दुई दिवशीय कथा सङ्गोष्ठी सम्पन्न

दुई दिवशीय कथा सङ्गोष्ठी सम्पन्न


गोरखा, ३ बैसाख २०७९/माक्र्सवादी धाराका कथाकारहरूले आफ्ना कथाहरूको गम्भीरतम् चिरफार गरेका छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गोरखा बजारको हरमटारीमा ‘कथा समीक्षा तथा प्रशिक्षण कार्यक्रम’ मार्फत् उनीहरूले आफ्ना रचनाहरूमाथि समीक्षा गरेका हुन् ।

यही बैसाख २ र ३ गते दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा पहिलो दिन पन्ध्र वटा कथाहरूमाथि स्वयम् लेखकहरू र समालोचकहरूबाट कथाका सवल दूर्वल पक्षहरूमाथि विहङ्गम रूपमा समीक्षा गरिएको थियो । दोस्रो दिन समाजवादी यथार्थवादी धारामा कथा कसरी लेख्ने, कला र विचारको सन्तुलित समायोजन कसरी मिलाउने, माक्र्सवादी धाराका आख्यानकारहरूलाई मानक आख्यानकारका रूपमा कसरी उठाउने भन्ने विषयमा प्रशिक्षण दिइएको कुरा प्रतिष्ठानका सदस्य सचिव मित्रलाल पंज्ञानीले बताए ।

उक्त कथा लेखन र समीक्षा सम्बन्धी दुई दिवशीय सङ्गोष्ठीमा पहिलो दिन पन्ध्र जना कथाकारहरूका कथामाथि चिरफार गरिएको थियो । सबै कथाकारहरूले सबैका कथामाथि पाठकीय तथा स्वयम् समीक्षक भएर आआफ्ना धारणा राखेका थिए भने समालोचक द्वय प्रा.डा.जगदीशचन्द्र भण्डारी र प्रा.डा.ताराकान्त पाण्ड्ेय तथा आख्यानकारहरू इस्माली र रोशन जनकपुरीले कथाहरूमा प्रयुक्त विचार र कलाको सुक्ष्मतम् ढङ्गबाट समीक्षा गरेका थिए । दोस्रो दिन जगदीशचन्द्र भण्डारी, तारकान्त पाण्डे्य, इस्माली र रोशन जनकपुरीले कथा लेखन सम्बन्धी प्रशिक्षण दिएपछि प्रतिष्ठानका अध्यक्ष हिरामणि दु:खीले कार्यक्रमको आवश्यकता र दुइदिने कार्यक्रमको सङ्क्षिप्त समीक्षा गरी कार्यक्रमको समापन गरेका थिए । यो कार्यक्रम आफैमाथिको चिरफर रहेको आयोजक संस्था इच्छुक सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । दुई दिने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हिरामणि दु:खीले गरेका थिए भने सदस्यसचिव मित्रलाल पंज्ञानीले कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै, सहभागी सबैलाई स्वागत गरेर कार्यक्रम सञ्चालन गरेका थिए ।

सङ्गोष्ठीमा सहभागी कथाकारहरू र उनीहरूका कथा शीर्षक यहाँ प्रस्तुत गरिएको छ– अनिल श्रेष्ठ (बन्दी बुबालाई पत्र), खगेश्वर सापकोटा (दिल बहादुरको राजनीतिक यात्रा), खगेश्वर भण्डारी (प्रताप सर), गौरी देवकोटा (आमालाई चिठी), मोदनाथ मरहट्टा (नारी दिवस), शिला योगी (पलक), परशुराम कोइराला (नयाँ युग), नारायण मरासिनी (बिहेको निम्तो), पूर्णबहादुर अधिकारी (श्यामदाइ सभास्थलबाट हिंडे), हिरामणि दु:खी (सपनाको हत्यापछि), क्षितिज मगर (बहिर्गमन), कृष्णराज अधिकारी (पीडाको पहिरो), विजयराज आचार्य (सारस र मानिस), छायादत्त न्यौपाने (बिरामी विवेक) र मित्रलाल पंज्ञानी (डरलाग्दो परिवर्तन) । कथाकार समालोचक सहित कार्यक्रममा अन्य दश जना लेखक साहित्यकारहरूको पनि उपस्थिति रहेको थियो ।

फोटो फिचर