नेकपा(क्रान्तिकारी माओवादी)को प्रदेश भेला सुरु

नेकपा(क्रान्तिकारी माओवादी)को प्रदेश भेला सुरु

३ माघ विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ को प्रथम भेला सुरु भएको छ । मंगलबार मोरङको विराटनगरमा भेला सुरु गरिएको हो ।


भेलालाई नेकपा(क्रान्तिकारी माओवादी) का स्थायीकमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रतिकले सम्बोधन गर्दै सचेत पहलकदमी अगाडि बढाएर देशको आमुल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नामधारी कम्युनिस्टहरुले जनतालाई भ्रम छरेको बताउदै निहित स्वार्थमा लागेका नामधारी कम्युनिस्टहरुलाई नङ्घयाउने काम सच्चा क्रान्तिकारीहरुको भएको बताउनु भयो । दलाल पुँजीपति तथा सामान्तहरुको संयुक्त सरकार बनेको बताउदै भारत,अमेरीका र चीन कसको बढी दलाली गर्ने भनेर प्रतिस्पर्धा भैरहेको भनाई राख्नु भयो ।


विदेशी शक्ति केन्द्र साम्राज्यवाद तथा विस्तारवादले नयाँ दलालहरु खडा गरेको स्पष्ट पार्दै संघीयता र गणतन्त्र विरोधीहरु सत्तामा गएको बताउनु भयो । उहाँले संसदीय व्यवस्था भित्रको राजनीति मान्यताहिन अवस्थामा पुगेको भन्दै संसदीय व्यवस्था भित्र हुने बुजुवाहरुको मान्यता समेत सकिदै गएको बताउदै उनीहरुले बनाएको संविधान उनीहरुले नै कुल्चेको भनाई राख्नु भयो । हालको सरकार दलालहरुको भएको र दलालकै घेरामा भएकाले जनताका पक्षमा सामान्य सुधारको काम समेत गर्न नसक्ने ठोकुवा गर्नु भयो । आमुल परिवर्तन पक्षधरहरुले राजनीतिक क्रान्ति सम्पन गर्न बाँकी नै रहेको र त्यो कम्युनिष्ट क्रान्त्किारीहरुले एक भएर पुरा गर्नु पर्ने धारणा राख्नु भयो । भेलाको प्रमुख अतिथी समेत रहनु भएका प्रवक्ता प्रतिकले भेलालाई सफलताको शुभकामना दिनु भयो ।


सोहि भेलालाई शुभकामना दिदै पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्माले क्रान्तिकारीहरु माथी उठेर आफु भित्रका फोहोरमैला अन्त्य गर्न सकेमात्र क्रान्ति पुरा गर्न सकिने बताउनु भयो । उहाँले गलत गर्दा नेतृत्वको खुलेर आलोचना गर्न सक्ने व्यक्तिहरुले क्रान्ति गर्ने भन्दै रचनात्मक आलोचनाले क्रान्तिलाई अगाडि बढाउने भनाई राख्नु भयो । उहाँले सच्चा कम्युनिस्टहरुले क्रान्तिको विकल्प दिन नसकेका कारण साम्राज्यवादका दलालहरु भित्रिएको बताउनु भयो । शर्माले पार्टीले उठाएका कार्यदिशा पुरा गर्न गम्भिर भएर लाग्नुपर्ने भन्दै विचार मिल्नेहरुसँग एकताको निमित्त सबैतिरबाट बहस छेड्न आवश्यक रहेको धारणा राख्नु भयो ।


उक्त भेलाको अध्यक्षता प्रदेश सेक्रेटरी सरलले गर्नु भएको थियो भने पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुङ्गा सेक्रेटरी आदर्शले कार्यक्रमको संचालन गर्नु भएको थियो ।


भेलालाई स्वागत मन्तव्य पार्टीका केन्द्रिय सदस्य तथा मोरङ्ग इन्चार्ज विमल निरौलाले गर्नु भएको थियो । प्रदेश नम्बर १ मा रहनु भएका पार्टीका केन्द्रिय सदस्यहरु भेलामा अतिथी रहनु भएको थियो ।