काठमाडौं । शान्तिपूर्ण रुपमा गरिएको निर्वाचन बहिस्कार आन्दोलनमाथि व्यापक दमन र धरपकड गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रतिरोधको चेतावनी दिएको छ । सुर्खेतमा पार्टीका तीन केन्द्रीय सदस्यहरुलाई कार्यालयबाटै गिरफ्तार गरेपछि पार्टीका प्रवक्ता सुदर्शनले एक वक्तव्यमार्फत् यस्तो चेतावनी दिनुभएको हो ।
वक्तव्यमा भनिएको छ, “आज सुर्खेतबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क. कर्णबहादुर बी.सी. तथा वैकल्पिक केन्द्रीय सदस्यहरु क. नारायण न्यौपाने र क. रत्न ओली साम्राज्यवादको कठपुतली सुशीला कार्की सरकारद्वारा गिरफ्तार गरिनुभएको छ । निर्वाचनको शान्तिपूर्ण बहिष्कारका कार्यक्रम गर्दा र निजी काममा हिँडिरहेको बेला पार्टीका नेता तथा कार्यकताहरुलाई कायरतापूर्ण ढङ्गले गिरफ्तार गर्नु भनेको मर्नेबेलाको कमिलाले प्वाख निकाल्नु जस्तै हो । जहाँ दमन हुन्छ, त्यहाँ अवश्य पनि प्रतिरोध हुन्छ भन्ने प्राकृतिक तथा सामाजिक नियम साम्राज्यवादी सरकारलाई थाहा नभएको देखियो । यो व्यापक दमन अभियानले निश्चय नै बलियो प्रतिरोध जन्माउँछ भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ ।
हामी अझैपनि गिरफ्तार कमरेडहरुलाई विनाशर्त तुरुन्त रिहागर्न माग गर्दछौं । साम्राज्यवादी मालिकहरुको आड–भरोसामा रहेको सरकारले यदि यही तरीकाले अघि बढ्ने हो जनसमुदायको आक्रोश विष्फोट हुन अनिवार्य छ । प्रहरी हिरासत, कारागार र सैनिक ब्यारेकहरु स्वयम् जनआन्दोलनका गरम विछ्यौनाहरू हुनेछन् । वरिपरि सल्किरहेको खरबारी कसैले पनि निभाउन सक्ने छैन । राष्ट्रिय स्वाधीनतामा लागेको घाऊले देशभक्त, क्रान्तिकारी, जनवादी तथा वामपन्थी पार्टी, व्यक्तित्व र जनसमुदाय आक्रान्त भएका छन्, राज्यसत्ताका मालिकहरुलाई चेतना भया ।”































