काठमाडौं । बीचमा प्रधानमन्त्री शेरबहादुर देउवा । दुवैतिर अमेरिकी अधिकारीहरु अर्थात् ड्रेसअप हेर्दा आइपिएसका सैन्य अधिकारीजस्ता । यो वास्तविक फोटो हो वा फेक हो ? यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नेपालमा अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित रहेको अर्थात् हिन्द प्रशान्त सैन्य रणनीतिको अभिन्न अंग मानिएको एमसीसी सम्झौता सदनबाट पास गर्न रस्साकस्सी चलिरहेको बेला र सडकमा राष्ट्रघाती एमसीसी चाहिदैन, देश बेच्न पाइँदैन भन्दै एमसीसी सम्झौता खारेजीका लागि देशैभर संघर्ष चलिरहेको बेला बाहिरिएको अमेरिकी सैन्य अधिकारीहरुको बीचमा उभिएर खिचिएको प्रधानमन्त्री देउवाको यो फोटोको वास्तविका के हो ? नेपालमा के हुँदैछ ? फोटो वास्तविक हो कि फेक हो ? भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
एमसीसी सम्झौता पास भयो भने नेपाल अमेरिका र चीनको युद्धको मारमा पर्ने, चीनलाई घेर्ने मिसनसहित अमेरिकाले निर्माण गरेको हिन्द प्रशान्त सैन्य रणनीतिको अभिन्न अंगको रुपमा रहेको एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि पार्न खोजिएको, नेपाललाई अमेरिकाको सुरक्षा छाताभित्र पारेर नेपाललाई उपनिवेश बनाउन खोजेको, नेपालको स्वाधीनता र सार्वभौमिकता सिध्याउन खोजेको, नेपालको प्राकृतिक सम्पदा र मानवीय सम्पदामाथि अमेरिकी प्रभुत्व लाद्न खोजेको भन्दै देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि सडक संघर्षमा बलिदानीपूर्ण रुपमा उत्रिएका देशभक्त नेपालीहरुमा यो फोटोले एउटा आतंक सिर्जना गरेको छ ।
अमेरिका र रुसको लडाइँको मारमा युक्रेन परेजस्तै नेपाल पनि अमेरिका र चीनबीचको लडाइँको मारमा पर्ने त होइन भन्ने सन्त्रास बढिरहेको बेला बाहिरिएको यो फोटोले नेपाली जनजीवनलाई थप आतंकित पारेको छ । यसबारे प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालयले सत्यतथ्य तत्काल सार्वजनिक गर्न जरुरी छ ।
एमसीसी सम्झौता राष्ट्रघाती छ भनेर आम जनता सडकमा उत्रिएर राज्यको दमनका विरुद्ध प्रतिरोध संघर्ष चर्काइरहेको बेला अमेरिकी अधिकारीहरु, राजदूतसँग बाक्लो भेटघाट गर्दै एमसीसी सम्झौता पास गराइछाड्न मरिहत्ते गरेर लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भित्रभित्रै आइपिएसका सैन्य अधिकारीहरुसँग भेट भएकै होइन वा छैन भने भन्न नसकिने अवस्था छ ।
छिमेकी मुलुकले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुने हो कि भनेर चिन्ता जाहेर गरिरहेको र एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न पटक पटक दबाब दिंदै अल्टिमेटमसहित डर धम्की समेत दिइरहेको अमेरिकाको प्रतिवाद गर्ने र सहयोग (उपहार)मा पनि अल्टिमेटम दिइन्छ ? भन्दै चीनले नेपालमा बढ्दो हस्तक्षेप र चलखेलको कडा विरोध जनाइरहेको छ ।
यस्तो पृष्ठभूमिमा बाहिरिएको यो फोटोले नेपाली जनजीवनलाई थप झस्काएको छ । र, नेपाल कतातिर जाँदैछ भन्ने गम्भिर सवालहरु एकसाथ खडा गरिदिएको छ ।