ताराकान्त पाण्डेयको स्मृतिमा पुस्तक सार्वजनिकीकरण तथा पुरस्कार–सम्मान समारोह सम्पन्न

ताराकान्त पाण्डेयको स्मृतिमा पुस्तक सार्वजनिकीकरण तथा पुरस्कार–सम्मान समारोह सम्पन्न

काठमाडौं । प्रा.डा.ताराकान्त पाण्डेयको प्रथम स्मृति दिवसको सन्दर्भमा उहाँको व्यक्तित्व र कृतित्वमा आधारित पुस्तक सार्वजनिकीकरण गरिएको छ । उहाँको नाममा स्थापित ‘तारा स्मृति पुरस्कार’बाट पहिलो बार्षिक स्मृति दिवसमा बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईलाई एक लाख पुरस्कार राशीसहित दोसल्ला ओढाएर पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले पुस्तक विमोचनका साथै पुरस्कृत व्यक्तित्व निनु चापागाईलाई माल्र्यापण, दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा कार्यवाहक महासचिव गौरवले डा. ताराकान्त पाण्डेको क्रान्तिकारी व्यक्तित्व र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

ताराकान्त पाण्डेय स्मृति पुस्कारबाट पुरस्कृति तथा सम्मानित व्यक्तित्व निनु चापागाईले पनि डा. ताराकान्त पाण्डेयसँगको ४० को दशकदेखिको सहकार्य र उहाँको समग्र व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नुभएको थियो । उहाँले आफू ताराकान्त पाण्डेय स्मृति पुरस्कारबाट पुरस्कृत हुन पाएकोमा गर्व र चुनौती दुवै अनुभूति गरेको भन्दै उहाँले देखाएको बाटोमा र उहाँका अधुरा कार्य पूरा गर्न निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा डा.ताराकान्त पाण्डेयकी जीवनसंगिनी कवि शिला योगी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरु रामसिंह श्रीस, हरिभक्त कँडेल, हेमन्तप्रकाश ओली, प्रा.डा. नन्दिश अधिकारीले उहाँको समग्र व्यक्तित्व, कृत्तित्वको विभिन्न आयामहरुको बारेमा विशेष चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा पुस्तक ‘ताराकान्त’ मूल्यांकन ग्रन्थमाथि चर्चा अमृता शर्माले, ताराकान्तको आफ्नो समालोचना कृति ‘समकालीन नेपाली कवितामा वर्गसौन्दर्य’ मा समीक्षा डा अमर गिरीले र ताराकान्तको समग्र व्यक्तित्व र कृतित्वमा प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा.जगत उपाध्यायले विशेष चर्चा गर्नुभएको थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहठ्ठा र कवि गौरी देवकोटाले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कवि मित्रलाल पंज्ञानीले गर्नुभएको थियो ।
डा.ताराकान्त पाण्डेयको तस्वीरमा माल्र्यापणसहित सुरु भएको कार्यक्रममा नारायण शर्मा विपिनले ताराकान्त पाण्डेयको स्मृतिमा आधारित कविता पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयकी छोरी डा.तितीक्षा शर्मालगायत परिवारका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।