काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३२ औं माओ दिवसको अवसरमा नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने संकल्प व्यक्त गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गर्दै यस्तो संकल्प गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “१३२औँ माओ दिवसका अवसरमा माथि उल्लेखित उहाँका सार्वभौम योगदानहरुप्रति प्रतिबद्ध हुँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजको अति एकाधिकारवादी तथा अतिकेन्द्रीकृत पुँजीवादी साम्राज्यवाद र तिनका पृष्ठपोषक दलाल तथा नोकरशाही पुँजीवाद र बचेखुचेको सामन्तवादलाई रणनीतिक रुपमा कागजी बाघ र कार्यनीतिक रुपमा साँच्चिकै बाघ ठानी यसका विरुद्ध निरन्तर लड्ने, प्यालेस्टाइन तथा युक्रेन जस्ता देशका अन्यायपूर्ण युद्धबाट प्रताडित जनतासँग ऐक्यवद्धता जाहेर गर्ने, सर्वहारा अन्तराष्ट्रियतावादलाई अवलम्बन गर्ने, माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तबाट निर्देशित भएर नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने संकल्प गर्दछ ।”
माओले माक्र्सवादी–लेनिनवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा गर्नुभएको सार्वभौम योगदानको उल्लेद गर्दै वक्तव्यमा भनिएको छ, “उहाँले दर्शन शास्त्रको परिभाषा गर्दा त्यसलाई ज्ञान सिद्धान्त बताउनु भयो । ‘व्यवहारबारे’ भन्ने दार्शनिक कृति लेखेर व्यवहार–ज्ञान–व्यवहार अर्थात् पदार्थ–चेतना–पदार्थको ज्ञान सिद्धान्त सूत्रीकरण गर्नुभयो भने व्यवहार र ज्ञान, पदार्थ र चेतना एक अर्कोमा रुपान्तरण हुँदै वर्तुलाकार ढंगले अगाडि बढ्छन् भन्ने द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त विकसित गर्नुभयो । लेनिनले विकास गर्न नभ्याउनुभएको भौतिकवादी दर्शनको विधिशास्त्र भौतिकवादी द्वन्द्ववादको पनि विकास गर्नुभयो । उहाँले द्वन्द्ववादका तिनवटा नियमलाई एउटै ‘अन्र्तविरोधको नियम’मा संश्लेषण र विकास गर्नुभयो । ‘दुईको एकमा संयोजन हुन्छ’ भन्ने ल्यु साओचीको वर्गसमन्वयवादी दर्शनको खण्डन गर्दै ‘एकको दुईमा विभाजन हुन्छ’ भन्ने वर्गसंघर्षवादी दर्शनको विकास गर्नुभयो ।
राजनीतिक अर्थशास्त्रमा चिनियाँ समाजको वर्ग विश्लेषण गरी चिनियाँ जनताका शत्रु र मित्र छुट्याउनु; कृषि प्रधान अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक आर्थिक–सामाजिक अवस्था भएका देशहरुमा दलाल तथा नोकरशाही अर्थतन्त्रका विरुद्ध राष्ट्रिय पुँजीको विकास गरी वैज्ञानिक समाजवादी क्रान्तितर्फ अगाडि बढ्ने सिद्धान्त प्रतिपादन गर्नु; नयाँ जनवादबाट समाजवादमा संक्रमण गर्न नदिने ल्यु साओची र तेङ सियाओ पिङको ‘उन्नत समाज व्यवस्था र पिछडिएको अर्थतन्त्र’, ‘सेतो विरालो होस् या कालो उसको काम मुसा मार्ने हो’ र ‘उत्पादन बढाऊ’ भन्ने लगायतका संशोधनवादी सिद्धान्तलाई गलत सिद्ध गरी ‘क्रान्तिलाई पकड र उत्पादन बढाऊ’ भन्ने सिद्धान्त सूत्रवद्ध गर्नु; विशाल उद्योगहरुको एकोहोरो नाराका विरुद्ध साना कृषि उद्योग तथा ठुला उद्योगको दुई खम्बे अर्थनीति सहित सहकारी र कम्युन प्रणालीलाई चिनियाँ अर्थतन्त्रको आधार बनाउनु माओका महत्वपूर्ण देन हुन् । वैज्ञानिक समाजवादको क्षेत्रमा नयाँ जनवादी क्रान्ति, क्रान्तिका लागि पार्टी, सेना र मोर्चाको तीन जादुगरि हतियार, दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशा, आधार इलाकाको अवधारणा, सयौं फुलहरुलाई फुल्न देउ भन्ने बृहद जनवादको विकास, सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अर्थात् महान् सर्वहारा साँस्कृतिक क्रान्ति उहाँका महत्वपूर्ण योगदान हुन् । उल्लेखित योगदानका कारण माक्र्सवाद–लेनिनवाद माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ र संसारका श्रमजीवी तथा उत्पीडित जनताको मुक्तिमार्ग थप जाज्वल्यमान भएको छ ।”
वक्तव्यमा भनिएको छ, “संसारका श्रमजीवी तथा उत्पीडित जनता र तिनको प्रतिनिधित्व गर्ने सर्वहारा अग्रदस्ता कम्युनिस्ट पार्टीहरुले हरेक वर्षको २६ डिसेम्बरमा माओ त्सेतुङलाई त्यसरी नै सम्झन्छन् जसरी ५ मेमा माक्र्स र २२ अप्रिलमा लेनिनलाई । माओ त्सेतुङ संसारका श्रमजीवी तथा उत्पीडित जनता र तिनको प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टीको मनमस्तिष्कमा यसकारण अविस्मरणीय हुुनुभएको छ – उहाँले सामन्तवाद तथा साम्राज्यवादको भयानक पहाडमुनिको शोषण–दमनमा थिचिएका करोडौँ चिनियाँ जनतालाई आफ्नै नेतृत्वको चीन कम्युनिस्ट पार्टी मार्फत् २५ वर्ष लामो भीषण जनयुद्ध लडेर नयाँ जनवादी क्रान्तिद्वारा मुक्त गर्नुभयो । उहाँ यहीँ रोकिनु भएन । खु्रश्चेवको आधुनिक संशोधनवाद र आफ्नै पार्टीभित्रको नवसंंशोधनवादका विरुद्धको दुई–लाइन संघर्षमा पनि विजयी भएर १९५६–५८ सम्म वैज्ञानिक समाजवादी क्रान्ति गर्नुभयो । तर, अझै पनि विश्व कम्युनिस्ट आन्दोलन र चिनियाँ कम्युनिस्ट आन्दोलनमा विश्वदृष्टिकोणको समस्या पूर्णतः समाधान भइसकेको थिएन । उहाँले विश्व दृष्टिकोणको समस्या समाधान गर्न सन् १९६६ देखि १९७६ सम्म सर्वहारा अधिनायकत्व अन्र्तगत महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । यसले चीनमा मात्र होइन, विश्वभरिका कम्युनिस्ट पार्टीहरुलाई दिशानिर्देश ग¥यो र यसरी साम्यवादसम्म पुग्ने मार्ग स्पष्ट भयो ।”






























