काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले प्रगतिशील विवाह गरेका छन् । पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्ष नेतृत्वहरुलाई साँक्षी राखेर अध्यक्ष राईले कुसुम गुरुङसँग प्रगतिशील विवाह गरेका हुन् ।
पुँजीवादी विवाहमा जस्तो कुनै तडकभडक नगरी सामान्य सयपत्री फूलको माला र अवीर एकअर्कालाई लगाइदिएर मिलन राई र कुसुम गुरुङ वैवाहिक जीवनमा बाँधिए ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको प्रगतिशील विवाह कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा लगायत वैवाहिक कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले बधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष किरण लगायतका नेताहरुले प्रगतिशील तथा जनवादी विवाहको वैचारिक तथा सांस्कृतिक महत्वको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा चर्चित हाँस्य कलाकार सुबोध गौतमले विभिन्न नेताहरुको क्यारिकेचर गर्दै नवविवाहित जोडीलाई बधाई तथा शुभकामना दिएका थिए ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको प्रगतिशील विवाह कार्यक्रममा उल्लेख्य मात्रामा विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।