शनिबारीय साहित्य : कविता
*** ***
तिमीले सगरमाथा आरोहण गर्ने कुरा गर्दा
हामीले भरिया हुन मन्जुर गरेकै हौँ
तिमीले यात्रामा अश्वारोहण गर्ने कुरा गर्दा
हामीले सयस हुन मन्जुर गरेकै हौँ
काठी कसेर तिमीलाई सबार गराउँदा
रिकापमा टेक्न काँध थापेकै हौँ ।
तिमीले आरोहणको यात्रामा उकाली चढ्दा
हामीले बन्दोबस्तीको सामान बोकेकै हौँ
तिमीले अहिलेसम्म लस्कर चलाउँदा
हामीले सामेलीमा बुट ठोकेकै हौँ
तिम्रो बोली र व्यहारमा विश्वास गर्दा
हामीले तिमीलाई नाइके/अगुवा मानेकै हौँ ।
तिमीले यात्रमा नयाँ बाटोको कुरा गर्दा
हामीले यात्रामा उत्साह भरेकै हौँ
तिमीले यात्रामा उत्साही कुरा गर्दा
हामीले कात्रामा मृत्युलाई बेरेकै हौँ
त्यसैले,
तिम्रो सगरमाथा आरोहणको अभियानमा
हाम्रो पनि सगरमाथा आरोहणको सपना छ
तिम्रो सगरमाथा आरोहणको ताजपोसीमा
हाम्रो पनि जीवनभरिको जपना छ
तर, खै ? के भनूँ तिमीलाई
ए ! आरोही अगुवा !
ए ! अगुवा, नाइके, निर्देशक !
तिमी त हिमाल देख्नेबित्तिकै सगरमाथा देखेँ भन्दै छौ
तिमी त बेसक्याम्प टेक्नेबित्तिकै सगरमाथा टेकेँ भन्दै छौ ।
अभैm खतर्नाक खरपसका खाडीहरू पार गर्न बाँकी नै छ
अभैm खतर्नाक ग्लेसियरका बाढीहरू पार गर्न बाँकी नै छ
त्यसैले त,
अझै सुरक्षित राख विदाइमा आफन्तले दिएको चिनोलाई
अझै सुरक्षित राख सहयात्रीले अन्तिममा छोडेको चिनोलाई
अझै सुरक्षित राख पवित्र रगतले भिजेको रक्तिम ध्वजालाई
अझै सगरमाथामा पाइला पुर्याउन बाँकी नै छ
अझै सगरमाथामा रक्तिम ध्वजा लहराउन बाँकी नै छ
अझै सगरमाथा आरोहण गर्न बाँकी नै छ ।
२४ । ४ । २०६५