
काठमाडौं । स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्छ भन्दै १० वर्ष जनयुद्धमा होमिएका तातोपानी गाउँपालिका– ३ लिताकोटका ४० वर्षीय तिलकबहादुर कार्की ०७८ पुस २८ गते रोजगारका लागि साउदी पुगेका थिए । वर्ष दिनको अन्तराल ०७९ पुस २८ गते सुतेकै अवस्थामा मृत भेटिए। उनी साउदीमा फलाम कारखानामा काम गर्दै आइरहेका थिए। मृत्यु भएको १५ दिनपछि उनको शव बिहीबार बिहान घर पुर्याइएको थियो। बुबा कल्चु कार्कीले मृत छोराको शव राखिएको बाकसको ताला खोल्दा परिवारमा रुवाबासी चल्यो। तिलकको बिहीबार नै दाहसंस्कार गरिएको छ।
धन कमाउने लक्ष्य बोकेर विदेश गएको छोरा बाकसमा फर्किएपछि जुम्ला तातोपानी– ३ लिताकोटकी एकुमाया कार्की भावविह्वल भइन्। पैसा कमाउन विदेश गएका छोरा बाकसमा फर्किएपछि उनी बेहोस नै भइन्।
तिलककी श्रीमती लक्ष्मी श्रीमानको शव लिन काठमाडौं पुगिन्। भावविह्वल अवस्थामै उनी काठमाडौं पुगेर फर्किइन्। तिलकले पुस २६ गते बेलुकीपख फोन गरेर आफू बिरामी भएर निको भइसकेको बताएका थिए। त्यो दिन उनले परिवारका सबै सदस्यसँग कुरा गरेका थिए।
तिलकका आमाबुबा, श्रीमती, दुई छोरा र एक छोरी छन्। तिलकसँगै उनका जेठा बुबाको छोरा बखतबहादुर पनि सँगै साउदी गएका थिए। तिलकको मृत्यु भएपछि उनले नै घरमा जानकारी दिएका थिए। तिलक तत्कालीन नेकपा माओवादीको सेक्सन कमान्डरसमेत थिए।
०६१ मा भूमिगत भएका उनको घरनजिकै ०६२ सालमा नेपाली सेनासँगको भिडन्तमा शरीरमा छर्रा लाग्यो। तीनवटा छर्रा शरीरमै हुँदा पीडा खेपिरहेका उनी उपचारमा राहत मिल्ला भनेर बिदेसिएका थिए।
‘शरीरको छर्रा निकालौँला। छोराछोरीलाई लेखपढ गराउँला भनेर साउदी पुगेका थिए,’ आफन्त भक्तबहादुर रावल भन्छन्, ‘न परिवारमा खुसी मिल्यो न त शरीरको छर्रा नै निकाल्न पाए। झनै परिवार बिचल्लीमा छोडेर गए।’
तिलकले पटक–पटक शरीरको छर्रा निकाल्ने प्रयास गरे। तर, आर्थिक अभावका कारण सफल भएन। पटक–पटक उनी संलग्न माओवादी सरकारमा पुग्यो। तर, उनको समस्या सम्बोधन हुन सकेन। पटक–पटक पार्टी सरकारमा गयो पनि र ‘जनमुक्ति सेना’कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन। परिवारको आर्थिक अवस्था सुधार्न साउदी गएका उनी भने बाकसमा आए।
तिलकले महिनामा ३४ हजार नेपाली रुपैयाँ कमाउँथे। उनले मंसिरसम्मको तलब घर पठाए। लिताकोटका कार्कीटोलमा करिब ६० घर छन्। कार्कीटोलबाट करिब ६० कै हाराहारीमा खाडी पुगेका छन्। तिलकको मृत्युले जुम्लाको शान्त तिलाकोट गाउँ शोकमा डुबेको छ।