चितवनमा निर्वाचन विरोधी गतिविधि गर्ने दुई कार्यकर्ता पक्राउ

चितवनमा निर्वाचन विरोधी गतिविधि गर्ने दुई कार्यकर्ता पक्राउ

चितवन । चितवनको भरतपुरमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २ जनालाई प्ररीले पक्राउ गरेको छ । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा बहुमतका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बिहीबार मध्यान्न १२ः०५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय मतदान स्थल बाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा नेकपा बहुमतका चितवन जिल्ला सचिव २९ वर्षीय सुमन श्रेष्ठ र सोही पार्टी निकट विद्यार्थी संगठनका जिल्ला संयोजक २१ वर्षीय किरण गौतम रहेका छन् । धादिङको गल्छी गाउँपालिका वडा नम्बर–१ स्थायी ठेगाना भएका श्रेष्ठ अहिले भरतपुर–७ मा बस्दै आएका थिए । त्यस्तै, गौतम चितवनको कालिका नगरपालिका वडा नम्बर–४ का स्थायी बासिन्दा हुन् ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबीन्द्र खनालले पक्राउ परेका दुवै जनामाथि थप छानबिन र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लंघन गर्नेलाई कडा निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।