क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले भोली पुस १० ( डिसेम्वर २६) गते विश्व सर्वहारावर्गका महान नेता माओत्सेतुङको १३१ औं जन्म दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदैछ । भोली काठमाडौंमा गरिने मार्चपास बिशेष उल्लेखनीय छ । सन् १९२१ मा चीनमा स्थापना भएको कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक माओले बिशाल चीनलाई आफ्नै पालामा कसरी मुक्त गरेर अगाडि बढ्नुभयोभन्ने कुरा विश्वकै लागि रोचक र उदाहारणिय छ । यो आलेखमा उहाँको योगदानकाबारेमा सामान्य चर्चागर्ने प्रयास गरिएको छ । जसबाट नेपालको पछिल्लो कम्युनिष्ट राजनीतिकोसमेत संश्लेषणगर्न सकिन्छ । माओले चिनियाँ कम्युनिष्ट पार्टीमा गर्नुभएको योगदानलाई हेर्दा माक्र्सवाद–लेनिनवादको व्यवहारिक प्रयोग, आधुनिक संशोधनवादका विरुद्धको संघर्ष, वर्गसंघर्षको सही सञ्चालन, रणनीति र कार्यनीतिको विकास तथा सैन्य रणनीतिको विकास लगायतका कुराहरु आउँदछन् । उहाँले अन्तरपार्टी संघर्षकै माध्यमबाट पार्टीभित्र रहेको छनतुस्यूको दक्षिणपन्थी आत्मसमर्पणवादी र लिलिसान तथा वाङमिङको उग्रवामपन्थी कार्यदिशामाथि विजय प्राप्त गरेका प्रशंगहरु पनि रोचक एबं आजको विश्व कम्युनिष्ट आन्दोलन र अझ खासगरी नेपालको कम्युनिष्ट आन्दोलनका लागि मननीय रहेका छन् । पार्टी स्थापनाको १४ बर्षपछि उहाँ सन् १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वगर्ने तहमा पुग्नुभएको थियोभने उहाँले नेतृत्व सम्हालेको १४ बर्षमै सन् १९४९ मा चीनमा कम्युनिष्ट क्रान्ति सम्पन्न भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि नयाँ जनवादी क्रान्तिसम्म र नयाँ जनवादअन्तर्गत राष्ट्रिय पूँजीको विकासगर्दै समाजवादको स्थापना गर्ने दौरानमा माओले राजनीतिक, सैद्धान्तिक तथा संठनात्मक क्षेत्रमा आर्जन र विकास गरेको ज्ञान र अनुभवहरुले चिनियाँ क्रान्तिलाई मात्र नभएर विश्वमा चल्ने सामन्तवाद तथा साम्राज्यवाद विरोधी क्रान्तिहरुलाई समेत पथप्रदर्शनगर्ने तहसम्म विकास गरेको पाइन्छ । बर्ग संघर्ष, बर्ग पक्षधरता र वर्ग अधिनायकत्वलाई माक्र्सवादका तीन आधारभूत तत्व मानिन्छ । जसमध्ये कुनै एकलाई छाड्योभने त्यो माक्र्सवाद नभएर संशोधनवाद वा असवरवाद हुनजान्छ । जस्तो आज नेपालमा कतिपय समूहहरुका सन्दर्भमा भैरहेको छ । माक्र्सवादका तीन आधारभूत तत्वहरुमा बल प्रयोग, वर्ग संघर्ष र वर्ग पक्षधरतालाई मानिन्छ । यी तीन नबदलिने तत्वलाई कथं बदलियो भने त्यो माक्र्सवादकारुपमा रहँदैन । आज नेपालमा मुख्यत माओवादी केन्द्रको बैचारिक र ब्यवहारिक पतनलाई यसको उदाहारणका रुपमा लिन सकिन्छ । जुन पार्टीका मुख्य नेताहरु भन्दा माक्र्सवाद भनेपनि अपनाउँदा अवसरवादलाई अपनाउने गर्दछन् । राजनीतिमा अवसरवाद महारोग हो । जसले कुनैपनि पार्टीलाईमात्र नभएर देशलाईनै समाप्त बनाउन पनि सक्छ । आजको जमाना पूँजीवादी जमाना हो ।
पूँजीवादको सार मुनाफा हो । मुनाफाका लागि सक्कली बस्तुमा नक्कली चीज मिसाएर व्यापारगर्ने गरिन्छ । नेपालमा पनि पछिल्लो समयमा देश र जनताको पक्षमा चर्का कुरा गरेर ब्यवहारमा जनबिरोधी कामहरु हुने गर्दछन् । जसबाट कतिपय नेताहरु राजनीतिक र आर्थिक लाभहरु प्राप्त गर्दछन् । यो अवस्था चीनमा पनि माओले ब्यहोरेको र भोगिसकेको अवस्था हो । कम्युनिष्ट राजनीति भनेकै बर्ग संघर्षमा आधारित हो । जब कसैले बर्गसंघर्ष छोडेर बर्ग समन्वयको बाटो अवलम्बन गर्दछभने त्यो कम्युनिष्ट नभएर पूँजीवादी राजनीति हुन्छ । जस्तो पछिल्लो समयमा नेपालमा माओवादी केन्द्रले गरिरहेको छ । वर्ग संघर्षका रुपहरु बदलिन सक्छन् । त्यसलाई सन्तुलनगर्दै अगाडि बढ्ने चातुर्यता राख्न सक्नुपर्दछ । बर्ग पक्षधरतालाई नै छाडेपछि त्यो बिचौलिया राजनीति हुनपुग्छ । हालसम्मका क्रान्ति र संघर्षहरुले दिएको शिक्षा यहिनै हो । माओत्सेतुङबाट विश्व कम्युनिष्ट आन्दोलनप्रति गरिएका योगदानहरु बहुपक्षीय र बहुआयामिक रहेका पाइन्छन् । उहाँले आफ्नो कालमा विशाल, व्यापक तथा शक्तिशाली प्रतिक्रियावाद–विरोधी क्रान्तिको संगठन गर्नुभएको थियो । चिनियाँ विजयी क्रान्तिले औपनिवेशिक तथा अर्धऔपनिवेशिक मुलुकहरुमा राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो बल र प्रेणा प्रदानगरेको थियो । जनवादी क्रान्तिका तत्कालीन अभिभाराहरुलाई पूरागरिसकेपछि चीन सन् १९५६ मा समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको थियो । त्यहाँ समाजवादी निर्माणगर्न थालिएको थियो । चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपछि भएको समाजवादी क्रान्ति र समाजवादी निर्माण–कार्यको थालनीमा माओका योगदानहरु अविश्मरणिय रहेका छन् । माओको समयमा पनि माक्र्सवाद अविकसित मुलुकहरुमा लागूहुँदैनभन्ने प्रचारलाई ब्यापक बनाइएको थियो । तर माओले ब्यवहारिकरुपमा नै त्यो प्रचारलाई झुठ साबित गरिदिनु भएको थियो । जसले माक्र्सवाद विकसित, अल्प विकसित तथा अविकसित सबै मुलुकहरुमा र सबै परिस्थितिहरुमा लागू हुनसक्छ भन्ने प्रमाणित गरेको थियो । माओले आफ्नै जीवनकालमा रुसमा भएको प्रतिक्रान्ति र खु्रश्चोवी आधुनिक संशोधनवादले साम्राज्यवाद र प्रतिक्रियावादको हितमा माक्र्सवाद–लेनिनवादका शिक्षाहरुलाई संशोधन र तोडमरोड गरेको बिषयमा पनि डटेर मुकाबिला गर्नुपरेको थियो । खु्रश्चोवपन्थीहरुले क्रान्तिकारी बर्गसंघर्ष–समाजवादी क्रान्ति, सर्वहारावर्गको अधिनायकतन्त्र, युद्ध र शान्ति, आदिसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुप्रति नजानिँदो ढंगले प्रहार गरेका थिए र कम्युनिष्ट आन्दोलनलाई नै संशोधनवादी बाटोमा लैजान खोजेका थिए । सो परिघटनाबाट संशोधनवाद विश्व कम्युनिष्ट आन्दोलनकै लागि निकै ठूलो खतरा साबित भएको थियो । पूर्व सोवियत संघ समाजवादीबाट सामाजिक–साम्राज्यवादी मुलुकमा फेरिएको र विश्व प्रभूत्वको लागि दुई महाशक्तिहरुमाझ होडबाजी चलेको अवस्थामा पनि चीनमा कम्युनिष्ट पार्टीलाई सही ढंगले अगाडि बढाउनु ठूलो चुनौतीको बिषय थियो । जसलाई उहाँले कुशलतापूर्बक सञ्चालन गर्नुभएको थियो । उहाँले त्यतिबेला युद्ध र आक्रमणका नीतिहरु, महाशक्ति तथा क्षेत्रीय प्रभूत्ववाद र ठूलोराष्ट्र अहंकारवादका बिरुद्ध दृढतापूर्बक आफ्ना नीतिहरुलाई सही ढंगले अगाडि बढाउनु भएको थियो । त्यतिबेला उहाँले विदेश मामिलाकाबारेमा क्रान्तिकारी कार्यदिशाको प्रतिपादनसमेत गर्नुभएको थियो । जुन कार्यदिशा विश्वभरका शोषित–पीडित राष्ट्र तथा जनताहरुसित एकतालाई मजबुत पार्ने, प्रभूत्ववादी तथा विस्तारवादीका प्रयासहरुको विरोधगर्नेमा केन्द्रित रहेको थियो ।
माओ त्सेतुङद्वारा लिखित व्यवहारबारे र अन्र्तविरोधबारे लगायतका बिभिन्न दार्शनिक लेखहरु निकै महत्वपूर्ण रहेका छन् । जसले माक्र्सवादको दार्शनिक चिन्तनका क्षेत्रमा ठूलो योगदान दिएको छ । युद्धका रणनीतिक समस्याहरु, दीर्घकालीन जनयुद्ध, छापामार युद्धका रणनीतिक समस्याजस्ता कुराहरुमा उहाँले राम्रो र ब्यवहारिक अन्वेषण गरेर लेखहरु लेख्नुभएको पाइन्छ । नौलौ जनवादी क्रान्तिको चालक शक्ति, अभिभारा, चरित्र, नेतृत्वजस्ता महत्वपूर्ण सवालहरुबारे लेखिएका उहाँका कृतिहरु आज पनि त्यतिकै सान्दर्भिक र मननीय रहेका छन् । उहाँले पार्टीको निर्माण, समाजवादी क्रान्ति र समाजवादी निर्माण, विदेश सम्बन्ध, आदिमा पनि सैद्धान्तिक योगदानहरु दिनुभएको छ । उहाँको माक्र्सवादी चिन्तन–तरिका निकै अनुकरणिय मानिन्छ । सिद्धान्तलाई व्यावहारसित गाँस्ने, ठोस परिस्थितिको ठोस बिश्लेषणगर्ने र तथ्यहरुबाट सत्य पत्तालगाउने कुराहरुमा पनि उहाँको ठूलो बैचारिक योगदान रहेको छ । लेनिन र स्टालिनले अगाडि बढाउनु भएको साम्राज्यवाद विरोधी संघर्षलाई माओले निरन्तरता दिनुकासाथै साम्राज्यवादी युगमा देखापरेका कतिपय प्रशंग र समस्याहरुकाबारेमा पनि सैद्धान्तिक, राजनीतिक र संगठनात्मक तवरले व्याख्या र बिश्लेषण गरेर योगदान गर्नुभएको पाइन्छ । सोभियत समाजवादी क्रान्तिमासमेत किसानलाई कुनै क्रान्तिकारी वर्गकारुपमा अगाडि नसारिएको अवस्थामा माओले चीनमा किसानलाई क्रान्तिको आभारभूत बर्गकारुपमा अगाडि सार्नुभएको थियो । उहाँले किसान बर्ग क्रान्तिको आधारभूत बर्ग हुने मान्यतासमेत अगाडि सार्नुभएको थियो । त्यसैक्रममा उहाँले साम्राज्यवादी उत्पीडनको तख्ता पल्टाउन राष्ट्रिय क्रान्तिगर्नु र सामन्ती तथा जमिन्दार वर्गको उत्पीडनको तख्ता पल्टाउन जनवादी क्रान्तिगर्नु क्रान्तिका मुख्य अभिभारा हुन्भन्ने मान्यतालाई पनि स्थापित गराउनु भएको थियो ।
माओले त्यसैलाई नयाँ जनवादी क्रान्तिको नाम दिनुभएको पाइन्छ । द्वन्दात्मक भौतिकवादको ब्यवहारिक प्रयोग गरेर समाजमा बिद्यमान अन्तर्विरोधहरुलाई पक्रिने, पार्टीभित्र देखापर्ने बैचारिक समस्यालाई समाधान गरेर क्रान्ति सम्पन्नगर्ने कलाको पनि विकास गर्नुभएको थियो । उहाँले जहिलेपनि व्यावहारिक अभ्यास बिनाको दर्शनको कुरागर्नु समय बर्बादगर्नु मात्रै होभन्ने कुरामा जोडदिने गर्नुभएको पाइन्छ । माओले क्रान्तिकारी संघर्षमा कार्यनीति र रणनीतिको महत्वलाई गहनरुपले व्याख्या गर्नुभएको पाइन्छ । उहाँले कार्यनीति र रणनीतिबीच उचित सन्तुलन कायम गरेरनै क्रान्तिलाई सफल पार्न सकिने कुरामा जोड दिनुभएको थियो । पछिल्ला दिनमा कार्यनीति र रणनीतिबीच उचित सन्तुलन कायमगर्न नसकेर नेपाललगायत विश्वका कम्युनिष्ट आन्दोलनमा थुप्रै क्षति पुग्नेगरेको देखिएको छ । नेपाललगायत विश्वभरका कम्युनिष्टहरुले माओत्सेतुङलाई संझनु भनेको उहाँका ब्यवहारिक र परिस्कृत बिचारहरुलाई संझनु हो । मुख्यत नेपालको कम्युनिष्ट आन्दोलनमा चरम अवसरवादले प्रबेश गरेको र त्यसको निर्मम ढंगले खण्डनगर्न नसकिएका कारणले आजको अवस्था झेल्नुपरेको हो । जसमा मालेमावादको शिक्षाको कमी देखिएको छ । माक्र्सवादका आधारभूत प्रस्तावनाहरुको सन्तुलिन प्रयोगमा पनि कतिपय त्रुटीहरु रहेका छन् । साँस्कृतिक क्रान्ति, सर्बहारा अधिनायकत्व, अन्तराष्ट्रिय भाइचारा र मालेमावादलाईभन्दा बल प्रयोगलाईमात्र बढी जोडदिँदा दुर्घटना ब्यहोर्नुु परेको उदाहारण पनि रहेको छ । त्यसैले नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुले फेरी एकपटक माओलाई राम्ररी अध्ययन गर्नुपर्ने टड्कारो आबश्यकता देखिएको छ ।