उदयपुर । जनपक्षीय पत्रकार, कवि तथा साहित्यकार कृष्णसेन इच्छुककाे २२ आै स्मृति दिवसकाे सन्दर्भ पारेर आयाेजित तीन दिवसीय आधारभुत तालिमकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै बरिष्ठ पत्रकार तथा तालिमका मुख्य प्रशिक्षक इन्द्र राउतले महान सहिद कृष्णसेन इच्छुकलाई आम जनपक्षीय पत्रकारिताकाे मार्गदर्शक भएकाे बताउनु भयाे । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेकाे आजकाे स्थितिमा कृष्णसेन इच्छुकले जनपक्षीय पत्रकारिताकाे क्षेत्रमा निर्वाह गर्नुभएकाे ऐतिहासिक भुमिका र देखाउनु भएकाे बाटाेलाई जनपक्षीय पत्रकारहरुले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जाेड दिदै कृष्णसेन इच्छुक जनपक्षीय पत्रकारहरुकाे मार्गदर्शक भएकाे बताउनु भयाे ।
वर्गदृष्टि साप्ताहिकका हाँले भन्नुभयाे, “शब्द र कर्मकाे तादाम्यता, उच्च आदर्शयुक्त जनपक्षीय मूल्यबाेध र सर्वहारा श्रमजीवी वर्गकाे मुक्तिकाे पक्षधरता, आस्था र निष्ठाप्रति समर्पित जीवन मुल्यबाेध इच्छुकबाट जनपक्षीय पत्रकारहरुले सिक्नुपर्ने विषयवस्तु हुन् ।”
कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापाले कृष्णसेन इच्छुकले देश र जनताकाे पक्षमा कमल चलाउँदा जीन्दगीभर दुःखकष्ट सहनु परेकाे, जेल नेल र हत्कडी हुँदै अन्ततः अमुल्य जीवन नै बलिदान गर्नु परेकाे भन्दै उहाँकाे जीवन र कर्मबाट नवाेदित पत्रकारहरुले धेरै कुरा सिक्नु पर्ने कुरा बताउनु भयाे ।
उहाँले इच्छुककाे २२ आै स्मृति दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे पत्रकारिता तालिमका सहभागीहरुले इच्छुककाे शब्द र कर्मकाे इतिहासकाे अध्ययन गर्न पनि अनुराेध गर्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, फाेनिजका उदयपुर अध्यक्ष ईश्वर मगरले पनि इच्छुकले नेपाली जनपक्षीय पत्रकारिताकाे आन्दाेलनमा गरेकाे याेगदानकाे चर्चा गर्नुभएकाे थियाे ।
घरेलु तथा साना उद्योग, उदयपुरकाे आयाेजना र घरेलु तथा साना उद्योग महासंघकाे समन्वयमा आयाेजित पत्रकारिता तालिमकाे अध्यक्षता नरेन्द्र पराजुली र सञ्चालन कृष्ण घिमिरेले गर्नुभएकाे थियाे ।






























