ।

शायद मातृ सत्तात्मक व्यवस्था रहेका बेला हुन सक्छ । यस ठाउँमा नौ बहिनीहरु (जसलाई देवीका रुपमा पुजा पनि गरिन्छ) नौ दिशाबाट त्यहां जम्मा भएर आफ्ना नाता सम्बन्धका बारेमा ठूलो छलफल गरी त्यस वरपरको क्षेत्रमा सामाजिक थिति बसाएका थिए रे । कूल, नाता र वंशको नामाकरण गरेका थिए रे । विभिन्न अनुहार, कूल र वंशका मानिसहरुको सृष्टि त्यहीबाट भए गरेको भन्ने किम्बदन्ती आज पनि त्यहाँका स्थानीय जनताको जिब्रोमा ट्वाक्क बसेको छ  । त्यति बेला महिलाहरुको वर्चश्व र शासन व्यवस्था नै भएकाले त्यहाँ छलफलमा सहभागी पुरुषहरुको उल्लेखनीय भूमिका नभएको हुनु पर्छ । तर त्यस बखत सहभागी महिलालाई दिदी र सहभागी पुरुषहरुलाई भाइ भनी संज्ञा दिएको जनबोलीबाट थाह हुन आउंछ । साथै ती भाइहरुले दिदीहरुको विधिपूर्वक सेवा, सुरक्षा र पुजाआजा गरेको पनि जनबोलीमा अटाएको पाइ्न्छ । यही परम्परा कायम राख्दै आज पनि त्यहाँ ती देवी दिदीहरुको पुजाआजा गर्ने गरिन्छ ।

ph-1
नौवहिनी

गंगा नदीको किनारमा शासन गर्ने ब्रह्मा, महाभारतमा शासन गर्ने विष्णु र हिमालयमा शासन गर्ने महेश्वरका पालामा आएर राज्य तथा समाज पुरुष प्रधान बन्दै गएको थियो । बदलिएको परिस्थितिमा पनि प्रत्येक नौ–नौ वर्षमा उनीहरुले आफ्ना राज्यबाट विदुषी महिला प्रतिनिधिहरुलाई त्यहाँ पठाई तीनबटै साम्राज्यका बारेमा छलफल गर्ने गराउने गरेका थिए रे । भनिन्छ, तीनवटै साम्राज्यमा रहेका महिलाहरुको बारेमा छलफल गर्ने र राय सुझावहरु तीनवटै साम्राज्याधिकारी त्रिदेव भगवानहरुलाई पु¥याउने गर्दथे ।

स्थानीय बूढापाकाको भनाइ सुन्न पाइन्छ, ब्रह्माको साम्राज्यमा महिलाको पीडा ज्यादै हुँदै गइरहेको र विष्णुको साम्राज्यमा पनि त्यसको प्रभाव बढ्दै गएको कुरा महेश्वरको साम्राज्यबाट आएका विदुषीहरुलाई मन परेन । त्यसपछि गुमेको आफ्नो राज्य मातृसत्ताको पुनप्र्राप्तिका लागि भनेर काली देवीले पुरुष देवताहरुलाई संहार गरी सिध्याउन खड्क उठाइन् । यो बेलामा धेरै पुरुष देवताहरु मरिएका थिए । भागाभाग गरेर महादेवको शरण पर्न कैलाशमा पुगेपछि महादेव काली देवी आउने बाटोमा विष, भाङ र धतुरो खाएर लट्ठपरी लम्पसार सुतेका थिए रे । देवीको दुवै पाउ महादेवको शरीर माथि पर्न गएपछि उनी भावावेशबाट होशमा आई क्षमा मागी महादेवसँग कैलाशतिर लगेकी थिइन् रे । त्यसको ठीक नौ वर्षपछि महिला देवता र पुरुष देवताबीचमा त्यही नौबहिनी अर्थात् कोठी लेकमा नै आएर मैत्रीसम्झौता गरिएको जनबोली रहेको छ । भनिन्छ नौबहिनीमा आउंदा ब्रह्माको साम्राज्यबाट आउने महिला विदुषीहरुको अन्तिम थकाइ मार्ने बेस शेल्टर धर्मावतीमा थियो । वर्तमान झिमरुक नदीलाई त्यतिबेला धर्मावती भनेर पुकारिन्थ्यो । धर्मावती भनेर पुराणहरुमा उल्लेख गरेको पनि पाइन्छ ।
हजारौं वर्षपछि आएर पनि नौबहिनीमा अहिले विभिन्न आकृतिहरु, खेतबारीका निशानाहरु, शायद वस्तीका अवशेषहरु देख्न पाइन्छ । अध्ययन वा उत्खनन्को प्रयास गरेमा थप तथ्यहरु उजागर हुनसक्ने विज्ञहरुको राय रहेको छ । तथापि भिरालो जमिन भएकाले कतिपय कुराहरु, अवशेषहरु र निशानीहरु पहिरोले बगाएर लगेको वा नष्ट गरेको पनि हुन सक्ने अनुमान गरिएको छ । तथापि नौ बहिनी धर्मिक हिसाबले पुण्य थलो, प्राकृतिक हिसाबले अद्वितीय रमणीय र पुरातात्विक हिसाबले ऐतिहासिक रहेकोमा कसैमा दुविधा छैन ।