सहिद परिवार अभिनन्दन तथा बनबाटिका उद्घाटन

सहिद परिवार अभिनन्दन तथा बनबाटिका उद्घाटन

दाङ/१५ फागुन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले सहिद सप्ताह कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कन्ज्वार दाङमा भब्यताका साथ सम्पन्न गरेको छ ।

आज कन्ज्वारमा आयोजित कार्यक्रममा सहिद स्मृति बनबाटिकाको उद्घाटन गर्नुका साथै जनयुद्धका क्रममा सहिद भएका सहिदहरूका परिवारजन तथा बेपत्ता घाइते अपाङ्गताहरूको एकसाथ सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । पार्टीको दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य श्यामबहादुर बोहराले सहिद परिवार तथा घाइते अपाङ्गहरूलाई सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथि बोहराले सहिदहरू प्रति उच्च सम्मान प्रकट गर्दै सहिदले देखाएको अधुरो सपना पुरा गर्न पार्टी जोडदारले योजना बनाई अगाडि बढ्ने बताउनुभयो । उहाँले सम्बोधनका २०५२ सालमा जनयुद्ध शुरु गर्दा उठाइएका एजेन्डाहरू अहिलेसम्म पूरा नभएको भन्दै जनताका आधारभूत आवश्यकता समेत पुरा गर्न अहिलेसम्मका कुनैपनि सरकारले नसकेको, सरकार दलाल र भ्रष्टहरूको चुङ्गलमा फसेको, जनयुद्धका मुख्य नायक नै अहिले खलनायक पात्रका रूपमा रूपान्तरण भएको बताउनुभयो । उहाँले ‘मुख्य नेतृत्व पङ्क्तिले जनयुद्ध असफलतामा अलपत्र पारेर जनतालाई झुक्याएर १२ बुँदे सम्झौता मार्फत् कुर्सीमा पुग्न सजिलो बाटो रोजेकाले जनयुद्धका बाँकी कार्यभार पुरा गर्न सहिदको सपना साकार पार्ने काममा कुठाराघात गरेकाले हामीले पार्टीभित्र बिद्रोह गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेका हौँ’ भन्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि श्यामबहादुर बोहराले “सहिद स्मृति वनबाटिका” समेत उद्घाटन गर्नुभएको थियोे । अर्का वक्ता पार्टीका केन्द्रीय सदस्य नारायण भण्डारीले सहिदका सपना पुरा गर्न आफ्नो पार्टी निरन्तर सङ्गघर्षमा रहेको बताउँदै पार्टी सहिद परिवार, बेपत्ता परिवार र घाइते अपाङ्ग परिवारका साथमा रहने छ भन्नुभयो । उहाँले नयाँ जनवादी क्रान्ति सम्पन्न गरि समाजवादी राज्यव्यवस्था स्थापनाका लागि जनताको बिचमा रहेर अगाडि बढ्ने कुरा राख्नुभयो । कार्यक्रममा दाङ जिल्ला इञ्चार्ज हुकुम खड्का, तुलसीपुर नगर सेक्रेटरी मनबहादुर वली (सहिद परिवार) लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नवीन खड्का र सञ्चालन दिपक बिष्टले गर्नुभएको थियो ।

“सहिद स्मृति बनबाटिका” का बारेमा कुरा राख्दै सेक्रेटरी ईश्वरीले उक्त जग्गाको क्षेत्रफल अन्दाजी ३ कठ्ठा रहेको र गाउँको बिचमा केही समुदायले समाधिस्थल बनाउने योजना अनुसार बजेट समेत बिनियोजन भएकोमा स्थानीय जनताको बिरोध र जनताले पार्टीमा सुचना गरेको आधारमा जनताको बस्तीभित्र समाधिस्थल बनाउन मनासिब नभएको ठहर गर्दै उक्त जग्गा कब्जा गरि सहिदहरू स्मृतिमा बनबाटिका निर्माण गरिएको बताउनुभयो । उक्त जग्गामा १५० वटा जडिबुटी जन्य बिरुवा रोपिएको छ ।