नेपालमा निर्वाचनको ऐतिहासिक पृष्ठभूमि र फागुन २१को संसदीय निर्वाचन

नेपालमा निर्वाचनको ऐतिहासिक पृष्ठभूमि र फागुन २१को संसदीय निर्वाचन

नरेन्द्रबहादुर थापा

साधारण अर्थमा भन्नुपर्दा निर्वाचन भनेको जनताले आफ्नो प्रतिनिधि छनोट गर्ने एउटा लोकतान्त्रिक प्रक्रिया हो। यसलाई राज्य सञ्चालन गर्नका लागि उपयुक्त पात्र वा समूहलाई छनोट गर्ने विधिका रुपमा लिइन्छ । अर्थात् निर्वाचन शब्दले छनौट गर्ने प्रक्रियालाई जनाउँछ । लोकतन्त्रमा नागरिकहरूले मतदान मार्फत आफूलाई मनपर्ने व्यक्ति वा राजनीतिक दललाई रोजेर आफ्नो प्रतिनिधिको रुपमा काम गर्न अधिकार सुम्पिने प्रक्रिया नै निर्वाचन हो। यो प्रक्रिया जनताको सहमति, लोकतान्त्रिक आधार र कानुनी प्रक्रियाका आधारमा प्रारम्भ भई सम्पन्न हुने गर्दछ ।

नेपालमा निर्वाचनको इतिहास राणा शासनको अन्त्यतिर सुरुभई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ। प्रारम्भिक चरणमा प्रथम स्थानीय निर्वाचन राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय हुँदा राणा प्रधानमन्त्री पद्मशेरको पालामा २००४ सालमा काठमाडौँ म्युनिसिपालिटीको चुनावबाट सुरु भएको थियो । २००७ सालको परिवर्तन र प्रजातन्त्रको उदयपछि पहिलो संसदीय निर्वाचन भने २०१५ सालमा भयो । विसं २०१७ सालदेखि २०४६ सालसम्म निर्दलीय पञ्चायती ब्यवस्था अन्तर्गतका निर्वाचनहरू भए। २०३७ सालमा निर्दलीय वा बहुदलीय व्यवस्था रोज्नको लगि जनमत संग्रहको नाममा निर्वाचन भयो।

२०४६ सालको जनआन्दोलनपछि ४८ देखि ५४ सम्म २वटा आम निर्वाचन र एउटा स्थानीय निर्वाचन गरी जम्मा तीनवटा निर्वाचनहरु भए। दोस्रो जनआन्दोलनपछि २०६४ र २०७० मा गरी संविधानसभाका दुईवटा चुनावहरू भए।
२०७० को निर्वाचित संविधानसभाद्वारा नेपालको संविधान २०७२ पारित भएपश्चात २०७४ सालमा पहिलो पटक स्थानीय र संसदीय निर्वाचनहरू भए । २०७९ मा दोस्रो पटक स्थानीय र संसदीय निर्वाचनहरू भए। पाँच वर्षमको अन्तरालमा २०८४ मा हुनुपर्ने निर्वाचन अहिले विशेष परिस्थितिको कारण बनाएर तीनै वर्षमा २०८२ मा नै भएको छ। यहाँ प्रश्न उठ्न सक्छ कि तीनै वर्षमा मध्यावधि चुनाव हुनुपर्ने आवश्यकता र कारण के थियो ? विगतका निर्वाचनहरुबाट गठित कुनै पनि सरकारले देशमा सुशासन दिन सकेनन् । बरु देशमा सरकारी संरक्षणमा मौलाउँंदै गएको हत्या, हिंसा, शोषण, दमन,अन्याय ,अत्याचार ,भ्रष्टाचार ,बलात्कार , मानव तस्करी,सुन तस्करी, घुसखोरी , राष्ट्रघात र जनघात जस्ता अनेकौं विकृति र बिसंगतिका कारण देश आक्रान्त बन्यो । यिनै विकृति र विसंगतिका विरुद्धमा यस अवधिमा देशमा थुप्रै आन्दोलनहरू भए । जनताका कुनै पनि आन्दोलनलाई कुनै पनि सरकारले संबोधन नगरेर पूर्णरूपमा दवाउने वा बेवास्ता गर्ने चेष्टा गरे ।
केही महिना पहिले २०८२ साल असार ५ गतेदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा भ्रष्टाचार विरोधी आन्दोलन चलिरहेको थियोे । ठिक त्यही अवधीमा देशमा चलिरहेको आन्दोलनको समर्थनमा गत भदौ २३ गते जेन्जी आन्दोलनको नाममा जेन्जी युवाहरद्वारा भएको शान्तिपूर्ण आन्दोलनमा तत्कालीन ओली नेतृत्वको भ्रष्ट र दलाल सरकारद्वारा गरिएको नरसंहारबाट ७६ जना होनहार युवाहरूको हत्या भयो। हजारौं आन्दोलनकारी घाइते भएका छन् भने सयकडौँ अपाङ्ग बनेका छन् । सोही क्रममा तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त भयो । २४ गते त्यसको प्रतिरोध स्वरूप संसद भवन,सिंहदरबार , सर्बोच्च अदालत,प्रहरी परिसर,कारागार लगायत कैयौं सरकारी कार्यालय र निजि संरचनाहरु आन्दोलनकारीद्वारा आगजनी र तोडफोड गरी ध्वस्त भए।अरबौंको क्षति भयो । यस अघि काठमाडौ महानगरका तत्कालीन मेयर बालेन्द्र शाहले उनकी श्रीमति चढेको गाडी ट्राफिकले रोक्दा उनले ९बालेनले० सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए । वास्तवमा २४ गते बालेनले भनेको सिंहदरबार मात्र नभएर माथि उल्लेखित संरचना ध्वस्त भए ।
अब जेन्जी आन्दोलनका माग पूरा गर्ने बहानामा नेपाली जनताको सहमतिबिना अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तावादको सहमतिमा आन्दोलन अपहरण गरी सुशिला कार्की नेतृत्वको असंवैधानिक दलाल कठपुतली अन्तरिम सरकार गठन भयो। विद्यमान संसद असंवैधानिक ढंगले विघटन गरियो । यिनै कारणहरूले गर्दा निर्वाचनको आवश्यकता भएको बताउँछन् यो निर्वाचनका पक्षधरहरू। फागुन २१ को लागि निर्वाचनको मिति तोकियो । यद्यपि यो निर्वाचनको आवस्यकता थिएन र जेन्जी आन्दोलनको माग पनि निर्वाचन थिएन । आन्दोलनको माग थियो प्रतिबन्धित सामाजिक सञ्जाल फुकुवा र सुशासनको साथै देशमा चलिरहेको आन्दोलनलाई समर्थन गर्दै भ्रष्टाचारको अन्त्य गर्नु ।आखिर निर्वाचनपछि प्रष्ट भयो कि रास्वपाकै निम्ति नै अमेरिकाको निर्देशनमा आन्दोलनको अपहरण गरी जेन्जी सरकारको नाममा दलाल कठपुतली शुशिला सरकार बनेको थियो । रास्वपा अव जेलेन्स्की पथमा हिंड्दैछ। युक्रेनमा एकजना जेलेन्स्की थियोे भने यहाँ तीन जेलेन्स्की तयार गर्दैछ अमेरिकी साम्राज्यवादले ।

आन्दोलनका मागहरू पूरा गर्नको लागि जेलेन्स्की तयार गर्नुपर्ने थिएन । राज्यको अवस्था परिवर्तन गर्नुपर्ने आवस्यकता थियोे । विद्यमान ब्यवस्थामा आन्दोलनले चाहेको अवस्था परिवर्तनको लागि व्यवस्था नै परिवर्तन गर्नुपर्दथ्यो । ब्यवस्था परिवर्तनको लागि अन्तरिम सरकार आन्दोलनकारी सहित राष्ट्रिय सहमतिको आधारमा गठन गर्नु पर्दथ्यो । किनकि विद्यमान भ्रष्ट दलाल संसदीय ब्यवस्था असफल सिद्ध भइसकेको कुरा बिगतका दिनबाट पुष्टि भैसकेको छ। अब यो ब्यवस्थाबाट देशको विद्यमान अवस्थामा कुनै सुधार ल्याउन सकिंदैन । तर विगतका जस्तै बिकृती र बिसंगती कायम राख्न असफल भइसकेको विद्यमान दलाल संसदीय व्यवस्थालाई देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको साँठगाँठ र षड्यन्त्रबाट संरक्षण गरी केही समयका लागिअझै टिकाइराख्ने नेपाललाई युक्रेन सिक्किम बनाउने प्रयत्नस्वरूप नै यो निर्वाचनको घोषणा भएको हो। त्यति मात्र होइन । पुरानो सत्ता संचालन गरेका विदेशी दलालहरुद्वारा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले चाहेका सबै काम हुन नसक्ने भएका कारण जेलेन्स्कीको रूपमा नयाँ दलालहरु सत्तामा ल्याउन उनिहरुद्वारा गरिएको प्रायोजित निर्वाचनको नाटक मंचन थियो यो। जेन्जी आन्दोलनका नाममा बिद्रोह गर्न प्रेरित गरी सरकार परिवर्तन गराइ निर्वाचन गराउनु , बालेन र रवि जस्ता पात्रहरू खडा गरी वर्षौंदेखि पूर्वअभ्यास गरेको कुरा रहस्यमय बनाउनु, ठूला भनिएका सञ्चार गृह कब्जा गरी अल्गोरिदम प्रणालीबाट जनमत तयार गर्नु , रास्वपाका उम्मेदवार र अन्य पार्टीका उम्मेदवार बीच हेरफेर गरीआकाश पातालको मतान्तर गराउनु, पैसाको खोलो बगाएर राज्य सत्ताका संपूर्ण अङ्गहरू खरिद गर्नु, निर्वाचनको नतिजा घोषणा नहुँदै अमेरिकाले नयाँ सरकारसँग सुरक्षा सहकार्य गर्ने भनी वक्तव्य दिनु, पूर्व सरकारद्वारा एसपीपी स्वीकृत नभएको स्थितिमा स्वीकृत गराउने तयारीमा रहनु जस्ता कुराहरूबाट स्पष्ट छ कि यो निर्वाचन माथि उल्लेखित लक्ष हासिल गर्न उनीहरुद्वारा नै प्रायोजित हो। निर्वाचन घोषणा भएपश्चात देशमा विभिन्न शक्तिहरूबाट विभिन्न क्रिया प्रतिक्रियाहरू आए। देशमा रहेका विभिन्न दलहरु, नागरिक समाज र बुद्धिजीवीहरूले अलग(अलग प्रतिक्रियाहरु दिए । आएका प्रतिक्रियाका आधारमा ती शक्तिहरुलाई तीन कित्तामा विभाजन गर्न सकिन्छ ।

१.अग्रगामी २.यथास्थितिवादी र ३. प्रतिगामी शक्ति
१. अग्रगामी शक्ति भनेका गैर संसदवादी शक्तिहरू लगायत संसद बाहिर रहेका क्रान्तिकारी कम्युनिष्टहरू हुन् । अग्रगामी शक्तिको रूपमा रहेका शक्तिहरुले यो निर्वाचनलाई स्वीकार गरेनन् । यो शक्तिको प्रतिक्रिया थियो, यो निर्वाचनले समस्याको समाधान गर्दैन । यसको विकल्प थियो देशभक्त, वामपन्थी र जनवादी क्रान्तिकारी लगायत संपूर्ण राष्ट्रवादी शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी त्यसबाट स्वाधीन संयुक्त सरकारको गठन र अन्तरिम शासन विधान निर्माण गरी वर्तमान राज्यसत्ता संचालन गर्दै जनसंविधान निर्माणको बाटो अघि बढ्ने । यसो नभएको कारण यो शक्तिले यो निर्वाचन बहिष्कार गरेको थियो। निर्वाचन निश्पक्ष र धाँधलीरहित हुनुको सट्टा पक्षपातपूर्ण र धाँधली सहितको भयो। किनकि ४ करोड मतपत्र छपाइएको थियोे । कुल १ करोड ९९ लाख ७७ हजार ७११ मतदाता भएकोमा त्यसको करीब ६० प्रतिशत मत खस्दा बाँकी मतपत्रको हिसाब छैन । मतपेटिका दलका प्रतिनिधिबिना सेनाले मात्र उठाएर लग्यो ।यसले २०३७ सालमा भएको जनमत संग्रहको याद गरायो । यद्यपि इतिहासमा सबैभन्दा कम मत खस्यो । ६ वटा मतदान केन्द्रमा नील मतदान भयो । जसले गर्दा बहिष्कारको औचित्य पुष्टि भएको छ ।

२. अर्को यथास्थितिवादी शक्ति भनेको नेपाली कांग्रेस, एमाले, माओवादी लगायत कम्युनिस्टको खोल ओडेका विभिन्न खाले सबै दक्षिणपन्थी अवसरवादी शक्तिहरू हुन् , जसले विगतदेखि सत्ताको रस खान पल्केका थिए। ती शक्तिहरूले पुनः सत्तामा गएर पहिले जस्तै भ्रस्टाचार गरी ब्रह्मलुट गर्ने सपना देखेका थिए । त्यसकारण उनीहरु निर्वाचनमा बिनाशर्त सहभागी भए।

३. तेस्रो शक्ति भनेको प्रतिगामी शक्ति हो । जसले समाप्त भइसकेको राजतन्त्र फिर्ता गर्न चाहन्छ । जुन कुरा असंभव थियोे । उसले निर्वाचनलाई कडाईका साथ विरोध गर्न सकेन। अन्ततः यही निर्वाचनमा निस्शर्तभाग लियो । यसरी विभिन्न दर्शन, सिद्धान्त, नीति र कार्यक्रम भएका राजनीतिक सरोकारवाला शक्तिहरुका आवाजहरुलाई कुल्चेर जबर्जस्ती निर्वाचन लादिएको थियो ।कठपुतली सरकारले उनीहरुसंग राष्ट्रिय सहमति गर्ने कुनै चेष्टा गरेन।

माथि उल्लेखित विचारहरू मध्येबाट सहमति गर्न खोजेको भए पहिलो अग्रगामी विचार नै सही ठहरिने थियो ।त्यसैमा सहमति भएर स्वाधीन संयुक्त सरकार गठन भएर देशअघि बढ्ने थियो । किनकि यथास्थितिवादी शक्तिले अझै टिकाई राख्न चाहेको व्यवस्था असफल भइसकेको छ र उनीहरूले सुशासन दिन नसकेको हुनाले देशमा अहिलेको अवस्था सिर्जना भएको हो।अर्को राजतन्त्र पुनर्स्थापना गर्ने विचार पनि सही होइन। किनभने राजतन्त्र पनि २४० वर्षको शासनकालपछि असफल भएर नै समाप्त भएको हो ।

त्यसकारण सिधै भन्न सकिन्छ कि यो निर्वाचन नेपाल र नेपाली जनताको लागि होइन । नेपालीहरुको लागि भएको भए आन्दोलनकारी लगायत नेपाली जनतासँग राष्ट्रिय सहमति गरेर नै देशको माग र आवस्यकता अनुसारको निर्वाचन हुने थियो। त्यो हुन सकेन। त्यसो भएको हुनाले यो निर्वाचन केका लागि र कसका लागि भन्ने कुरामा प्रश्न उठ्नु स्वभाविक नै हो।
त्यसैले यो निर्वाचन कसका लागि र केका लागि भन्ने प्रश्नमाथि विचार गर्दा यो निर्वाचन नेपाली जनताको लागि नभएर नेपालका विदेशी दलाल र तिनीहरुका विदेशी मालिकहरूको स्वार्थ सिद्धिका लागि नै भएको छ।

अब प्रश्न उठ्छ विदेशी दलाल भनेका को को हुन् ? विदेशी दलाल भनेका दलाल संसदीय व्यवस्थामा सरकारमा बसेका प्रायस् सबै दलाल हुन्। किनभने यिनीहरु सरकारमा गएर आफ्नो ब्यक्तिगत फाइदाका लागि गर्छन् ।नेपाली जनताको काम गर्ने भन्दा विदेशीहरूको कठपुतली सरकारको रूपमा रहेर उनीहरुकै निर्देशनमा उनीहरूकै चाहना अनुसार उनीहरूकै लागि काम गर्दछन्। दोस्रो कुरा विदेशी एनजीओ , आईएनजीओका संचालक,सदस्य र कार्यकर्ता सबै विदेशीका दलालहरु हुन् । जस्तै अमेरिकन युथ काउन्सिल, बारबारा फाउन्डेसन, समता फाउन्डेसन, हामी नेपाल जस्ता थुप्रै संस्थाहरूका सञ्चालक, सदस्य तथा कार्यकर्ताहरू सबै विदेशीका दलालहरू हुन्। त्यस्तै भारतीय एनजिओ र आइएनजिओका संस्थाहरुका सञ्चालक, सदस्यहरू र कार्यकर्ताहरू पनि सबै उसका दलालहरू नै हुन्।

पहिलेदेखि विदेशीहरूले नेपालका सरकारद्वारा आफ्नो काम गराउँदै आएका छन् । संयुक्त राज्य अमेरिकाले नेपालको संसदबाट एमसीसी पारित गराउने बेलासम्म नेपालका सरकारद्वारा आफ्ना काम गराउने गर्दथ्यो। उनीहरूले एसपीपी पारित नगरेपछि उसले एसपीपी पारित गर्नको लागि उनीहरूभन्दा अझ भरपर्दा दलालहरूलाई अगाडि सारेको छ। अहिले उसका भरपर्दा दलालहरू रास्वपाका रवि लामिछाने र बालेन्द्र शाह ९बालेन०जस्ता व्यक्तिहरु भएका छन् । शुशिला कार्की नेतृत्वको कठपुतली सरकार पनि उसको भरपर्दो दलाल नै हो । त्यस्तै भारतीय सरकारी र गैरसरकारी संस्थाहरु पनि छन् । ती संस्थाहरूद्वारा पालिएका नेपालका भारतीय दलालहरु पनि सत्तामा गएर जनताको सेवा गर्ने होईन कि उनिहरुकै मालिकको सेवा गर्दछ्न ।

अहिले फागुन २१ गतेको संसदीय निर्वाचन अमेरिका र भारतको सहमति,सक्रियता र स्वार्थमा भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर २५ जनउदय मावि भैंसेपाटीको मतदान केन्द्रमा अमेरिकी  राजदूतावासको कर्मचारीले  निर्वाचनको उद्घाटन गरेको समाचार भाइरल भएको थियो । यो चुनाव नेपाली जनताको लागि कि अमेरिकाको लागि भन्ने कुरो यहाँबाट प्रष्ट हुन्छ। एउटाअमेरिकाको स्वार्थ एसपीपी पारित गर्ने कुरा छ भने त्यस्तै भारतको पनि सीमा सम्बन्धि र अरु पनि कुनै न कुनै स्वार्थ छ । पछि खुल्दै जानेछ ।

नेपालको दलाल संसदीय व्यवस्थामा सधै ती विदेशीहरूका कठपुतली सरकारहरूले काम गर्ने गरेका छन् । अहिले पनि तिनीहरुको स्वार्थ पूर्तिका लागि कुनै राजनीतिक अनुभव , दर्शन,सिद्धान्त नीति र कार्यक्रम नभएका दलद्वारा आन्दोलन अपहरण गराइयो । पुराना दलका सरकारहरूलाई सत्ताच्युत गरी त्यही नयाँ दलाल दललाई अत्यधिक बहुमत दिलाएर निर्वाचनमा विजयी घोषणा गरिएको छ , जसले गर्दा ती विदेशी साम्राज्यवादी , बिस्तारवादी र तिनिहरुका दलालहरु हौसिएर बर्बराउन थालेका छन् । अमेरिकी साम्राज्यवादले नेपालको सुरक्षा संबंधी कार्यमा साझेदारी बन्ने बताएको छ भने भारतीय बिस्तारवादको नाइके नरेन्द्र मोदीले निर्वाचन नहुँदै उनले चाहेको भावी प्रधानमन्त्री बालेनलाई अग्रिम शुभकामना दिए । अहिलेसम्म उनले बिजयी उम्मेदवारलाई बधाई दिने गरेका थिए । तर कसैलाई पनि अग्रिम शुभकामना दिएका थिएनन् । साम्राज्यवाद र विस्तारवादको लागि निर्वाचन जितेर मात्तिएका रास्वपाका सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सांसद खगेन्द्र सुनारले आफुलाई डस्टरले हानेको प्रतिशोधमा ती शिक्षकलाई उत्तानो पारेर पाइतलामा भाटाले हान्ने सम्मका कुरा गरे ।

माथि बताएका कुराहरू साम्राज्यवाद ,बिस्तावाद र तिनका नयाँ दलालहरुका तत्काल भएका एकएक प्रतिनिधि मूलक उदाहरण मात्र हुन । अमेरिकी साम्राज्यवाद,भारतीय बिस्तारवाद र नेपालका तिनीहरुका नयाँ दलालहरुले बोलेका र गरेका यस्ता धेरै कुराहरू छन् ।अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवादले हाम्रो देशको लागि के गर्दैछन् भन्ने कुरा हामीलाई पहिलेदेखि थाहा छ। नेपालका पुराना विदेशी दलालहरुलाई पनि हामीले चिनेकै हो र जानेकै हो। तर तिनिहरुले आफ्ना एन्जिओ र आइएन्जिओद्वारा पालेका नयाँ दलाललाई पनि हामीले जान्नै पर्दछ ।

नयाँ दलालहरु अन्यत्र कहिँबाट आएका होइनन् । हाम्रै देशमा जन्मेर हुर्केका,पुराना दलमा नअटाएका र विभिन्न दलहरूबाट आएर रास्वपा गठन गरेका हुन् । तिनीहरुसँग राजनीतिक अनुभवको कमी छ । नीति , सिद्धान्त र कार्यक्रम छैन । तिनीहरूसँग समान बिचार पनि छैन । प्रत्येकसँग फरकफरक मत छन।उनका मत आपसमा बाझिन्छन ।अब देश त्यस्ता मानिसहरूको जिम्मामा जाँदैछ । निर्वाचन नहुँदै प्रधानमन्त्री को उमेदवारको रूपमा अघि सारिएका रास्वपाका वरिष्ठ नेता बालेनको बारेमा छोटो चर्चा गरौं ।

बालेनको स्वभाव छ कसैलाई नभेट्ने र नटेर्ने, गरिब र गरीखानेको क्रन्दन नसुन्ने, आगोमा घिउ हाल्ने, तर आगो निभाउन अघि नसर्ने, आवश्यक पर्दा सबैको सहयोग लिने,उद्देश्य पूरा भएपछि सहयोगीहरूको साथ छाड्ने, जनप्रतिनिधि भएर पनि जनताका माझ नजाने, प्रश्नहरुबाट भाग्ने, आफूलाई आम मानिसभन्दा बेग्लै भएको जनतामा इम्प्रेसन पार्न आफ्नो कार्यालयमा बेग्लै लिफ्ट राख्ने र लाखौं खर्च गरेर आवास बनाउन लगाउने ब्यक्तिको रूपमा परिचित छन् बालेन समाजमा ।
निर्वाचनपछि फागुन २७ गते उनले एउटा स्टाटस लेखेका छन् : मैले आफ्नो व्यक्तिगत स्वार्थको लागि विदेशीसँग सम्झौता गरें । यो देश एउटा विषम परिस्थितिमा हुँदा एउटा यही देशको माटोले जन्माएको देशभक्त छोराले साथ माग्दा साथ दिन नसक्नु मेरो ठूलो भूल हो। मलाई माफ गरिदिनुहोस्। पुरानो राजनीतिक दलहरूलाई सिध्याउन भने पनि विदेशी शक्तिसँग सम्झौता गर्नुपर्ने मेरो बाध्यतालाई बुझिदिनुहोस् । यो देशमा सधैँ भ्रष्टाचारीहरूको शासन हुनुभन्दा बरु बिदेशीको गुलाम बनेर यो देश विकास भएको म चाहन्छु ।यो भनाइबाट उनको रणनीतिक उद्धेश्य प्रष्ट भएको छ ।

उनले लेखेका यस्ता स्टाटसहरू धेरै छन्। ती सबै उद्धृत गर्न अहिले सम्भव हुँदैन। यद्यपि उनको एउटा अर्को स्टाटस हेरौँ। हामीले देश बनाउँछु भनेर देश बन्दैन ।अनि वास्तविकता यही हो। हामीसँग स्रोत, साधन ,पूँजी छैन । त्यसैले यो देश अमेरिकालाई केही समयका लागि लिचमा दियौं भने सम्पन्न र शक्तिशाली देश बन्छ नेपाल । हामीले फेरि अमेरिका गइराख्नु, भिसा लगाईराख्नु पर्दैन । त्यसैले अमेरिकालाई देश चलाउन दिनुपर्छ । ढुङ्गा बोकेर देश चलाउँछु भन्नु गधाको बच्चा बुर्चोदी मात्र हो।ू यस्तो मनसाय भएका बालेन प्रधानमन्त्री भएपछि देश कता लैजादैछन् भन्ने कुरा प्रष्ट छ। यो भनाइ फेक थियोे भने उनले त्यसको खण्डन गर्नु पर्दथ्यो । यतिमात्र होईन,चितवन क्षेत्र नं=२ बाट निर्वाचित रास्वपा सभापति माननीय सांसद रबि लामिछानेलाई थुप्रै मुद्दा लागेका छन् । उनी विरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण संबंधी कसुरमा मुद्दा लागेको छ । उनको मुद्दा कहिले किनारा लाग्नेहो ,मुद्दा किनारा नलाग्दासम्म सपथ लिएर सांसदको भुमिकामा सहभागी हुन पाउने कि नपाउने कुरा त कानुनको हातमा रह्यो । रास्वपाका चर्चित नेता प्रायः यस्तै केहिनकेही गरेर चर्चामा आएका हुन् । अझै तिनीहरुका आन्तरिक योजना के–के छन् । हेर्न बाँकी छ । केही दिन मै प्रष्टरूपमा देखिनेछ ।

हाल २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली जनताको हार भएको छ भने अमेरिकी साम्राज्यवादले जितेको छ। यो साम्राज्यवादीद्वारा प्रायोजित निर्वाचनमा भाग लिनु नै हार हुनु हो।यो पहिले नै थाहा भएको कुरा हो । अहिले विजय हुने जुन प्रतिनिधि छन्, तिनीहरु विजय भएर नेपाल देशको बिजय भएको होइन, यहाँ विजेता अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद हुन् । चुनावमा भाग लिएका दलहरुले हामीले यही कुरा बताएर निर्वाचन बहिष्कार गर्दा उनीहरुले पत्याएनन् । बरु हामीलाई खिसी ट्युरी गरे । तर अहिले उनीहरुलाई हाम्रो भनाइ सही लागेको छ र आफुहरु गलत भएको महसुस गरेका छन् । निर्वाचन जितिन्छ भनेर निर्वाचनमा होमिएका राजनीतिक दलहरूले ूहामीलाई हराउन अमेरिकी साम्राज्यवादको २०७९ सालदेखिको तयारी थियो, हामीले कसरी जितिन्छ रुू भनेर उल्टो प्रश्न गर्दछन् । यो कुरा के उनीहरूलाई थाहा थिएन र रु हामीले पहिले नै भनेका थियौं । तर हामीले भनेको कुरा उनीहरु बताउन र स्वीकार्न चाहँदैनन् ।

अब अन्त्यमा , नेपालका समग्र घटनाक्रमबाट शिक्षा लिएर राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुख मुद्दा बनाएर देशभक्त, बामपन्थी, जनवादी, क्रान्तिकारी शक्तिहरू लगायत सबै राष्ट्रवादी शक्तिहरु मिलेर साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गर्नु आजको अनिवार्य आवश्यकता भएको छ। स्वाधीन संयुक्त सरकार निर्माण गरेर पहिले संसदद्वारा पारित एम् सीसी र संसदमा दर्ता भएको एसपीपी लगायत बिगतका सबै असमान सन्धिहरु खारेज नगरेसम्म र हामी राष्ट्रवादीहरु मिलेर साम्राज्यवाद बिरोधि मोर्चा बनाएर संघर्ष नगरेसम्म देश सिक्किम या युक्रेन बन्ने दिशाबाट अघि बढ्न रोकिने छैन । त्यसैले राष्ट्र, राष्ट्रियता र राष्ट्रियस्वाधीनता बचाउन हामी सबै राष्ट्रवादी नेपाली सजग बनौं ।

मिति ः २०८२ फागुन ३० गते