फाल्गुन १०, २०७९
पाल्पा — १६ स्वर्णसहित ४५ पदक जितेर १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि तानसेनले जितेको छ । तानसेनले १६ स्वर्णसहित १७ कांस्य र १२ रजत पदक जितेको हो ।
जिल्लाका १० पालिकाबीच ४४ स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा भएको खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले बताए ।
६ स्वर्ण र ६ कांस्य, १० रजत पदक जितेसँगै रामपुर नगरपालिका जिल्लास्तरीय प्रतियोगितामा दोस्रो हुन सफल भएको छ । तिनाउ गाउँपालिका ५ स्वर्ण, ७ कांस्य र ४ रजत गरी १६ पदकसहित तेस्रो भयो । माथागढी गाउँपालिकाले ५ स्वर्ण, तीन कांस्य र ७ रजत गरी कूल १५ पदक जितेर सान्त्वना भएको छ ।
रम्भा गाउँपालिकाले ४ स्वर्ण, ३ कांस्य र ४ रजत गरी १० पदक हात पारेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । पूर्वखोला गाउँपालिकाले ३ स्वर्ण, ४ कांस्य र ५ रजत पदक गरी १२ पदक जितेको छ । रैनादेवी छहरा गाउँले दुई स्वर्ण, दुई कांस्य र तीन रजत गरी सात पदक जितेको हो ।
बगनासकाली गाउँपालिकाले एक स्वर्ण, दुई कांस्य र सात रजत पदक जितेको छ । रिब्दीकोट गाउँपालिकाले एक स्वर्ण, एक कांस्य, दुई रजत जितेको छ । निस्दी गाउँपालिकाले एक स्वर्ण र ५ रजत पदक जितेको छ । खेलकुदका क्षेत्रमा निस्दी गाउँपालिकाका विद्यार्थी सबैभन्दा कमजोर देखिए भने तानसेन नगरपालिका अब्बल ठहरियो ।
छात्र र छात्रा भलिबलमा रम्भाले स्वर्ण जित्यो । कबड्डी छात्रतर्फ माथागढीले स्वर्ण जितेको छ । यस्तै छात्रातर्फ कबड्डीमा रम्भाले जितेको छ । प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दोलगायत खेलमा प्रतिस्पर्धा गराइएको थियो । जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी खेलकुद विकास समितिका कार्यालय प्रमुख राजु बयम्बुले जानकारी दिए । विजयी खेलाडी तथा समूहलाई प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, प्रदेशसभा सदस्य खेमबहादुर सारु, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष घिमिरेलगायत वडाध्यक्षहरूले पुरस्कार, सिल्ड, मेडल प्रदान गरे ।
प्रतिनिधिसभा सदस्य आचार्यले यस्ता प्रतियोगिताले खेलाडीलाई हौसला मिल्ने बताए । प्रदेशसभा सदस्य सारुले माडी क्षेत्रको कसेनी सराईमा खेलकुदको हब बनाउन सकिने बताए । लुम्बिनी पदेश खेलकुद परिषद्का सदस्य सचिव भट्टराईले खेल शिक्षक र प्रशिक्षण विद्यालयसम्म पुग्नेगरी कार्यक्रम बनाइने बताए । माथागढी गाउँपालिका अध्यक्ष चिदीले सदरमुकाम बाहिर पनि जिल्लास्तरीय प्रतियोगिता गर्नका लागि कसेनी सराईका बासिन्दाको सहयोगमा सफल भएको बताए ।