वर्गमा विभाजित समाज हुने खाने र गरिखानेमा राज्यको प्रभावकारी निकाय संसद उपल्लो वर्गको हातमा रहेको छ । निम्न वर्गले प्रतिनिधित्व गर्ने मौका पाउँदैन । जसले धन, शक्ति प्रयोग गर्न सक्दैन, उसको अस्तित्व हुँदैन । यो अकाट्य नियम हो । नेपालमा संसदीय व्यवस्था प्रारम्भ भएको धेरै भएको छैन । सामन्तवाद राजनीतिक ढंगले मात्र समाप्त भएको हो । आर्थिक रुपले यथावत छ । यो सत्य नै हो । सामन्तवाद पछि पुँजीवाद आउँछ ।
अहिले पुँजीवादी संसदले काम गरिरहेको छ । राष्ट्रिय पुँजीपति वर्गले टाउको उठाउन पाएको छैन । दलाल तथा नोकरशाही पुँजीपतिवर्गको पकड छ । यसको मतलव अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद । पुँजीवादी लोकतन्त्रका स्थापनामा नेपाली कांग्रेस नै प्रथम हो । यसले आस्थाको केन्द्र ती बाह्य शक्ति हुन् । आजसम्मको व्यवहारले त्यस्तै देखाएको छ । अव त लगभग सँगसँगै जन्मेको कम्युनिस्ट पार्टी जसले संवैधानिक राजतन्त्र हुँदै गणतन्त्रसम्म पुगेपछि एउटा ठूलो हिस्साले आफ्नो लक्ष्य पूरा भएको सम्झेर संसदीय व्यवस्थाबाट पनि नयाँ जनवादको खुड्किलो पार गरेर वैज्ञानिक समाजवाद प्राप्त गर्न सकिने दृढ निश्चय गरी त्यतैतिर कम्मर कसेर लागेको छ । गणतन्त्रपछि भएका निर्वाचनले बनाएको संसदमा कसैले समाजवादी कार्यक्रमको सम्बन्धमा एक शब्द बोलेन । एउटा कानुन निर्माण गरिएन । विदेशी शक्तिले यो दृश्य हेरिरहेको थियो । इन्डोप्यासिफीक रिजनमा अमेरिकी साम्राज्यवाद आफ्नो बलियो उपस्थिति बनाउन जोडतोडले लागेको छ । चीनको दिनप्रतिदिन बढ्दो शक्ति कमजोर गराउनु यसको मुख्य उद्देश्य हो । यता सार्क क्षेत्रको शक्तिशाली देश भारत पनि चीनको उदयमान शक्ति देख्न कहाँ चाहन्छ ? त्यसैले यी दुई भाईको मेलमिलापमा नेपालका प्रतिक्रियावादीलाई शक्तिमा पुराउन आफ्नो अनुकूल बनाउन फागुन २१ गतेको निर्वाचन गरिएको हो ।
नेपालमा ३ राजनीतिक शक्ति छन् । प्रतिगामी, यथास्थितिवादी र क्रान्तिकारी । पहिलो र दोस्रो शक्तिसँग बाह्य शक्तिको गठनबन्धन भैरहन्छ । तेस्रो शक्ति यिनीहरुसँग धेरै टाढा छ । २ मध्ये कसैलाई टाढाको देख्दैनन्–दुवैलाई प्रयोग गर्छन् । तैपनि यिनीहरुको मुख्य आज्ञापालक अहिलेसम्म भेटाउन सकेका थिएनन् । नेपालको हितसँग उनीहरुको कुनै चासो हुँदैन । नेपालमा रास्वपा नामको नयाँ पार्टी खुलेको छ । यो नै अमेरिकी साम्राज्यवादको भरपर्दो विश्वासिलो मित्र हुनेछ । यसमा कुनै शंका छैन । नेपालको परराष्ट्र नीति असंलग्न,स्वतन्त्र हुने कुरा हरायो– अमेरिकीमुखी हुने भयो । यिनी सबै चाल भित्रभित्र चलिरहेकै थिए ।
२०८२ भदौं २३,२४ गतेको घटनाको कारकतत्व पनि त्यसैलाई पूरा गर्नु थियो, चुनावद्वारा पूरा गरियो अव वैधानिकता प्राप्त गर्न कुनै कठिनाई भएन । धर्मनिरपेक्षताको सट्टा हिन्दु राष्ट्र बनाउन पनि सकियो, दबाब पर्न गए गणतन्त्र फालेर संवैधानिक राजतन्त्रमा रुपान्तरण गर्न के बेर ? स्वतन्त्रता, स्वाभिमान, गणतन्त्रमा गुमेको जस्तो थियो । केही प्रतिपक्षका पार्टीहरु र जनताले जिमीतिमी धानेका थिए, तर अव त त्यो पनि शून्य बराबर भएको जस्तो छ । गत भाद्र २३,२४ अगाडि मनपरी शासन संचालन गर्ने विरुद्ध केही पार्टी र सचेत जनताले विरोध गर्ने गर्थे, त्यो पनि गुम्ला जस्तो छ । ०७२ को संविधानले कमसेकम कुरा गर्न दिन्थ्यो – संविधानमा समाजवाद उन्मुख भन्ने धारा उल्लेख गरेको थियो । त्यो पनि दुइ अहिले प्राप्त तिहाइले खाला जस्तो छ । राजा महेन्द्रको ०१७ सालको प्रतिगामी कदमले जनतालाई आन्दोलन युद्धमा उतारेको थियो, संघर्षको वातावरण जताकतै थियो । त्यही आन्दोलन संघर्षले निरन्तरता पाउने धेरै सम्भावना बढेको छ । बाटो छोडेका भू.पू. कम्युनिस्टहरु फागुन २१ को निर्वाचनमा ठूलै भाग पाउने फेरि सत्तामा पुग्ने आशा गरेका थिए– तिनीहरु साम्राज्यवादी विस्तारवादी चाल, गतिविधि राष्ट्रको निम्ति हानिकारक हुनेमा कुनै शंका फिक्री लिंदैनथे । नतिजा प्रकाशन पछि लोपोखाइ मागेर बसेका छन्, निराश छन् । कसकसैले त दुई तिहाई तिर लाग्ने आटेका छन् । किनकि आफूले गरेको अपराधपूर्ण कार्य ढाकछोप हुन सक्ने उ जनको आशा छ । त्यस्ताको आशा निराशामा बदलिंदैन पूरा हुन्छ ।सामन्तवादी, पुँजीवादी व्यवस्थामा गरिने व्यवहार यस्तै हुन्छ । रविलाई जेल हालियो । थुप्रै जरिमाना तिर्न प¥यो, करोड भन्दा बढी उनले नागरिकता जस्तो मामिलामा त नेपाल सरकारलाई टेरेनन् । उनले गठबन्धनलाई टेरिदिएको भए सबै सामसुम हुन्थ्यो । टेरेनन्, उनको प्रवृत्ति नेपालको भन्दा पृथक रह्यो ।
जेनजी लोकप्रिय नाम राखी स्कूल, कलेजका छात्र, छात्राहरुलाई उक्साई अगाडि सारेर मार्न लगाउने समूह मानेका निम्ति गोली ठोक्न आदेश दिने गठबन्धन सरकार समान रुपले दोषी छन् । विभिन्न निर्देशित मान्छेका घर, ऐतिहासिक भवन, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान जलाउने जेनजीका युवा हैनन् । यी सब छुट्टै फाँटबाट खटिएर आएका व्यक्तिहरुको झुण्ड हो । यदि ती बहुमत जनताका निम्ति आन्दोलनमा गएका हुन्थे भने लुटपाट गरेको, खोसेको धन सम्पत्ति जनताको प्रयोगको निम्ति राज्यकोे ढुकुटीमा जम्मा गरिदिनुपथ्यो । जेनजी आन्दोलनमा राखिएका मागहरुको निम्ति संघर्ष जारी राख्नु पथ्र्यो, खै ? सुशीला कार्कीलाई सत्तामा पु¥याएपछि चुपचाप अरु सबै काम तिनैले गरिन । संसद विघटन गरिन, चुनावको मिति घोषणा गरिन् ।
चुनाव पनि सम्पन्न भयो, नतिजा आइसक्यो । रास्वपाले दुई तिहाई सदस्य संख्या सदनमा पु¥याउने भयो । धन र दमन प्रयोग गरेर संसद कब्जा गरेका, अल्पमतको सेवाको निम्ति शासन संचालन गरेका पुँजीवादी पार्टीहरु र नामधारी कम्युनिस्टहरु अहिले हिस्स बुढी किस्स दाँतको अवस्थामा पुगेका छन् । भाद्र २३, २४ भन्दा पहिलेका संसदीय पार्टीहरुले यो सबै परिपञ्च मिलाउन बाह्य, भित्री कुन शक्तिको मुख्य हात छ– बुझ्न सकेनन्, बुझ्न चाहेनन् । बाह्य शक्ति अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद आपूmहरुसँग नै सन्तुष्ट रहेको दावी गर्ने गरेका थिए । तर यी २ प्रभु यिनीसँग त्यति सन्तुष्ट रहेनछन् । तीन चार वर्षदेखि खेल खेलिरहेछ, भाद्रको घटनाले सावित गरिदियो । सत्तामा अति भरपर्दो अति विश्वासिलो समूह आउने भयो । यी २भाई ढुक्क छन् ।
फागुनको २१ गते सम्पन्न निर्वाचनको परिणाम यस्तो आश्चर्य लाग्दो छ–विश्वमा कहीं कतै देख्न सुन्न पाइएको छैन । बेलायतको औपनिवेशिक शासनबाट अमेरिकालाई मुक्त गर्ने मुक्तिदाता भारतका मुक्तिदाता गान्धी नेहरु शाह, राणा वंशबाट आन्तरिक स्वतन्त्रता दिलाउने नेपालका नेताहरु यस्तो जनमत प्राप्त गर्न सकेका थिएनन् । जति तीन चार वर्ष अगाडिसम्म राजनीति क्षेत्रमा अपरिचित व्यक्तिहरुको समूहले प्राप्त ग¥यो । यस मानेमा आश्चर्य लाग्दो भन्न परेको हो । कैयौं दशकसम्म लोकतन्त्र र गणतन्त्र अझ अगाडि जनगणतन्त्रका प्राप्तिको निम्ति दुःख कष्ट जेलनेल निर्वासित जीवन भोगेका सहिद हुनु परेकाहरुको कुनै मूल्यांकन छैन । यस्तो अवस्था पैदा गर्न गणतन्त्र प्राप्त पछि सत्तामा बसेका पुँजीवादी पार्टी र नक्कली कम्युनिस्टहरुले सामन्तवादी शासनको नीतिलाई अनुकरण गर्नाले हो । मन परिचतन्त्र, तानाशाही शासन पद्धति, घुसखोरी, भ्रष्टाचार त्याग्न नसक्नु बरु बढावा दिनाले हो । त्यसैले यो नयाँ पार्टी (रास्वपा) र राजावादीले गणतन्त्रवादी पार्टीहरुका कमी कमजोरी जनताका अगाडि देखाइ दिने मौका पाएका हुन, नत्र जनहितकारी काम गर्ने कहाँ हुन र ? यिनका घोषणापत्र, कार्यक्रम आजसम्मको व्यवहारले देखाइई सकेको छ। बाह्य शक्ति अमेरिका भारत, मित्र शक्ति रास्वपा, भू.पू. राजावादी खलकको बलियो गठबन्धन हुँदै गैराखेको छ । जति निश्पक्षता, स्वतन्त्रता, समानताको गफ गरे पनि त्यो अभिनय मात्र हुनेछ, केही समयपछि नेपालीले प्रशस्त थाहा पाउने छन् । राजा महेन्द्रले ०१७ सालपछि गरेको दमन र यिनले गर्ने दमनमा केही फरक पर्ने छैन । यो चुनाव जितेको हैन–जिताइएको हो । व्यवस्था बदली नयाँ व्यवस्थाको लागि लड्ने कम्युनिस्टहरुले गम्भीर भै सोच्न पर्छ । समाजवाद साम्यवाद लक्ष्य राख्नेहरु धनले किन्ने, शक्ति, प्रयोग गरेर जनमत कब्जा गर्ने निर्वाचन पद्धतिलाई जनताको लोकतन्त्र सम्झेर बस्न हुँदैन । जागरुक हुनुपर्छ ।






























