काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी र कमरेड सुनिता बुढाथोकी लगायत अन्य विभिन्न पार्टीका दर्जनौं कार्यकर्तालाई लगाइएको कथित अभद्र व्यवहारको झुट्टा मुद्दा खारेज गरी निशर्त अविलम्ब रिहाइका लागि जोडदा माग गर्नुभएको छ । आज एक वक्तव्य जारी गरी यस्तो माग गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “अमेरिकी हिन्द–प्रशान्त रणनीतिको अभिन्न अंग रहेको राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै हाम्रो पार्टी लगायत ६ ओटा कम्युनिस्ट पार्टी र २ ओटा मोर्चाको संयुक्त आह्वानमा गत फागुन ८ गने आयोजना गरिएको शान्तिपूर्ण नेपाल बन्द कार्यक्रमको सन्दर्भमा गिरफ्तार गरिनुभएका हाम्रो पार्टीका के.स.स. कमरेड बसन्त बोगटी र क. सुनिता बुढाथोकी लगायत अन्य विभिन्न पार्टीसँग आवद्ध दर्जनौं कार्यकर्ताहरुलाई कथित अभद्र व्यवहारको झुट्टा मुद्दा लगाई देउवा नेतृत्वको गठबन्धन सरकारले जेल चलान गर्ने कुचेष्टा गरेको छ । अमेरिकी साम्राज्यवादलाई खुसी पार्न गरिएको यस प्रकारको अनैतिक र पूर्वाग्रही कामको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ र उहाँहरुमाथि लगाइएका झुट्टा मुद्दाको खारेजी गरी उहाँहरुको अविलम्ब एवम् निशर्त रिहाइका लागि जोडदार माग गर्दछ ।”