काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको साविक गाविस अनैकोट (हाल पाँचखाल नगरपालिका)मा जनयुद्धरत तत्कालीनन नेकपा (माओवादी)का सात जना कलाकारहरुको क्रूरतापूर्वक निशंस हत्या गरिएको थियो । २०५५ साल चैत्र ५ गते स्थानीयको एक घरमा बसिरहेको अवस्थामा तात्कालिन शाही सेनाले घर घेरा हाली घरमा आगो लगाएर सातजना जनवादी कलाकारहरु(साँस्कृतिककर्मीहरु)को विभत्स हत्या गरेको थियो। उक्त हत्या अनेकोट हत्याकाण्डको रुपमा चिर्चित छ । त्यस हत्याकाण्डमा सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठले उच्च सहादत प्राप्त गर्नुभएको थियो ।

हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका जल्लादहरुले कलाकार बसेको घरमा आगो लगाए । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । शाही जल्लादहरुले कलाकारहरूलाई आत्मसमर्पण गर्न उर्दी जारी गरिरहे । कलाकारहरूले मानेनन्, प्रतिरोध गरिरहे । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका भाडाका सिपाहीहरुले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि कलाकारहरूले आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धकै समयदेखि यस हत्याकाण्डलाई प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको थियो । अहिले विभिन्न धारामा विभाजित माओवादी घटकहरुमध्ये क्रान्तिकारी माओवादीहरुले हरेक वर्षको चैत्र ५ गते उक्त हत्याकाण्डको सम्झना र सहिदहरुको उच्च सम्मान र क्रान्तिप्रतिको प्रतिबद्धताका लागि साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आइरहेका छन् ।


यसवर्ष २५ औं साँस्कृतिक प्रतिरोध दिवसको दिन नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले इच्छुक साँस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतमा जनवादी गीत संगीतको विशेष प्रस्तुतीसहितका कार्यक्रमहरु तय गरिएको महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर