काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरुसंग विशेष अन्तरक्रिया गरेको छ । निकट क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनको संयुक्त आयोजनामाु सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई पार्टीका वरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल र पार्टीका प्रवत्ता धर्मेन्द्र वास्तोलाले एमसीसी लगायत समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा प्रस्तुत गर्नु भएको थियो ।

पार्टीका वरिष्ठ नेता सिपि गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र यसको कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाउन खोजिएको पाइएकोले त्यसका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संघर्षको कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ एमसीसीका विरुद्ध हामीले सडक संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ । हाम्रो पार्टी लगायत देशभक्त क्रान्तिकारी शक्तिहरुले गरेको संघर्षमाथि दमन गरियो र कथित १२ वुदे व्याख्यात्मक घोषणाको नौटंकी गरेर एमसीसी पास गरियो । अव यहीं भदौ १४ गतेवाट कार्यान्वयन गर्ने समाचारहरु आएका छन् । हामी यो राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौं । एमसीसीका विरोधी शक्तिहरुसंग सहकार्य गरी आन्दोलनको आँधिवेहरी उठाउँछौं ।”

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भन्नुभयो, “अहिलेको संसदिय व्यावस्था अर्थात कथित लोकतान्त्रिक गणतन्त्र पूर्णरुपमा असफल भैसकेको छ । हामीले १० वर्षको जनयुद्ध यो लोकतान्त्रिक गणतन्त्रको लागि होइन, जनगणतन्त्रको लागि थियो । यो लोकतान्त्रिक गणतन्त्र देश र जनताको हितमा छैन भन्दा जनताले पत्याएका थिएनन् तर आज आएर यो कुरा सानदार रुपमा यसरी पुष्टि हुनुमा मिडियाको पनि विशेष भूमिका रहेको भएको छ ।”
अनामनगरस्थित संवाद डवलीमा भएको कार्यक्रममा उहाँले व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने कुरा भ्रमपूर्ण रहेको भन्दै उहाँले जनताले चाहे अनुसार व्यवस्था नै नबदलिएको र व्यवस्था नबदलेसम्म जनताको अवस्था पनि नबदलिने स्पष्ट पार्नुभयो ।
त्यसैगरी पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गर्न नदिने चेतावनी दिनुभयो । उहाँले पार्टी एकता प्रारम्भिक कमिटिसम्म नै सम्पन्न गरिसकेकोले अब सिंगो पार्टीलाई एमसीसीका विरुद्ध परिचालन गर्ने तयारी गरिएको पनि जानकारी दिनुभयो । उहाँले एमसीसी सम्झौंता अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अभिन्न अंग रहेको यो सम्झौताको कार्यान्वयन भयो भने देशको स्वाधीनतामा गम्भिर संकट उत्पन्न हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकाले एमसीसीको कार्यान्वयनमार्फत् नेपालमा सैन्य क्याम्प खडा गर्ने, नेपालका कच्चा पदार्थमा एकाधिकार कायम गर्ने, चीनलाई अवरोध गर्ने र भारतलाई नियन्त्रण गर्ने उद्देश्य राखेको छ । नेपाली भूमि हाम्रा छिमेकी मुलुकका विरुद्ध प्रयोग भयो भने नेपालको स्वाधीनतामाथि पनि गम्भिर संकट पैदा हुन सक्छ । तसर्थ, कुनै पनि हालतमा एमसीसीको कार्यान्वयन रोक्नु पर्दछ । यसलाई पूर्ण रुपले खारेज गरिनु पर्दछ ।”

उहाँले अमेरिकाले नेपालमा अहिलेसम्म आफ्नो राजनीतिक रणनीतिक अभिष्ट पूरा गर्न लगानी गर्ने गरेको चर्चा गर्दै चीनको बिआरआई विशुद्ध आर्थिक विकास परियोजना रहेकोले त्यसको विरोध गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले आन्दोलनबिना कुनै पनि परिवर्तन सम्भव नरहेको भन्दै वर्तमान संसदीय व्यवस्था नबलेसम्म जतिसुकै भ्रष्टाचारीहरुलाई कारबाही गरे पनि नयाँ नयाँ भ्रष्टाचारका काण्ड र प्रकरणहरु घटित भइरहने बताउनु भयो । उहाँले भन्नुभयो, “यहाँ व्यक्तिको प्रश्न होइन व्यवस्थाको प्रश्न हो । व्यवस्था नबदेसम्म यही व्यवस्थामा जुनसुकै व्यक्ति फेरिए पनि संसदीय व्यवस्थाका व्यथिति र विकृतिमा कुनै सुधार आउँदैन । त्यसैले व्यवस्था बदल्नु पर्दछ । अब व्यवस्था बदल्न सबै क्रान्तिकारी माओवादी र सबै कम्युनिस्ट क्रान्तिकारीहरु एक ठाउँमा उभिनु पर्दछ । आन्दोलन वा संघर्षको परिस्थिति विकसित हुँदै जाँदा सबै माओवादी तथा कम्युनिस्टहरु एकै ठाउँमा हुने स्थिति आउन सक्छ । हामी त्यही परिस्थिति विकास गर्नेमा प्रयत्नशील छौं ।”

मूलधारका छापा, अनलाइन तथा इलेक्ट्रोनिक मिडियाका राजनीतिक बिट हेर्ने पत्रकारहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष कमल बुढाले गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा उपस्थित पत्रकारहरुलाई धन्यवाद ज्ञापन क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले गर्नुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजनामा भोलि दिउँसो १२ बजे एमसीसीका विरुद्ध रत्नपार्क शान्तिबाटिकामा विरोध जुलुससहितको विरोध प्रदर्शनको आयोजना गरिएको जानकारी पनि गराइएको थियो ।






























