(विश्वचर्चित चिनिया सांस्कृतिक क्रन्ति सदैव चर्चा र बहसको विषय बनेको छ । सांस्कृतिक क्रान्तिका बारेमा नेपालमा पनि त्यत्तिकै चासो रहेको छ । सांस्कृतिक क्रान्ति बारेका सामग्रीहरू उपयोगी हुने ठानी अमेरिकी विश्वविख्यात लेखक विलियम हिण्टनको ‘टर्निङ पोइन्ट इन चाइना’ भन्ने पुस्तकको एउटा अध्याय प्रस्तुत गरिएको छ । सन् १९७१ मा चीनमा गरेका यात्रा र भेटघाटका क्रममा प्राप्त जानकारी र अनुभवहरूलाई समेटेर एक अमेरिकी इन्टिच्युटमा दिएको भाषणहरूको सङ्कलन नै हिण्टनको उक्त पुस्तक हो । विभिन्न सात अध्याय रहेको उक्त पुस्तक सांस्कृतिक क्रान्तिको बारेमा जान्न चाहने नेपाली पाठकहरूका लागि उपयोगी देखिन्छ । हिण्टनले आफ्नो पुस्तकमा सांस्कृतिक क्रान्ति उठानको पृष्ठभूमि, उठानको आवश्यकता, गतिविधिहरूको विस्तृत विवरण, परिणाम र अन्य विभिन्न पाटापक्षहरूको अत्यन्त्र राम्रो चित्र पस्तुत गरेका छन् । यहाँ प्रस्तुतको एक अंश ‘माओको समाजवादी मार्गको जीत’ अध्याय उक्त पुस्तकको निष्कर्ष हो जसमा हिण्टनले तिखो, भयंकर र कठीन सङ्घर्षपछि माओको समाजवादी मार्गको जीत भएको निश्कर्ष प्रस्तुत गरेका छन्– सम्पादक)
सांस्कृतिक क्रान्तिको बारेमा निष्कर्षमा के भन्न सकिन्छ त ? पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा त माओ त्से–तुङ, माओ त्से–तुङको सर्वहारा कार्यदिशा र माओ त्से–तुङको सदरमुकामको जीत भइरहेको छ । पुँजीवादी पुनस्र्थापनाको एउटा ठूलो लहर जसले चीनलाई डुबाउन सक्थ्यो र अब हार खाइसकेको छ । चीनले आफ्नो रंग बदलेको त छैन । मजदुरवर्ग अझ पनि सत्तामा छ र चिनियाँ जनता अझै समाजवादी मार्गमा अगाडि बढिरहेका छन् । आउने समयमा उनीहरू चिनियाँ समाजको आर्थिक आधार र त्यसको अधिरचना दुवैलाई रूपान्तरण गर्न प्रयास गर्नेछन् ताकि त्यो मजदुरवर्ग र सारा मेहनतकश जनताको लागि अनुकुल होस् । साथै उनीहरू विश्वभरिका जनताको क्रान्तिकारी शक्तिहरूलाई साम्राज्यवादको विरुद्ध तथा राष्ट्रिय मुक्ति र समाजवादको लागि पे्ररणा र समर्थन दिइरहने छन् ।
यी तथ्यहरूको अर्थ हो विश्व–क्रान्तिको केन्द्र जो कुनैबेला स्पष्ट रूपले सोभियत सङ्घ हुने गर्दथ्यो, अब यो चीनमा सिर्फ स्थानन्तरण मात्रै भएको छैन बल्कि त्यहाँ यो सुदृढ पनि भइरहेको छ । आउने केही समयसम्म विश्व–क्रान्तिको केन्द्र चीन नै बनिरहने सम्भावना छ । दुनियाको कुनै पनि शक्ति र राजनीतिक नेताले यस कुरालाई नजरअन्दाज गर्न सक्दैन । चीनभित्र के हुन्छ र विश्व परिदृश्यका बारेमा चीनले कस्तो कदम उठाउँछ यस कुराले सम्पूर्ण मानवको भविष्यलाई आकार दिंदै जानेछ ।
तर निश्चय पनि, कसैलाई पनि चीनमा वर्गको टकराव र दुई लाइनको सङ्घर्ष समाप्त भएको र मजदुरवर्गको सत्ता अब त्यहाँ सँधैलाई सुरक्षित भएको छ भन्ने भ्रम पाल्नु हुँदैन । सांस्कृतिक क्रान्तिको क्रममा माओ त्से–तुङ र उहाँका समर्थकहरूले जनताको विराट जनआन्दोलनलाई लामबद्ध गरेर पुँजीवादी पुनस्र्थापनाको एउटा ठूलै लहरसँग मुकाविला गरे । अझै अरू त्यस्ता लहरहरू पनि जरुर आउने छन् । यसमा दशकौं वा सम्भवतः एक–दुई शताब्दीहरू लाग्नेछन् कि मजदुरवर्गले कुनै एउटा देशमा समाजवादलाई यति दृढतापूर्वक स्थापित गर्न सकुन जसलाई कसैले कहिल्यै चुनौती दिन नसकोस् । वास्तवमा यो त्यही बेला सम्भव हुन्छ जब पुरै संसारमा समाजवाद स्थापित हुनेछ ।
चीनमा अझै अरू सांस्कृतिक क्रान्तिको अपेक्षा गर्न सकिन्छ । दुनियाका अन्य भागमा पनि जहाँ मजदुरवर्ग सत्तामा आउनेछ र समाजवादको काम शुरु गर्नेछ, कयौं सांस्कृतिक क्रान्तिहरूको अपेक्षा गर्न सकिन्छ । पहिले सोभियत सङ्घको र अब चीनको अनुभवले समाजवादको पुरै कालमा अर्थात पुँजीवाददेखि साम्यवादसम्मको सङ्क्रमणको पूरै कालमा, जुन एउटा लामो ऐतिहासिक लक्ष्य हुन्छ, वर्गसङ्घर्ष समाप्त हुनुको सट्टा अझ तीव्र गतिमा जारी रहन्छ भन्ने कुरालाई स्थापित गरिदिएको छ । यस अनुभवले मजदुरवर्र्ग सशस्त्र सङ्घर्षबिना सत्ता कब्जा सक्दैन भन्ने कुरा सिद्ध गरेको छ । तर पुराना र नयाँ किसिमका पुँजीपति वर्ग, पुँजीवादी उत्पादन–सम्बन्धहरू तथा पुँजीवादी संस्कृति र विचारधारालाई महत्व दिएर र यसप्रकार स्पष्ट रूपबाट समाजवादी देखिने वाला एउटा राज्यभित्रबाट एउटा नयाँ पुँजीवादी शाषकवर्गलाई पैदा गरेर, शान्तिपूर्वक पुनः सत्ता हत्याउन सफल रहेको छ । यी सबै कुराले यस कुरापट्टि सङ्केत गर्दछ कि समाजवादी क्रान्ति आजसम्म अधिकांश क्रान्तिकारीहरूले जति अनुमान लगाएका थिए, त्यसभन्दा धेरै बेसी कठिन र कष्टकारी हुन्छ । सत्ता कब्जा गर्न जुन पुँजीवादी तानाशाहीका अधिनका मजदुरवर्गलाई धेरै ठूलो र कष्टकारी काम लाग्छ, यो क्रान्तिकारी प्रक्रियाको एउटा लामो दौरानको सिर्फ पहिलो कदम हुन्छ र अगाडिको कदमको तुलनामा धेरै सजिलो हुन्छ ।
सम्भवतः यो उन्नत पुँजीवादी समाजको लागि त्यति नै साँचो छ जति अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक समाजको लागि पनि छ कि कुनै पनि समाजको आकारप्रकार दोस्रो किसिमको समाजभन्दा धेरै भिन्न हुन्छ । पुँजीवादी समाजमा त मजदुरवर्गले उत्पादन क्षमताको नियन्त्रण आफ्नो हातमा लिएको हुन्छ । यो ठिक हो कि अमेरिका जस्तो देशमा आम्दानीको समान वितरणको भौतिक समस्यालाई सुल्झाउनु चीनजस्तो देशको तुलनामा जहाँ अभाव नै अर्थव्यवस्थाको प्रमुख पाटो रहन्छ, भलै धेरै सजिलो छ । तर पुँजीवादी विचारधारा जसको अन्य सबै वर्गमा त वर्चश्व हुन्छ, मजदुरवर्गको ठुलै हिस्सामा पनि व्याप्त हुन्छ, जसलाई उन्मुलन गर्न धेरै कठिन हुन्छ । अमेरिकी पुँजीपतिवर्गद्वारा रचिएको अधिरचना जटिल, घुमाउरो, बहुपक्षीय र धेरै तहहरूको छ । मजदुरवर्ग सत्तामा आएपछि पुँजीपतिवर्गले सजिलै आत्मसमर्पण गर्दैन । जब सङ्घर्ष चलिरहन्छ तब उखालिएर फ्याँकिएका पुँजीपतिवर्गमा क्रान्तिको नाममा तोडफोड गर्ने, पथभ्रष्ट गर्ने र पुनस्र्थापनाको कोशिस गर्ने शक्ति धेरै ज्यादा हुन्छ । समाजवादी रूपान्तरणको पूरै दौरानमा दुई लाइनबीच दीर्घकालीन, पेचिलो र तीखो सङ्घर्ष हुन्छ भन्ने कुरालाई मानेर अगाडि बढ्नु पर्दछ । उच्चस्तरको चेतना र उच्चस्तरको अनुशासनद्वारा लैस मजदुरवर्गको एउटा परिपक्क र अनुशाषित पार्टीले नै यस कामलाई सम्भव तुल्याउन सक्छ । यो पनि एउटा शिक्षा हो जसलाई सबै विद्रोही र क्रान्तिकारीहरूले सिक्नु पर्छ ।
अमेरिकी विद्यार्थीहरूका लागि जसमध्ये धेरै विद्यार्थी चीनका युवावर्गमा पछिल्लो केही वर्षको दौरानमा जुन क्रान्तिकारी उभार आएको छ त्यसबाट प्रभावित छन् र यहाँसम्म कि यस्तो कार्वाहीका लागि प्रेरित पनि भएका छन् । सांस्कृतिक क्रान्तिको शिक्षा पूर्णरूपमा स्पष्ट छ विद्यार्थी जगत महत्वपूर्ण क्रान्तिकारी शक्ति हो । आफ्नो समयको राजनीतिक मुद्दालाई प्रायः उनीहरू सबैभन्दा पहिला बुझ्दछन् र व्यवहारमा उनीहरू नै पहिला उतार्छन् । उनीहरू क्रान्तिकारी विचार र सिद्धान्तका सबैभन्दा प्रभावशाली बाहक हुन्छन् र जहाँ कहीँ जान्छन्, राजनीतिको आगो फुक्छन् र अरू मानिसलाई व्यबहारमा उतार्नका लागि पे्ररित गर्दछन् । तथापि एउटा समूहको रूपमा क्रान्तिकारी गतिबिधिहरू शुरु गर्न उनीहरू सक्षम छन् तर क्रान्तिलाई अन्त्यसम्म जारी राख्न उनीहरू सक्षम हुँदैनन् । अथवा पुँजीवादी सत्तालाई उखालेर फ्याँक्ने र समाजलाई रूपान्तरण गर्नमा उनीहरू समर्थ हुँदैनन् । यस कामको लागि मेहनतकश जनताको एउटा ठूलो आन्दोलन जरुरी हुन्छ । विद्यार्थी यदि शोषितहरू र उत्पीडितहरूको एउटा ठूलो हिस्सालाई लामबद्ध गर्नमा सहायक हुँदैनन् भने, आफ्नो राजनीतिक गतिबिधिहरूलाई यस्तै जनसमुदायको राजनीतिक गतिबिधिसँग मिलाउँदैन भने उनीहरू सजिलैसँग दवाइन र तितर–बितर पारिन सक्छन् । यदि कसैले उनीहरूलाई तितर–बितर गर्ने कष्ट नउठाए पनि त्यसको अन्त्य विद्यार्थी आन्दोलनमा निजी प्रतिष्ठा र पदका लागि हुने गुटवाजी सङ्घर्षको रूपमा अन्त्य हुन सक्छ ।
सांस्कृतिक क्रान्तिले यो पनि देखाइदिएको छ कि धेरैजसो विद्यार्थीहरू अति वामपन्थी आन्दोलनबाट धेरै छिटो प्रभावित हुन्छन्, जुन वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसकहरूद्वारा प्रेरित हुन्छन् । चीनमा जो मानिसहरू त्यस दौरानमा दुश्मनको विरुद्ध एकजुट हुनसक्थे, उनीहरूलाई एकतावद्ध गर्ने कठिन काम आफ्नो हातमा लिनुको सट्टा ती विद्यार्थीहरू अतिवादी नाराको पक्ष लिंदै उनीहरूसँग नआउने सबैलाई ‘शाषकवर्गका अगाडि पुच्छर हल्लाउने कुकुर’, ‘विश्वासघाती’वा ‘उदारपन्थी’ जस्ता आरोप लगाउँदै हमला गर्दथे । चीनमा अति वामपन्थीका प्रतिनिधि नाराहरू छन् जस्तै ‘सबैमाथि शंका गर’, ‘सबैलाई उखालेर फ्याँक’, ‘क्रान्तिकारीहरूका छोरा–छोरीहरू मात्रै क्रान्तिकारी हुन्’ र ‘हर चीजमा निरपेक्ष समानता’ । अमेरिकामा अति वामपन्थीको खास नारा हुन् ‘सबै किसिमका राष्ट्रवाद प्रतिक्रियावाद हुन्’, ‘वार्ता धोका हो’ र ‘सर्वहाराको अधिनायकत्व अहिल्यै लागु गर ।”
आन्दोलमा लागेका विद्यार्थीहरूको एउटा अर्को प्रवृति छ, अराजकतावादको । चीन र अमेरिका दुबै देशमा यो प्रवृति सङ्गठन, अनुशासन, सिद्धान्त र नेतृत्वको विरोध गर्नेरूपमा अभिव्यक्त हुन्छ । अराजकतावादीहरू दावा गर्दछन् कि ‘हर प्रकारको सत्ताले मानिसलाई भ्रष्ट गरिदिन्छ’ र युवावर्गलाई उकास्छन् ‘सबै काम आफ्नो मनले गर’ । साम्राज्यवादको सङ्गठित शक्तिको मुकाबिला गर्नमा यस्तो धारणाहरूले पटक–पटक आफ्नो दिवालियापनलाई प्रदर्शित गरेको छ ।
विद्यार्थी आन्दोलनले क्रान्तिमा स्थायी रूपले त्यतिबेला मात्र योगदान गर्न सक्छ जब मजदुरवर्ग र त्यसको सहयोगीहरूको सङ्घर्षसँग विद्यार्थी आन्दोलन जोडिएको हुन्छ । र, त्यो विद्यार्थी आन्दोलन माक्र्सवाद–लेनिनवाद–माओ त्से–तुङ विचारधारामा आधारित यानि मानवताको संचित वैज्ञानिक ज्ञान र विश्वभरिका क्रान्तिकारी सङ्घर्षबाट संचित मजदुरवर्गको सामाजिक अनुभवमा आधारित भएको पार्टीले नेतृत्व गरेको होस् । जहाँ यस्तो पार्टी छ जस्तै कि चीनमा, त्यहाँ त्यसको सर्वहारा केन्द्रको वरिपरि अथवा माओ र उहाँको लाइनको वरीपरी विद्यार्थी आन्दोलन एकत्र भएको छ । जहाँ अझैसम्म यस्तो पार्टी अस्तित्वमा छैन जस्तै कि अमेरिकामा, त्यहाँ विद्यार्थीहरूले क्रान्तिको सच्चा अंकुराहरू जस्तै कि व्ल्याक वर्कस कङ्ग्रेस, लीग अफ रेभ्युलुसनरी व्ल्याक वर्कस, द याेंग लड्र्स पार्टी र द रेभ्युलुसनरी युनियनलाई एकजुट गर्नका लागि त्यसमा सामेल भएर, उनीहरूलाई समर्थन दिएर एउटा क्रान्तिकारी पार्टीको निमार्णमा सहायता गर्नुपर्छ । यसको अलावा कयौं यस्ता स्थानीय र क्षेत्रीय समूहहरू छन् जो माक्र्सवाद–लेनिनवाद–माओ त्से–तुङ विचारधारालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र त्यसलाई लागु गर्ने कुनै यस्तो राष्ट्रिय सङ्गठनसँग जोडिएका छैनन्, मुख्य दुश्मनको विरुद्ध तिनीहरूलाई पनि एकजुट गर्न सकिन्छ । त्यसलाई पनि क्रान्तिको सच्चा अंकुरा भन्न सकिन्छ । यसले अन्ततः मजदुरवर्गको क्रान्तिकारी राष्ट्रिय पार्टीको निमार्ण गर्ने जगको अंशको रूपमा काम गर्छ ।
चीनमा कम्युनिष्ट पार्टीले स्कुल–कलेजका ठूला विद्यार्थी आन्दोलनको नेतृत्व गर्दछ । पार्टीले बेला–बेलामा विद्यार्थीहरूलाई फ्याक्ट्रीहरू र कम्युनहरूमा काम गर्नका लागि पठाउँछ, ताकि उनीहरू मजदुरहरू र किसानद्वारा पुनःशिक्षित हुन सकुन् । स्नातक भएपछि धेरैजसो विद्यार्थीहरू आधारभुत उत्पादन इकाइहरूमा पद संभाल्छन्, जहाँ उनीहरू सामान्य जनतासँग मिलेर क्रान्तिलाई तल्लो स्तरसम्म लिएर जाने काम गर्दछन् । अमेरिकामा क्रान्तिकारी वा विद्यार्थीहरूले सबैभन्दा पहिले आफ्नो क्याम्पस परिसरमा एउटा मजवुत साम्राज्यवाद विरोधी आन्दोलन खडा गर्नुपर्दछ । जब सम्भब हुन्छ, उनीहरू कारखाना, प्लाण्ट र खेतमा पनि जानु पर्दछ र सङ्घर्षरत मेहनतकश मानिसहरूलाई जति सम्भव हुन्छ समर्थन दिनुपर्दछ र साम्राज्यवाद विरोधी विचारहरूको प्रचार प्रसारमा मद्दत गर्नुपर्दछ । स्नातक भएपछि विद्यार्थीको ठुलो सङ्ख्याले मुलभूत उत्पादनको काम खोज्नु पर्दछ र कम्युनिष्ट बुद्धिजीवीहरू जसरी माक्र्सवाद–लेनिनवाद–माओ त्से–तुङ विचारधारालाई मजदुर वर्गसम्म लिएर जाने प्रयास गर्नुपर्दछ । यस्तो गर्नका लागि उनीहरूले मजदुरवर्गको जीवनस्तर जिउनु पर्दछ । मेहनतकश मानिसहरू वास्तवमा जुन सङ्घर्षमा लागेका छन्, त्यसैमा सामेल हुनुपर्दछ र त्यसपछि यी सङ्घर्षलाई कदम–कदम अगाडि बढाउनमा मद्दत गर्दै यस स्तरसम्म उठाउनु पर्दछ कि त्यो शासकवर्गको सत्ताका लागि चुनौती बन्न सकोस् ।
निष्कर्षमा म यो बिन्दुलाई लिन्छु जसमा पश्चिमी ‘राजनेता’ पश्चिमी पत्रकार र पश्चिमी विद्धानहरू पटक—पटक जोड दिन्छन् । उनीहरू भन्दछन् कि सांस्कृतिक क्रान्तिले चीनलाई धेरै कमजोर बनाएको छ तथा यसले चीनको आर्थिक प्रगति, शिक्षा र हर महत्वपूर्ण क्षेत्रमा दशकौं त होइन तर वर्षौंपछि धकेलिदिएको छ । भन्ने कुरा त होइन कि यी सबै कुराहरूको लागि उनीहरू ‘बूढो र सनकी’ माओ त्से–तुङलाई दोषी ठह¥याउँछन् । यो बिल्कुल सत्य हो कि चीनका जनताद्वारा सांस्कृतिक क्रान्तिको दौरानमा छेडिएका युद्ध कुनै मूल्य नचुकाइकन लडिएको होइन । पाँच वर्षसम्म भीषण राजनीतिक सङ्घर्ष चलिरह्यो जसमा करोडौं मानिसहरूले भाग लिए । कम्युनिष्ट पार्टीको ठुलो हिस्साको सबै स्तरलाई अस्थायी तरिकाले निरस्त गरियो ।
गुटहरूबीचमा कयौं ठाउँमा गम्भीर लडाईं भए जो प्रायः मुक्केवाजी र लाठी–डण्डादेखि बढ्दै राइफल, मेशिनगन र यहाँसम्म कि ट्याङ्कसम्म पुग्यो । त्यही अनुपातमा मानिसहरू हताहत भए । एकैचोटी कयौं क्षेत्रमा कयांै–कयांै हप्तासम्म उत्पादन ठप्प रह्यो, उच्च शिक्षा कयौं वर्षसम्म ठप्प भइरह्यो र त्यस पूरै समयमा विदेश सम्बन्ध या त निलम्वित गरियो या केवल न्यूनतम स्तरमा बनाएर राखियो ।
तर मजदुरवर्गको सत्तालाई सुदृढ बनाउनका लागि यी अस्थायी झट्का र अव्यवस्थाहरूलाई कुनै ठूलो मूल्य मान्न सकिंदैन । सङ्घर्षका यी पा“च बर्षले चीनलाई मजबुद बनाएको छ, कमजोर हैन । तिखा लडाइ“मा खारिएर स्पात बनेका चीनका क्रान्तिकारीहरू माओको नेतृत्वमा पहिलेको तुलनामा कयौं उच्च चेतना र दृढ संकल्पका साथ फेरि एकजुट भइरहेका छन् । त्यो त्यही चेतना हो जसले यो नयॉ एकतालाई शक्ति प्रदान गर्छ । १९६६ भन्दा पहिले सतहमा जुन एकता देखिन्थ्यो त्यसबाट दुनियालाई उनीहरू शक्तिशाली छन् भन्ने आभास हुन्थ्यो । तर वास्तवमा त्यस एकताको पर्दापछाडि समाजमा व्याप्त एउटा यस्तो गहिरो र फुटपरस्त प्रवृति लुकेको थियो जसले नेतृत्वलाई गतिरोधमा पु¥याएको थियो र सम्पूर्ण जनताको उर्जालाई कुण्ठित गरेको थियो । दुई सदरमुकाम र दुई लाइनहरूको सवाललाई खुला तरिकाले अगाडि नल्याएको भए र त्यसलाई क्रान्तिकारी तरिकाले समाधान नगरेको भए, यो फूटपरस्त प्रवृतिले सिर्फ गन्जागोल र अव्यवस्थातिर नै लिएर जान्थ्यो र अन्ततः जीत पुँजीवादी पथगामीहरूको नै हुन्थ्यो । साम्राज्यवादको युगमा कुनै पनि अल्पविकसित देशको लागि स्वतन्त्र पुँजीवादको विकासको कुनै संभावना हुँदैनथ्यो, यसकारण चीन फेरि अर्ध–औपनिवेशिक अर्ध–सामन्ती भूमरीमा परेर डुवेको हुन्थ्यो । तर यहाँ दोहो¥याउन जरुरी छैन कि यसको उल्टो भैरहेको छ । चीनमा उपनिवेशवादतर्फ फिर्ता जाने पुँजीवादी मार्ग बन्द गरिंदैछ र चिनियाँ जनता कयौं मोर्चामा माओको आत्मनिर्भर समाजवादी मार्गको जीवन्तता र सिर्जनात्मक शक्तिको प्रर्दशन गरिरहेका छन् ।
पुँजीवादी दुनियाका शाषकवर्गलाई यसको आभास भएको छ र उनीहरू अचम्मित भएका छन् । चीनमा बढ्दो एकता, जीवन्तता र प्रगतिको अलवा भलै अरू के छ जसले वासिङटनको चीन सम्बन्धी नीतिलाई एक्काईस वर्षपछि पूर्ण तवरले उल्ट्याइदिएको छ ?
१९४९ पहिले चिनियाँ कम्युनिस्ट पार्टीलाई सत्तामा आउनबाट रोक्नका लागि आफूले सकेसम्म गरेपछि, १९४९ पछि अमेरिकी सरकारले नयाँ क्रान्तिकारी सत्तालाई सैनिक घेराबन्दी, आर्थिक प्रतिबन्ध, कुटनीतिक सम्बन्ध बिच्छेद र आन्तरिक
तोडफोडद्वारा त्यसलाई उखालेर फ्याँक्न प्रयास शुरु ग¥यो । १९६० सम्म आउँदा नआउँदै सोभियत सङ्घ पनि अमेरिकाको यो नीतिमा सामेल भयो । यी दुवै मोर्चाबाट असामान्य बाहिरी दवावका कारण संशोधनवादी प्रवृतिलाई सर्मथन र प्रेरणा मिल्यो जो चिनियाँ समाजमा पहिलेदेखि नै आन्तरिक वर्गसङ्घर्षको परिणामस्वरूप विकसित भैरहेको थियो । जसै–जसै यो प्रवृति बढ्दै गयो वासिङटन र मस्को आशान्वित भए र उनीहरूले आफ्नो प्रयासलाई दुई गुणा तीव्र गरे ।
जब सांस्कृतिक क्रान्तिको विष्फोट भयो, अमेरिकी नीति निर्माताहरूले यसको जीतको बारेमा सुँघेरै अन्दाज गरे । पर्दा पछाडि उनीहरूले के–के खेले, यसको जानकारी हामीलाई अझसम्म छैन । सार्वजनिक रूपमा उनीहरूले ल्यू शाओ–ची र उसको गिरोह पछाडि आफ्नो प्रचारतन्त्रलाई सारा जोड लगाए । जब ल्यूको पतन भयो र त्यो बाहिरसम्म पर्दाफास भयो, अमेरिकाले अति वामपन्थी ‘मे १६’ समूहको पक्ष लियो । तर जब त्यसलाई पनि समन गरियो, तब अमेरिकी प्रेस ‘धोका–धोका’ भनेर चिच्चाउँदै छन् । जब धुँवा फाट्न लाग्यो अध्यक्ष माओको लालझण्डा तियेन–मेन चोकमा अझै पनि फहराइरहेको देख्न सकिन्थ्यो । यो सुनिश्चित गर्नका लागि कि यो झण्डा सदैव फहराइरहोस्, चीनमा लाखौं सङ्कल्पबद्ध मानिसहरूले जुलुश निकाले । वासिङ्टनका लागि अब स्पष्ट रूपमा समय आएको छ कि उसले नयाँ शिरावाट मूल्याङ्कन गरोस् ।
निक्सनले आफूहरूलाई पेकिङमा बोलाउनका लागि आग्रह गरे । त्यसको पछाडि साना देशका राष्ट्राध्यक्ष पङ्क्तिवद्ध भए ।
यो एक्लो तथ्य यस निबन्धको मूल अवधारणालाई पुष्टि गर्नका लागि पर्याप्त हुन्छ कि चीनमा माओ त्से–तुङ र माओ त्से–तुङको क्रान्तिकारी लाइनको जीत भैरहेको छ । चीनमा मजदुरवर्गले पुँजिपतिवर्गलाई पछाडि धकेलिरहेको छ । आजको विश्वक्रान्तिमा चीन बाटो देखाइरहेको छ ।
अनुवाद–दिपक सापकोटा





























