२ फागुन सप्तरी ।
सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनैपिच्छे तनाव दिएका कारण मृत्यु रोजेकी स्थानीय बताउँछन् । भुजेल परिवारको सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएका थिए ।
घटनास्थलबाट फर्किएकी कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले ऋणकै कारण तनावमा आएर शान्ताले आत्महत्या गरेको स्थानीयले बताएको जानकारी दिइन् ।
केही दिन अगाडि उनका श्रीमान् भीमबहादुर उपप्रमुख पोखरेलकै घरमा एक रात बास बसेका थिए । भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको कुरा सुनाएको उपप्रमुख पोखरेलले बताइन् ।
दुई वर्ष अगाडिसम्म भुजेल परिवार उपप्रमुख पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । भीमबहादुरलाई १ कठ्ठा जग्गा उपप्रमुखले भुजेलकै परिवारले दिएर घर बनाइदिएको थियो। भीमबहादुरका दुई दाजु–भाइ छन्। छुट्टिएपछि एक कठ्ठा जमिन दुई भाग पारेर १०–१० धुर लिए ।
उपप्रमुख पोखरेलका अनुसार शान्ताको २५ लाख जति ऋण छ । स्थानीका अनुसार इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको महुली शाखा, स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखामा लामो समयदेखि शान्ता आवद्ध थिइन् ।
गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरमै पुगेर सबै सामान लगेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन् ।

शान्ताका तीन छोरा छोरी छन् । दुई छोरीको बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।
गत पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले पनि ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर