काठमाडौं । एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्णरुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै संसदबाट पास गर्न प्रमुख भुमिका खेल्ने माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले बाँकेको कोहलपुर चौराहामा कालोझण्डा देखाएर विरोध प्रदर्शन गरे ।

शान्तिपुर्ण रुपमा गरिएको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी पार्टीका केस दिलबहादुर कठायत, पार्टी बाँके जिल्ला कार्यलय सदस्यहरु प्रेम थापा, तिलक गिरि, अखिल क्रन्तिकारिका केस तथा बाँके जिल्ला सह–संयोजक तपेन्द्र न्यौपनेलाई गिरफ्तार गरेको छ । गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बाँके जिल्लाका इन्चार्ज दिपक शाही र संयोजक विशालले जोडदार माग गर्नुभएको छ ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले पनि एक विज्ञप्ति जारी गरी शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनको कडा विरोध गर्नुभएको छ र गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

एमसीसीका विरुद्ध आक्रामक बन्दै गएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज पत्रकारहरुसँग संवाद डवलीमा १२ बजे पत्रकारहरुसँग विशेष अन्तरक्रियाको कार्यक्रम राखेको छ । पार्टीका शीर्ष नेतृत्वहरु सिपी गजुरेल र धर्मेन्द्र बास्तोलाले पत्रकारहरुसँग विशेष अन्तक्र्रियाका गर्दै हुनुहुन्छ ।
यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टीले भदौं ६ गते बुधबार काठमाडौंमा विशेष विरोध प्रदर्शनको पनि तयारी गरेको छ । र, एमसीसी परियोजना कार्यान्वयन गरिने जिल्लाहरुमा पनि प्रदर्शनको तयारी गरिरहेको छ ।
































