सिर्जना र संवाद कार्यक्रमको तेस्रो शृङ्खला इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रेक्षालयमा घट्टेकुलोमा सम्पन्न भएको छ । यस प्रक्रियामा प्रगतिशील कवि एवं वरिष्ठ समालोचक रोशन जनकपुरीले साहित्य र कला सम्बन्धि मालेमावादी दृष्टिकोण र लेनिनका योगदान माथि चर्चा गर्दै सर्वहारा वर्गको निम्ति लेनिन एक अन्तर्राष्ट्रिय नेता र क्रान्तिको जाज्वलयमान नक्षत्र भएको स्पष्ट गर्नुभएको थियो । यसै किसिमले कवि बलराम तिमिल्सिनाले लेनिनको स्मरण गर्दै वर्तमान सन्दर्भमा प्रगतिशील साहित्य निर्माणको फाँटमा लेनिनवादको हस्ताक्षेप जरुरी भएको स्पष्ट गर्नुभयो । यसै किसिमले कवि वसन्त बोगटीले विश्व कम्युनिस्ट आन्दोलनको शिखर दार्शनिक चिन्तक वा दृष्टिकर्ता, एक नयाँ सामाजिक आन्दोलन र युग निर्माणको सुत्रधार र नेतृत्वकर्ताको भूमिकामा वर्तमानले लेनिनलाई लागू गर्नुपर्ने स्पष्ट गर्नुभयो । यसै किसिमले इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा प्रगतिवादी कवि मित्रलाल पंज्ञानीले सिर्जना र संवाद कार्यक्रमको आगामी शृङ्खलामा लेनिनको राजनीतिक सामाजिक जीवनको सिंहावलोकन सहितको वृत्तचित्र र छलफलको आयोजना गर्ने स्पष्ट गर्नुभएको थियो ।
सिर्जना र संवादको तेस्रो शृङ्खलामा प्रगतिवादी कविहरु इन्दिरा अधिकारी, रोशन जनकपुरी, मित्रलाल पंज्ञानी, छायादत्त न्यौपाने, चम्पा कार्की, बलराम तिमिल्सिना, बसन्त बोगटी, आस्था घिमिरे र सुनिता बुढाथोकीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रगतिवादी कवि साहित्यकार इस्माली, मोदनाथ मरहट्ठा, क्रान्तिकारी मजदुर नेता इश्वर तिमिल्सिना, कुमार घताने, सरोज न्यौपाने, युवराज थापा, अर्जुन बोगटी, लक्ष्मीराम दंगाल, दुर्गा सिजापति, रन्जु रेग्मी, पृथ्वी पृथक, कृतिशा बुढाथोकी, संस्कृति कार्कीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्ष गौरी देवकोटाले समाज परिवर्तन र नयाँ समाज निर्माणमा साहित्यको विशेष भूमिका रहने उल्लेख गर्दै आगामी श्रृङ्खलाहरुलाई अझ सशक्त र सिर्जनात्मक बनाउन प्रतिबद्ध रहेको स्पष्ट गर्दै त्यस प्रक्रियामा सम्पूर्ण सांस्कृतिक एवं राजनीतिक योद्धाहरुको सक्रिय भूमिकाको अपेक्षा सहित , उपस्थित अग्रज र समकालीन कवि साहित्यकारहरुमा हार्दिक आभार सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
सिर्जना र संवाद कार्यक्रमको तेस्रो शृङ्खला कवि सुनिता बुढाथोकीले संचालन गर्नु भएको थियो । आगामी कार्यक्रम जेठ महिनाको तेस्रो शनिबार इच्छुक प्रतिष्ठानमा हुनेछ ।