काठमाडौं । देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी)ले विरोध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । क्रान्तिकारी माओवादीको हालै सम्पन्न स्थायी समितिको बैठकले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

१५ माघ २०७८ मा सम्पन्न पार्टीको स्थायी समितिको बैठकका निर्णय वक्तव्य मार्फत् सार्वजनिक गर्दै पार्टी महासचिव मोहन वैद्य किरणले राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई गंभीरतापूर्वक आत्मसात गरी यही माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गरेको जनाउनु भएको छ ।

वक्तव्यमार्फत् महासचिव किरणले सो विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गर्नु भएको छ ।

वक्तव्यमा देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको प्रश्न गम्भिर बन्दै गएको विषयलाई उल्लेख गर्दै भनिएको छ, “ देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गंभीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गंभीर चिन्ताको विषय हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर